द्विविधामा राष्ट्रियता

लेखक
लेखक

भक्त घिमिरे
ओहायो, अमेरिका

“मान्छेको रहन-सहन, पहिरन, लवज, मौलिक भाषा-संस्कृति र क्षेत्रीयताको आंशिक आधारले राष्ट्रियता निर्धारण गर्दछ । राष्ट्रियता देश- देशका भौगोलिक सिमानाभित्र कैद भएर बस्तैन ।” राष्ट्रियताको यो परिभाषालाई मैले बुझ्दै नबुझेको पनि होइन । अरू क-कसले कसरी बुझेका छन् मलाई थाहा पनि छैन । तर, यो प्रसङ्गलाई चर्चामा ल्याउन जरुरी ठानेँ ।

आजभन्दा २२/२३ वर्ष पहिलेको कुरा हो । नेपालको झापा जिल्लामा रामप्रसाद खतिवडा जिल्ला अधिकारी थिए । प्रशासनिक कामको सिलसिलामा उनलाई भेट्न गएको थिएँ । उनको निवासमै पुगियो । सुरुमा उनले शिष्टाचार प्रस्तुत गर्दै झापामा रहेका भूटानीहरु “अनेपाली” भएर पनि नेपाली भाषा-संस्कृतिप्रति लगाव राखेकामा म सामु प्रशंसा गरे । कुरैकुरामा नेपाल बाहिर रहेका अन्य “नेपाली” हरुबारे चर्चा चले । हुँदा हुँदै सिक्किमका मुख्यमन्त्री पवन कुमार चाम्लिङका बारेमा खतिवडा साहेबले कुरा उक्काए । उनले भने,“चैने मैले मानेँ, मानेँ मैले चैने चाम्लिङलाई । चैने काँकरभिट्टाको गेटबाट भित्र पसेदेखि चैने उनले नेपालको भूमिलाई ढोग्न थाले, यहाँका हरेक मठ-मन्दिर, यहाँका आस्थाहरू, समाज र संस्कृतिलाई चैने चाम्लिङले यति धेरै आदर गर्दा रान् कि चैने उनीभित्र रहेको नेपाली राष्ट्रियताप्रतिको भावनालाई म हार्दिकतापूर्वक सम्मान गर्दछु । ”

खतिवडा साहेबका कुरा सुनेर म हक्क न बक्क भएँ । भारतको एउटा राज्य सिक्किम । त्यस राज्यका मुख्यमन्त्री पवनकुमार चाम्लिङ । उनीभित्र रहेको राष्ट्रियताको भावना “नेपाली” कि “भारतीय” ? राज्यको मुख्यमन्त्री र सिङ्गो देशको प्रधानमन्त्रीको मर्यादा र गरिमा बराबर हुन्छ । भारतको एउटा संवैधानिक सरकारी प्रमुखले नै यसरी “नेपाली” राष्ट्रियताको भाव बोकेर बाँच्छ भने भारतीय राष्ट्रियताको गरिमा के हुन्छ ? अनि यसरी “नेपाली राष्ट्रियता” बोकेर भारतमा बाँच्नेहरुलाई भारतले इमानदार सम्झिन्छ ? भारतका विभिन्न राज्यहरूबाट नेपालीभाषी भारतीय नागरिकहरूलाई “तिमीहरू विदेशी हो, भारत छोड” भन्दै लखेटिनुमा कतै यस्तै भावनात्मक कारण त छैनन् ? यो जातीय सवाल र सार्वजनिक सरोकारको मुद्दा हो । यो कुरो नेपाली रहन-सहन बोकेर, भाषा बोलेर नेपालभन्दा बाहिर बाँचेका सबैमा लागू हुन्छ ।

खतिवडा साहेबले मुख्यमन्त्री चाम्लिङलाई आफ्ना कुराको माध्यम बनाए पनि मैले ती कुरा आफैँमा तुलना गरेँ । म भूटानमा जन्मिएर हुर्की बढी त्यहीँको नागरिकता प्राप्त गरी सरकारी जागिरसमेत खाएको मान्छे । राजनीतिक परिबन्दले मलाई पनि नेपालमा ल्याइपुऱ्यायो । तर, ममा मेरो मातृभूमि भूटानप्रतिको आस्था कहिल्यै पनि घटेको छैन । घट्ने पनि छैन । म नेपाल पसेर केही दशक बस्तैमा ममा “नेपाली राष्ट्रियता” पल्हाएको छ कि छैन मलाई थाहा छैन तर, म नेपालको भूमि, नेपालका हरेक नागरिक, त्यहाँका निकायहरू सबैप्रति कृतज्ञ छु र सबैलाई उच्च सम्मान गर्दछु । यो अवस्थामा मेरो राष्ट्रियता अलग अलग दुइटा हुने हो कि एउटाले अर्कोलाई निषेध गर्ने हो मैले निर्क्यौल गर्न सकिनँ !

यो मेरोमात्र अथवा म बराबर र मभन्दा अघिको पुस्ताको मात्रै कुरो होइन । मभन्दा पछिका र सन् १९९० पछि शरणार्थी शिविरमा यूएनएचसीआर ट्रेडमार्क बोह्रामा हुर्किएकाहरुसम्म लागू हुने कुरा हो । त्यो देशको कानून र संविधानले मान्यता प्रदान नगरेसम्म कुनै भूगोलमा जन्मिदैमा त्यही देशको राष्ट्रियता र नागरिकता दाबी गर्न सकिँदैन । हामी पूर्णरुपेण भूटानीको पहिचान बोकेर शिविरमा रहेकाले त्यहाँ जन्मिएका हाम्रा सन्तान दरसन्तान पनि भूटानी नै भए । आज अमेरिका, केनाडा, अष्ट्रेलिया जस्ता देशमा पुनर्स्थापित भएपछि यतैको कानूनमा आधारित रहँदै “हामी नेपालमा जन्मिएकाहरू नेपाली हौँ, अथवा हाम्रो राष्ट्रियता नेपाली हो” भन्नेहरूले नेपालको संविधान र कानूनले आफूलाई कसरी परिभाषित गरेको थियो भनेर अध्ययन गर्नुपर्ने हुन्छ ।

यसरी राष्ट्रियताको सवालमा हामीसित दुइध्रूवीय द्विविधा छ । म यहाँनेर साहित्यमा राष्ट्रियताको कुरा गरिरहेको छु । हामी भाषा र संस्कृतिको हिसाबले नेपाली हौँ। त्यसो हुँदा हाम्रो साहित्य नेपाली नै हुने भयो । तर, हाम्रो राष्ट्रियता कहिल्यै पनि नेपाली हुनसकेन । साँच्चै हामी नेपाली हुन सक्थ्यौं भने त्यत्रो २५ वर्षको अवधि सानो होइन, हामीलाई घोषित तौरमा, सरकारी नियमनीति समेत बनाएर नेपालले नेपाली नागरिक बनाउन सक्थ्यो । त्यति नभए पनि कम से कम नेपालको माटोमा जन्मिएका जतिले नेपाली नागरिकता लिनचाहे स्वातः प्राप्त गर्नेछन् भन्नेसम्मको सहुलियतको विधान बनाउन सक्थ्यो !  तर, परी आएको खण्डमा बाबुले छोरो बेच्छ भनेजस्तो गरी भूटान, भारत, नेपाल  (माटो होइन, त्यहाँका नाइकेहरु) सबै मिलेर हामीलाई लिलाम गरेकै हुन् ! समग्र पूर्वीय दर्शनको मर्म “बसुधैव कुटुम्बकम” को नारा त केवल भन्ने नारा साबित भयो । आखिरमा हेपिएका खेदिएकाले बाँच्न पाउने पश्चिमी देशहरुमात्र हुन् भनेर पक्का गरिदिए यिनीहरुले ! त्यसरी करिब कि सिंगो दुइ पुस्ता हुर्किउञ्जेल नेपाली बन्न नसकेका हामी अहिले पुनर्वाशपछि नेपाली कसरी बन्न सकिएला ? आखिर नेपाली हुँ भने पनि भूटानी हुँ भने पनि भावना त दुवै भावना हुन् । अहम् त दुवै अहम् हुन् । यही यथार्थले हामीमा द्विविधा हुर्किएको छ । हामी खास गरी नेपाली साहित्यमा लेखिने वा देखिने राष्ट्रियताबारे कुरा गरिरहेका छौं ।

अब समग्रमा नेपाली साहित्यमा निहित राष्ट्रियताको कुरा गरेपछि नेपाल र नेपाली राष्ट्रियताको प्रसङ्ग उठाउनै पर्ने हुन्छ । नेपाली साहित्यमा राष्ट्रियताको कुरा गर्दा साहित्यको वीरकालीन अंशमा पुग्नुपर्ने हुन्छ । जतिबेला युद्धका गाथा र वीरताको स्तुति गाउनुलाई साहित्यको उद्देश्य मानिथ्यो । त्यसै समयका कवि सुवानन्ददासले पृथ्वीनारायण शाहको स्तुतियुक्त कविता लेखे । त्यसपछि पनि भक्ति थापा, बलभद्र कुँवर, अमरसिंह जस्ता योद्धाहरुको युद्धवीरता गाउँदै गइयो र त्यही गायन र स्तुतिलाई राष्ट्रियता बलियो बनाउने साधन भएको मान्दै लगियो । शासकहरुको जयगान गाउनु नै राष्ट्रियताको परिभाषा भएपछि शासकको वीरुदावली नै साहित्य बन्नपुग्यो ।

ऐतिहासिक पुराना कुरामा मात्र होइन, नेपाली साहित्यमा पृथ्वीनारायण शाहदेखि आजको प्रगतिशील गणतन्त्र नेपालसम्म त्यही स्तुतिगानको राष्ट्रियता समेटिएका साहित्य भेटिन्छन् । तर, हामी हाम्रो परिप्रेक्ष्यमा मेची-महाकाली र कोशी गण्डकीको साहित्य लेख्तैनौं । हामी लेख्छौँ त सुनकोश, मानसकै गाथा लेख्छौँ । हाम्रा लेखनमा जलढका र धनसिरी नै समेटिन्छन् । वास्तवमा मानिसको मस्तिष्कमा सीमाबद्ध, सार्वभौम र आत्मीय समुदायको रूपमा एउटा भावनात्मक आयतन हुन्छ र त्यही शान-मानको भावनालाई राष्ट्रियता भनिन्छ । अङ्ग्रेजी साहित्यका विश्लेषक बेनेडिक एण्डरशन राष्ट्रियताबारे यस्तो सोच राख्नेहरुलाई “काल्पनिक समुदाय” भन्छन् ।

फेरि अहिले विश्व नै एउटा ग्लोबल भिलेजको रूपमा विकसित भइरहेको छ । यसो हुनाले पहिले भएको राष्ट्रियताको परिभाषामा परिमार्जन पनि आवश्यक देखिएको छ । उहिले र अहिलेको राष्ट्रियताको विश्लेषणमा आकाश जमिन फरक परिसकेको छ । संसारभर राष्ट्रियताको परिभाषा फेरिए पनि नेपाली साहित्यकारहरूले यसको पुनर्मूल्याङ्कन गरेजस्तो देखिँदैन । राष्ट्रियता भनेको सामूहिक स्वत्वसँग जोडिएको अहम् हो । नेपालीहरूले महाकाली र मेचीबिचका कयौँ मानिसलाई देखेका हुँदैनन् तर, ‘नेपाली’ भनेर अपनत्व अनुभूति गर्दछन् । नेपालको भूभागलाई आफ्नो भन्दै प्रेमभाव दर्शाउँछन् । नेपालीहरू नेपाल र नेपालीका लागि ज्यान दिन र अरू कसैको ज्यान लिन तयार हुन्छन् भने हामी पनि भूटान र भूटानीका लागि मरिमेट्न सक्छौँ । अन्य राष्ट्रका नागरिकहरू पनि यसै भावनाबाट प्रेरित हुने गर्दछन् । यदि यही हो राष्ट्रियता भने हामी आफ्ना सहोद्दर इष्टमित्र, दाजु-भाइ र बन्धुबान्धव भएकाले नेपाली हुनुमा अलिकति सद्भाव राख्तछौं तर, भूटानी हुनुमा पूर्ण एकात्म बन्छौँ । यहींनेर हामीमा राष्ट्रियताको भावनात्मक द्विविधा छ । भाषा-संस्कृतिको पृष्ठभूमिलाई आधार मानेर कुनै देशको नामबाट राष्ट्रियता किटानी गर्दै हामी अब जबरजस्ती आफ्नो पहिचान नेपाली नै हुनुपर्ने कुरो गर्छौँ भने हाम्रा पुर्खा नेपाली हुनभन्दा पहिले के थिए भन्ने प्रश्न पनि उठ्न सक्छ ।

प्राचीनकालमा कुनैबेला यस्तो थियो, जतिबेला भूगोलमा अहिलेजस्तो राज्यका सीमानाहरु कोरिएका थिएनन् । अपनत्वको अनुभूति र सामूहिक सुरक्षाको माग बढ्दै गयो र पछि राज्यहरूको निर्माण हुन पुग्यो । अर्थात् राष्ट्रिय भावना बढ्दै गएपछि राज्यको उत्पति भयो । राज्यभित्र हुने एकता र आफ्नोपनको भावनालार्ई राष्ट्रिय भावना भन्न थालियो । राष्ट्रियताभित्र आफ्नो एकातिर अनि बाँकी सबै पराईको भावना विद्यमान हुन्छ, जसअन्तर्गत संसारको इतिहासमा ठूला-ठूला युद्ध लडिएका छन् । पहिलो र दोस्रो विश्वयुद्ध पनि राष्ट्रियताकै लागि लडिएका थिए । त्यति बेला अहिले जस्तो राज्यको कुनै निश्चित सिमाना थिएनन् र भए पनि परिवर्तन भइरहन्थे । नेपालकै उदाहरण लिने हो भने पृथ्वीनारायण शाहले एकीकरण गर्नु अगाडि अहिलेको नेपाल नै थिएन । नेपाल नै नभएपछि नेपाली हुने कुरै भएन । र, त्यसपछि बनेको नेपालको सिमाना विभिन्न कालखण्डमा परिवर्तन हुँदै आएका छन् । ब्रिटिस-इन्डियासँगको युद्धपछि नेपालको नक्शा थप परिवर्तित भयो । वर्तमान विश्व सन्दर्भमा हेर्दा सन् १९९० पछि सोभियत रुस र अफ्रिकामा इथोपिया टुक्रिएपछि नयाँ राष्ट्रहरू निर्माण भएका छन् । दोस्रो विश्वयुद्धको समाप्तिपछि संयुक्त राष्ट्रसंघको स्थापना भयो जसले राष्ट्र भन्नाले निश्चित भौगोलिक परिधिभित्रको क्षेत्र भन्ने परिभाषा तय गरिदिएको छ ।

अब हामी विस्तृत छलफल गरौँ आखिर के हो यो राष्ट्रियता ? वर्तमान समाजको राजनीति र साहित्यमा विशेष चर्चा गरिने यो विषयबारे हामीले छलफल गर्नैपर्छ । किन मानिस राष्ट्रियताको सवालमा आफ्नो ज्यान दिन र कसैको ज्यान लिन तयार हुन्छन् ? साहित्य समाजको मार्गदर्शक सिद्धान्त पनि हो । तादात्म्य मिल्यो भने साहित्यले राष्ट्रलाई सही दिशामा डोऱ्याउन सक्छ । त्यसो भए आजको साहित्यमा कसरी लेख्नुपर्छ राष्ट्रियता ? यसबारे छलफलमा हामी जुट्नैपर्छ ! यी प्रश्नको जवाफ नखोजी हामी राष्ट्रियतासम्बन्धी प्रष्ट विचार राख्न सक्दैनौँ । हाम्रो पहिचान पनि निर्धारित गर्न सक्तैनौं !

Leave a Reply

Your email address will not be published. Required fields are marked *