गजल-२६९
टेक भण्डारी
एड्लेड, अष्ट्रेलिया
छाती चिरेर पोल्ने पीडाहरु सहेर रोएँ
आँसुका फूल तरेलीमा धेरै खसेर रोएँ।
आगोले पोल्दैन मलाई जति पीडाले पोल्छ
कागजको पानासरी रापमा जलेर रोएँ।
बिरानो यो कोठाभित्र बियोगका गीत लेख्दै
पुरानो गाउँधर सम्झी आँसु भरेर रोएँ।
झर्ना त्यो के झर्छ र जति मेरा आँसु झर्छन्
आँसुकै सागर भित्र सलल बगेर रोएँ ।
खुसीका पलहरू इतिहास भएर रहे
अनौठो सहर भित्र गजल रचेर रोएँ।