गजल-४५७

धर्मेन्द्र तिम्सिना “क्षितिज”
ओहायो, अमेरिका

कसैलाई चाड  कसैलाई  फसाद हो दसैँ
पीडा अनि खुसी मिश्रित उन्माद हो दसैँ ।

बलियाले निर्बललाई दबाइरहने प्रथाभित्र
मैसासुरहरुको  गुन्जिने  आर्तनाद हो दसैँ ।

घरमा पिठो छैन, ॠणैॠणले थिचेको छ
धनीलाई मोज गरिबलाई बरबाद हो दसैँ ।

बाध्यताले परदेशमा छ, रुनु पर्छ धुरुधुरु
परदेशीको मुटु  जलाउने  याद  हो दसैँ ।

भोलि होस या नहोस् आज मस्ती गर्नु छ
राँगा खसी – खसीनीको  स्वाद  हो दसैँ ।

कसैले आज  कसैले  भोलि  मनाउँदा लाग्छ
जसरी खाए पनि हुने ननभेज सलाद हो दसैँ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *