‘घिउवाला’को बस्तीः केही तथ्य केही किंवदन्ति
भक्त घिमिरे
- रणबहादुर गुरुङ भरियाहरुसहित पुगेपछि पुनाखा दरवारमा उनको भव्य स्वागत गरियो । राजाले उनको अर्जीपत्र सहजै स्वीकारे र नयाँ बस्ती बसाल्न आज्ञापत्र (काशो) दिए । घिउको ढोयो (कोसेली) लिएर दरवार पुगेका रणबहादुर आफ्नो उद्देश्य सफल बनाएर फिर्ता भएपछि उनलाई ‘घिउवाला’ नाम उपहारमा मिल्यो । घिउवाला भनेपछि गाउँ-टोलदेखि राजदरवारसम्म उनलाई नचिन्ने कोही रहेन । तबदेखि उनी घिउवाला मण्डल नामबाटै देशभरि परिचित भए ।
सर्भाङ कमिश्नरले चर्चेको उपल्लो भाग, ग्वाङ खोलाका ‘कारबारी’ रणबहादुर गुरुङले एकरात लामो सपना देखे । सपनामा उनलाई ‘पितृले पूर्वदिशामा गएर ख्याति कमाउने काम गर्न’ उपदेश दिए । सपना देखेकै भोलिपल्ट उनले आफ्नो गाउँ छोडेर पूर्वदिशा बसाइँ जाने निधो गरे । यो समय विक्रम संवतको २०११, असोज अर्थात् सन् १९५४, अक्टोबर महिनाको शुरुवात थियो ।
आफ्नै परिवार, केही नोकर-चाकरका साथमा रैतीहरुसमेत लिई गाउँबाट हिँडेका गुरुङ शेमगाङ (जेम्गाङ) जिल्लाको एउटा आरण्यक पार्वतीय उपत्यकामा पुगेर थान्को लागे । ग्वाङबाट रणबहादुर कारबारीसँगै गएका रैतीहरुमा गङ्गी बाबु, गोरी बाबु, काली बाबु, सार्के बाबु, मधुलाल जैसी, नारद उपाध्याय, मुख्तियार गुरुङ, थेवा जेठो आदि धेरै पछिसम्म जीवित थिए ।
उनीहरु पुगेको नयाँ वनक्षेत्रमा हेमान्यका रूखहरू थिए जसमा लाभ्रे कीरा टाँसिएको देखेपछि गुरुङ र त्यहाँ बसोवास गर्ने मानिसहरुले पहिले त्यो ठाउँको नाम नै ‘लाभ्रे’ राखे ।
सोही ठाउँ नजिक एउटा पोखरी थियो जसबाट शुरु भएका दुइ नदीहरु बगेर सम्थरतिर जान्थे । डाँडामा पोखरी भएकाले यसलाई मानिसहरु ‘पोखरी डाँडा’ भन्दथे । यही पोखरी डाँडा दक्षिण भूटान र उत्तरी भूटानको सिमाना पनि थियो । देशभित्रै आन्तरिक सिमानाको अर्थ के भने, सामुदायिक विभाजनका लागि सिमाना राखिएको थियो जहाँबाट छुट्टै संस्कृति र भाषा भएका दक्षिण भूटानीहरु तोकिएको रेखाभन्दा उँभो जान नपाउने र उत्तरका भोटियाहरु उँधो झर्न नपाउने अलिखित कानूनझैं स्थापित चलन नै थियो ।
सिमानाको पोखरी डाँडाबाट बग्ने एउटा ठूलो नदीको जलधारामाथि बिहान सूर्यदयको ज्योति ठोकिएर गाउँलाई प्रतिविम्बित गर्द’थ्यो ! यसरी सूर्यको ‘टक लागिरहने’ अर्थमा मानिसहरु यस नदीलाई ‘टक लागि’ भन्थे । पछि अपभ्रंश भएर यो ‘टक+लाई’ बन्यो ।
अझ पछि जोंखा भाषाको प्रयोग गर्न थालियो र सो भाषामा यो ठाउँको नाम टकलाईबाट ‘तकलाई’ बनेको बताइन्छ । जोंखाको वर्णमालामा ‘ट’ वर्गीय वर्णहरु नभएका कारण ‘ट’ लाई ‘त’ बनाउनुपर्ने भएपछि यो ‘तकलाई’ बनेको केही इतिहास-अध्येताहरुको दाबी छ । त्यही पोखरीको अर्को कुनाबाट सानो नदी निस्कन्थ्यो जो गाउँतिरबाट घुम्दै झरेको थियो । मानिसहरुले आफ्नो दैनिकीमा यो नदी धेरैपटक तर्नुपर्द’थ्यो ! वर्षायाममा केही मानिसहरु यसैमा बगेर बेपत्ता पनि भए । मानिसहरु यो नदी सुकिदिए हुन्थ्यो भन्ने कामना गर्दथे । नदीलाई ‘देवी’का रूपमा मानिने हुँदा ‘यो नदी सुकोस्’ भन्ने कामना गर्दै आदरार्थी भावमा ‘सुकुन्’ नाम रहन गएको किंवदन्ति छ ।
केही समयपछि कारबारी रणबहादुर गुरुङ प्रशासनिक अख्तियारी पाएर मण्डल बने ! आफू मण्डल बनेपछि उनले प्रशासनिक तथ्यांक बनाउँदा आफूले चर्चेको इलाका ‘लाभ्रे’को स्थानमा त्यही ठूलो नदीको नाम जोडेर ‘तक्लाई’ लेखिदिए । अतः अरु धेरै कुराहरु पुष्टि गर्न कठिनाइ भए पनि तक्लाई नदीको शिर अर्थात मुहान भएकै कारण त्यो ठाउँ तक्लाई बनेको हो भन्ने कुरामा कुनै शंका छैन ।
रणबहादुर अति चतुर युवक थिए । सिमाना पारि जेम्गाङको सो इलाकामा कोता डाडुल भोटिया पहिलेदेखि नै सरदारी शासन चलाउँथे । रणबहादुरले कोतासित मित लगाए र उनको अधीन रहेको केही जग्गा पनि किने । पहिले लाभ्रेभित्र सीमित गाउँलाई जुल्फाईदेखि कानामाकुरा खोलासम्म फैलिएको निकै ठूलो बस्ती बनाए । यद्यपि, त्यो स्थान लामो समयका लागि अनुकूल रहेन ।
नयाँ ठाउँ र परिवेशमा उन्नति गर्न सकिएला भन्ने हौसला बोकी कारबारी रणबहादुरको इलाकामा पुगेका धेरै मानिसहरु वन्यजन्तुले अत्यधिक सताएर अन्न-बाली उब्जाउनै नसकेपछि वर्ष पनि नपुग्दै हरेस खानथाले । त्योबेलाको जिउने आधार नै पशुपालन र खेती । बाँच्ने आधारभूत माध्यमबाटै विमुख हुनपरेपछि उनीहरुले विकल्पको खोजी गर्नथाले । अब शुरु भयो उनीहरुको दोस्रो बसाइँसराइको पूर्वतयारी !
एकदिन रणबहादुर बिहानै उठी सानो खोलाको गडतीर लिएर ओरालो लागे । पाँच दिनसम्म नफर्किएपछि उनलाई खोज्न आफन्त र शुभचिन्तकहरुको अर्को टोली पनि ओरालै लाग्यो । सुकुन खोलाको आड-आडै झरेको टोलीले तीनदिन लगातार पैदल हिँडेपछि रणबहादुरलाई एउटा समथर मैदानमा फेला पाऱ्यो जुन भूमिमा उनीहरुले आफ्नो नयाँ गाउँ बसाल्न अनुकूल देखे । रणबहादुरलाई साथमा लिएर उनीहरु लाभ्रे पहाड फर्किए र राय-सल्लाहमा लागे ।
स्थानीयहरुले पुनाखा गई राजालाई भेटेर नयाँ बस्ती बसाल्ने अख्तियारका लागि विन्ति चढाउने रणबहादुर कारबारीलाई सुझाव दिए । त्योबेला ड्रुकयुलको राजधानी थिम्पूमा सरेकै थिएन । रणबहादुर केही भरियालाई यथासक्य घिउको ढोयो (कोसेली) बोकाएर सात दिनमा पुनाखा दरवार पुगे ।
रणबहादुर पुनाखा पुगेको त्यो कस्तो समय थियो भने ‘पारो पेन्लप अधीनको क्षेत्रमा बसेर टोङ्सा पेन्लपको पक्षपोषण गरेको’ अभियोगमा ठेकेदार गर्जमान गुरुङलाई पारो पक्षले कब्जा गरेर दबाएको आठवर्षमात्र बितेको थियो । गर्जमानमाथि टोङसा पेन्लपबाट अनाधिकृत रूपमा श्री ३ सरकारको पद्वी लिएको एउटा आरोप थियो भने देहरादूनका चन्दनसिंह ठाकुर र दार्जीलिङका डम्बरसिंह गुरुङ नेतृत्वको ‘अखिल भारतीय गोर्खा लिग’ नामक राजनीतिक दलको सदस्यता लिएको अभियोग पनि थियो । यसैगरी समाजको नेतृत्व लिएर ‘राजनीतिक अपराध गरेको’ अभियोगमा महासुर क्षेत्रीलाई छालाको धोक्रोमा खाँदेर सुनकोश नदीमा जिउँदै बगाइएको दुइवर्षमात्र बितेको थियो भने डिबी गुरुङ नेतृत्वमा गठित भूटान स्टेट कंग्रेसको निम्तोमा त्यहाँ पुगेका नेपाली कंग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको अगुवाइमा सञ्चालित सत्याग्रह आन्दोलनमाथि नृशंस दमन गरिएको सात महिनामात्र बितेको स्थिति थियो । सर्वविदित छ, त्योबेला जिग्मेदोर्जी वाङ्चुकले तेस्रो महाराजका रूपमा भक्खरै गद्दी आरोहण गरेका थिए ।
उता मुलुक बाहिर पनि अनेक किसिमका तानाबाना बुनिएका थिए । भारतबाट बेलायतीहरु हिँडेको सातवर्षमात्र बितेको थियो भने स्वाधीन भारतको शासकीय संरचनाले पूर्णता पाइसकेको थिएन । यद्यपि, भारतीय राष्ट्रिय कंग्रेसले नेपाल, सिक्किम र ड्रूकयुलमा आफ्नो प्रभावी पञ्जा फिँजाउन जमर्को गरिरहेको थियो । नेपालको राणाशासनले सर्वस्व जफत गरी लखेटेका निर्वासित मानिसहरु पहिलेदेखि नै काँशीमा थिए जसलाई समेटेर भारतीय कंग्रेसका नेताहरुले यसअघि नै नेपाली कंग्रेस पार्टीको गठन गराइसकेका थिए ! सोही सिलसिलामा गठित सिक्किम स्टेट कंग्रेस र भूटान स्टेट कंग्रेसमाथि पनि आफ्नो रणनीतिक प्रभाव निर्धारण गर्न गान्धी र नेहरुहरूले प्रारम्भिक भूमिका खेलेका थिए ।
ब्रिटिशकालदेखि तत्कालीन स्थितिसम्म भारतद्वारा सिमाना मिचेर ड्रूकयुल अधिनस्थ भूमि कब्जा गर्ने शृंखला पनि जारी नै थियो । उतिबेलै चीनले तिब्बतमाथि पूर्ण अधीन जमाउने अठोट लियो । ‘तिब्बतलाई हत्केला भएको बताउँदै त्यही हत्केलाका पाँचमध्ये एक औंला’को रूपमा ड्रूकयुल पनि तिब्बतकै अभिन्न अंग भएको जनाएर चीनले छिमेकी शक्तिनाइकेहरुलाई तनाव दिइरहेको थियो ।
यस अतिरिक्त त्योबेलाको ड्रूकयुललाई सबैभन्दा धेरै प्रभाव पार्ने विषय ‘नेपाल’ र ‘नेपालीसितको निकटता’ थियो । ड्रूकयुलमा नेपाली पृष्ठभूमिका रैतीहरुको संख्या बढाउनुपर्ने आवश्यकता बढिरहेको थियो । हुन त अनौपचारिक रूपमा १२ सयवर्ष र औपचारिक रूपमा विगत चारसय वर्ष (रामशाहकालीन गोर्खाराज्य)-देखि नै ड्रूकयुलमा बसोवास गर्दै आएको यो समुदायको संख्या त्योभन्दा पहिले पनि कम थिएन । यद्यपि, दक्षिण सीमानाको सुरक्षा र राजकोषमा धनसञ्चय गरिने करदाताको रूपमा उनीहरुको संख्या अझ बढाउनुपर्ने पुनाखा दरवारले महसुस गरिरहेकै थियो । अझ प्रष्ट भाषामा भनौं, ‘रईसी खानदानियाँ पृष्ठभूमिका गोर्खाली’हरुलाई दमन गरेर समाप्त पार्दै पूर्ण दासत्व स्वीकार गर्ने ‘राजभक्त नेपाली’हरुलाई देश भित्र्याउन चाहन्थ्यो पुनाखा दरवार त्योबेला । माथि उल्लेख गरिएका गर्जमान गुरुङ, महासुर क्षेत्री र डिबी गुरुङका प्रसंगहरुबाट यहाँहरुले सो कुरा बुझ्नुभयो भन्ने अपेक्षा राख्तछु ।
त्योबेलाको विश्वपरिवेश कस्तो थियो भने-दोस्रो विश्वयुद्ध समाप्तिको आलो धङ्धङी र अन्य धेरै कारण गोर्खाली उपमाले चिनिने नेपाली समुदायप्रति विश्वभरि गतिलो भरोसा बढिरहेको थियो । तर, ड्रूकयुलसित प्रत्यक्ष सम्बन्ध राख्ने सरोकारचाहिं मनाङ र मुस्ताङमा चलिरहेको आफ्नो हालीमुहालीमाथि त्यहाँका राणाशाही जंगबहादुरले रोक्का लगाएको विषय थियो जसले ड्रूकयुललाई ऐतिहासिक कालदेखि राणाहरूविरुद्ध अत्यधिक चिढ्याएको थियो । नेपाल-भोट युद्धमा ड्रूकयुल भोटतर्फमा लागेको अभियोग राणाहरुले लगाएका थिए । यो सन्दर्भमा ड्रूकयुलका राजाहरुले नेपाल (तत्कालीन गोर्खासहित) कै प्रजालाई आफ्ना रैती बनाएर, तिनीहरुकै युवापुस्तालाई राणाहरुका विरुद्धमा हुनसक्ने सम्भावित युद्धका लागि तयारी गर्नेसम्मको नीति लिएका थिए विभिन्न ऐतिहासिक ग्रन्थहरुमा उजागर भएको छ ।
त्यो ऐतिहासिक पृष्ठभूमिबाहेक पनि तत्कालीन नेपालमा ड्रूकयुलसित अझ गम्भीर सरोकार राख्ने दुइवटा महत्वपूर्ण घटना भए जसले निर्माण गरेको नजीर पुनाखा दरवारको सोझो सरोकारमा जोडिएको थियो । ती घटना थिएः
- राणाहरुको हस्तक्षेपका कारण आजित भएका राजा त्रिभुवन भागेर दिल्ली पुगेको अवस्थाबाट फिर्ता ल्याई नेपालमा पुनर्स्थापित गराइएको ताजा घटनाले नेपालीहरुको दरवारप्रतिको आशक्ति अथवा उनीहरुको भाषामा ‘राजभक्ति’ उजागर भएको थियो जसले पुनाखालाई निकै गजबको प्रभाव पारेको थियो ।
- विसं २००७ फाल्गुन ७ गते अर्थात् सन् १९५१, फेब्रुवरी १८ का दिन राजा त्रिभुवनले नेपालमा राणाशाहीको अन्त्य र प्रजातन्त्र स्थापनाको घोषणा गरे जुन घटनाले नेपालका लागि आंशिक नकारात्मक तर, ड्रूकयुलका लागि नाफामुलक भूमिका खेल्यो । नेपालका लागि नकारात्मक यो अर्थमा कि त्यहाँका हजारौं रैतीहरु अपर्झट आफ्नो थातबासबाट विस्थापित भएका थिए भने ड्रूकयुलका लागि नाफाजनक यो अर्थमा, दक्षिणका जंगलहरुको फडानीमा लागेका पुनाखा दरवारका सरदार र ठेकेदारहरुलाई रैतीको संख्या नपुगेर हैरानी भएको बेला एकै झमटमा रैतीहरुको ठूलो संख्या फेला परेको थियो जो दरवार र राजभक्तिमा नामुद समुदायको रूपमा कहलिइसकेको थियो ।
यो प्रसंगलाई अलि स्पष्ट पारौं । राणाशासनको अन्त्य र प्रजातन्त्र स्थापनाको त्यो दोसाँधमा तत्कालीन लिम्बूवानमा चलेको अन्तरद्वन्द्वका कारण धेरै पहाडे (पर्बतीया)-हरु ड्रूकयुलतिर छिरे । जगजाहेर रूपमा अन्तिमपटक पर्बतीयाहरु ड्रूकयुल छिरेको यही समय थियो । यो सन्दर्भ कस्तो भने लिम्बूवानीहरुले प्रजातन्त्र र नागरिक स्वतन्त्रता भनेको के हो नबुझेको अवस्था थियो भने सुब्बा, सरदार, खरदारजस्ता सामन्ती शासनका पुस्तैनी उत्तराधिकार समाप्त भएकोमा प्रजातन्त्रका पक्षधरविरुद्ध चिढिएका स्थानीय शासकहरु पनि आफ्नो रहल-पहल शक्ति लगाएर सामाजिक सत्ता बचाउँन चाहन्थे । राणा शासनको अन्त्य र प्रजातन्त्र स्थापनाको धङ्धङीले छोएको यस्तो उत्ताउलो बेला विशेष गरी राणाका सहयोगी भएको सन्देहमा केही निश्चित वर्गका मान्छेमाथि बद्ला साधिएको अवस्था पनि थियो ।
यिनै महाजञ्जालको कोपभाजनमा परेर केही लिम्बूवानीहरुबाट आक्रमण भोगेका वा कोहीचाहिँ आक्रमणको त्रासले भागेर बाँच्न ड्रूकयुलतिर दौडिएका थिए । यी सबै मानिसहरुलाई पुनर्स्थापित गर्दै आफ्ना रैती बनाउने, तिनीहरूबाट दक्षिण सिमानाको रक्षा गराउने र उनीहरुबाटै अदाय भएको खजाना (कर) ले शासनको आर्थिक भार थेग्ने दाउ पुनाखा दरवारदेखि गाउँका सरदारसम्मले हेरेका थिए । करिब चारसय वर्षदेखि यसरी नै राज्य चल्दै आएको परिप्रेक्ष्यमा ड्रूकयुलका लागि यो कुनै नौलो चिन्तन पनि थिएन ।
यसरी ड्रूकयुल प्रवेश गरेका केही मानिसहरु पनि रणबहादुरका रैती बन्न भ्याए । कालेबुङे राजा सोनाम तोब्गे दोर्जीदेखि झुलेन्द्र प्रधान (न्याउली बाबू) लगायत त्यो बेलाका सबै सरदार, ठेकेदारहरु आफ्नो बस्ती ठूलो बनाउन जहाँसुकैबाट पर्बते प्रजातिका मानिसहरु भेला गरी आफ्ना रैती बनाउँथे । रणबहादुरले मात्र गरेको यो कुनै अनौठो काम थिएन ।
अतः रणबहादुर गुरुङ भरियाहरुसहित पुगेपछि पुनाखा दरवारमा उनको भव्य स्वागत गरियो । राजाले उनको अर्जीपत्र सहजै स्वीकारे र नयाँ बस्ती बसाल्न आज्ञापत्र (काशो) दिए । घिउको ढोयो (कोसेली) लिएर दरवार पुगेका रणबहादुर आफ्नो उद्देश्य सफल बनाएर फिर्ता भएपछि उनलाई ‘घिउवाला’ नाम उपहारमा मिल्यो । घिउवाला भनेपछि गाउँ-टोलदेखि राजदरवारसम्म उनलाई नचिन्ने कोही रहेन । तबदेखि उनी घिउवाला मण्डल नामबाटै देशभरि परिचित भए ।
राजाज्ञा पाएपछि घिउवाला मण्डलले आफ्नो बस्ती लाभ्रेबाट जुरुक्कै बोकेर ओरालो झरे । ‘लिम्बूटार’ मा आफ्नो हेमान्यको टुङ्सी घर बनाए र त्यही दलानबाट आफ्नो शासकीय कार्यालय सञ्चालन गरे । लिम्बूटारमा केन्द्र बनाएर घिउवालाले विस्तारै बस्तीको आकार बढाउँदै लगे । सुकुन् खोला पारिपटि च्याङ्बा तामाङलाई राखे । च्याङबाले कारबारी बनेर चलाएको त्यो बस्ती पहिले च्याङबा टार नामले परिचित भयो र पछि त्यही नाम अपभ्रंश भई ‘स्याङबा टार’ बन्यो । च्याङ्बा र उनका सन्तान औलो लागेर समाप्त भए । च्याङ्बाका दाजु, थेवा तामाङ र उनको परिवार भने ८० को दशक अन्त्यसम्म घिउवालाकै छिमेकी थिए । केही समयपछि घिउवालाले लामीटार खुलाएर अर्को पनि बस्ती बसाले !
आफ्ना रैती-बस्तीको संख्या विस्तार गर्दै लाने क्रममा ललाई मण्डलले फडानी गरेको बम्जनडाँडा पनि घिउवालाले अधीन गरे । त्योबेला ललाई बलबहादुर घले मण्डलले चर्चेका थिए । ललाई प्रधान नामक व्यक्तिको पहलमा खुलेको त्यो नयाँ बस्ती भएकाले उनकै नामबाट परिचित थियो । सुरुमा ललाई पनि ठेवरमा गाभिएको थियो । पछि अलग ब्लक बनाएर बलबहादुर मण्डललाई त्यसको शासकीय भार सुम्पिइएको थियो । बम्जनडाँडामा घिउवालाले दाबी गरेपछि घले मण्डलसित जमीन स्वामित्वको विषय लिएर विवाद चर्कियो । यो विषय मुद्दा बन्यो र दुइ मण्डलहरु अड्डा-अदालतसम्म धाए ! घले मण्डलको तुलनामा घिउवाला मण्डल राजदरवारसित निकट रहेकाले मुद्दाको फसेला उनकै पक्षमा भएको सो विषयमा जानकार प्रौढहरु बताउँछन् ।
यो समय भनेको घिउवालाले तक्लाई बस्ती बसालेर लिम्बूटारमा मुख्यालय चलाएको पनि १० वर्ष बितिसकेको अर्थात् सन् १९६४/६५ वरिपरिको बेला थियो । त्यो समयको संयोगबारे इतिहासप्रेमी आदरणीय पाठकहरुलाई अनुमान गर्न सहज होस् भनेर म निम्न केही झलक दर्शाउन लाग्दैछु ।
सन् १९५३ देखि नै चीनले केही नक्शा प्रकाशित गरी ड्रूकयुलका धेरैवटा उत्तरी भागहरु तिब्बतमा गाभेर आधिकारिक घोषणा गर्दै आएको थियो । यहाँसम्म कि राजधानी पुनाखासमेत तिब्बतमा गाभेर गरिएको चीनको यो सार्वजनिक दाबी सन् १९६४ सम्म कायमै थियो ।¬1.
सन् १९६४ को ५ अप्रिलमा जिग्मे पाल्देन दोर्जी (कालेबुङे राजा एस.टी. दोर्जीका छोरा)-को हत्या अभियोगमा छाब्डा बहादुर नाम्गेललाई भक्खरै मृत्युदण्ड दिइएको थियो भने सोही वर्षको डिसम्बरमा ब्रिगेडियर उगेन ताङ्बीको अगुवाइमा सत्ताकब्जाको असफल प्रयास भएपछि केही मान्छेहरु भागेर नेपालमा शरण लिनपुगेका थिए । त्यसलगत्तै अर्को वर्ष जुलाई ३१ का दिन पारोस्थित किचु ल्हाखाङ दर्शनमा जाँदा गोली हानी राजा जिग्मेदोर्जीको हत्याप्रयास पनि भएको थियो ।¬2.
सन् १९६० मा तत्कालीन चीनियाँ राष्ट्रपति चाउ येनलाईले अन्तरदेशीय सीमा विषयमा १९४९ को सन्धिलाई आधार गरी ड्रूकयुलको मातहतमा भारतले चीनसित प्रश्न उठाउनु सान्दर्भिक नहुने प्रतिक्रिया दिएका थिए । वास्तवमा सो सन्धिलाई चीनले कहिल्यै मान्यता नदिएको/नदिने कुरा चाउ येनलाईले बारम्बार उठाउँदै आएका थिए जुन क्रम सन् १९६४/६५ सम्म पनि टुंगिएकै थिएन ।¬3.
त्यसो त चीनले सन् १९१० मै ल्हासामार्फत ड्रूकयुललाई पत्र पठाएर तेह्रौं दलाई लामाका अनुयायीहरुलाई भारत छिर्ने खुल्ला बाटो किन दिएको भनेर खरो विरोध गरेको थियो । त्योबेला ल्हासा तिब्बतको राजधानी थियो भने चीनियाँ राजखलकका प्रतिनिधि अम्बानले तिब्बतको शासन चलाउँथे । यही राजनीतिक दाउपेचको सिलसिला सन् १९६४/६५ सम्म तन्किँदै आइरहेको थियो । ¬4.
ड्रूकयुललाई भारतको कुटनीतिक पञ्जाबाट फुत्काएर आफ्नो पोल्टामा हाल्ने दाउमा चीनले ड्रूकयुलका राजा र दरवारलाई बलियो आड दिने भरोसा दिलाएपछि सन् १९६० को ग्रीष्मकालीन संसद सत्रमा राजकीय सल्लाहकार परिषद र छोग्दु, दुवै सदनबाट सन् १९४९ मा भारतसँग गरिएको सन्धिको पुनरावलोकन गरी आवश्यक परे संशोधनसमेत गरेर ड्रूकयुलको पूर्ण सार्वभौमिकता निर्धारण गरिनुपर्ने प्रस्तावसमेत पारित भएको थियो । यो सम्भवतः चीनको बलियो आश्वासनकै आडमा भएको अनुमान गरेर भारत त्रस्त बनिरहेको थियो । ¬5.
त्योभन्दा पनि अझ पछिसम्म, आजसम्म नै भनौं सिलसिलेवार रूपमा ड्रूकयुलमाथि छिमेकीहरुले गिद्दे आँखा ताक्ने काम जारी नै थियो/छ । यस सम्बन्धमा भारतीय पक्षका कुरा धेरै भएका छन्, यहाँ थपिरहन आवश्यक ठानिएन । चीन पक्षबाट भएको पछिल्लो उदाहरणका रूपमा एउटा घटना उल्लेख गर्नु सान्दर्भिक होला । त्यो के भने चीनले दशकौंदेखि आफ्नो स्वामित्व दाबी गर्दै आएका ड्रूकयुलका विभिन्न उत्तरी नाकाहरुबाट सन् १९६६ को ग्रीष्मकालमा चीनियाँ लालसेना र तिब्बती गोठालाहरुको ठूलो झुण्ड अवैधानिक रूपमा प्रवेश गरेको थियो । केही समयपछि चीनियाँ लालसेनाहरु फिर्ता भए तर, तिब्बती गोठालाहरुको त्यो झुण्ड ड्रूकयुलमै विलय भएको थियो ।¬6.
अब फेरि घिउवालाकै प्रसंगमा केन्द्रित बनौं । घिउवाला मण्डल पुरानो समयमा जनकल्याणकारी कर्मका प्रतीक थिए, कर्मवीर नायकको रूपमा परिचित थिए । तर, ड्रूकयुलको पछिल्लो राजनीतिक परिवेशमा उनी जनताको चाहना र अपेक्षाविरुद्ध अधिकतम रूपमा दरवारनिकट भएका थिए भन्ने आरोप लाग्यो । यतिसम्म कि सन् १९८० को दशकमा दरवारिया सत्ताले दक्षिणभूटानी नेपालीभाषी जनतालाई बक्खु लाउन, जोङ्खा भाषा प्रयोग गर्न र ड्रूकपा संस्कृति अपनाउन दवाब दिने सिलसिलामा घिउवाला मण्डललाई नजानिँदो रूपमा अगुवा बनाएको थियो । महाभारत कथाको एउटा प्रसंग अनुसार भीष्म पितामहले दुर्योधनद्वारा पाण्डवहरुमाथि जति धेरै अन्याय भएको बुझेर पनि हस्तिनापुर दरवारको रक्षाखातिर आफू ‘नूनको सोझो गर्न पापकै पक्षमा लागेको’ बताएका थिए । हुनसक्छ घिउवाला मण्डलले महाभारत राम्रै गरी पढेका थिए !
माथि नै भनियो, ड्रूकयुलको राजखानदान ८० को दशकमा अत्यधिक विभेदकारी कानूनहरु बनाउनमा व्यस्त थियो । यो दिशाको नीतिनिर्माणमा समेत घिउवाला सक्रिय भए । सर्भाङ जिल्लाका धेरै मण्डली भेला-बैठकहरुमा घिउवाला मण्डललाई अन्य सम्कक्षीहरुले आफ्नो भाषा र जातीय संस्कृतिविरुद्ध ‘त्यसरी नलाग्न’ सुझावसमेत दिनुपरेको कुरा ललाईका भूतपूर्व मण्डल तारा घले बताउँछन् ।
८० दशकको अन्त्यमा उनलाई ड्रूकयुल-भारत सीमामा अज्ञातसमूहले गोली प्रहार गऱ्यो । यस घटनामा पनि उनको दरवारपरस्त लचकता नै कारक भएको ललाई-तक्लाईका अधिकांश पूर्वनागरिकहरुको आँकलन छ । हुन त ड्रूकयुलको रेडियो सेवा-‘भूटान ब्रोडकास्टिङ सर्भिस’ को ‘ह्लोत्साम कार्यक्रममा’ प्रसारित समाचारले ‘देशद्रोही आतङ्ककारीहरुले घिउवाला मण्डलमाथि गोली प्रहार गरेका’ भनेको थियो । तर, घिउवाला मण्डलले आफू राजदरवारसित निकट भएकाले जिल्ला र क्षेत्रका प्रशासकहरुलाई उपेक्षा गरेको, गन्ती नराखेको इबीमा प्रशासकहरुले नै भारतीय पृथकतावादी विद्रोहीहरुलाई प्रयोग गरी उनीमाथि आक्रमण गराएको चर्चा पनि चलिरहेकै थियो । गोली लागेर घाइते भएका घिउवाला थिम्पू पसे, थप केहीवर्ष बाँचेर बिते । उनको दुखान्त अन्त्य भए पनि सकारात्मक पक्षचाहिं उनको सन्तानले शरणार्थी बन्नुपरेन । उनका दुइ पुत्रहरु ओमराज र जसराज थिम्पूतिरै थिए, अहिले पनि उतै होलान् !
यस पंक्तिकारले प्रत्यक्ष भोगेको घिउवाला मण्डलसँगको संगत केवल दुइवटा सन्दर्भमा जोडिएका छन् । सन्दर्भ एकः लिम्बूटारस्थित घिउवाला कोठीमा वर्षको एकपटक शिवरात्रीको उत्सव हुन्थ्यो । कुनै सञ्चारसुविधा नभएको, बाहिरी जगतको दर्शन नभएका, गाउँबस्तीमा टाक्सिएका हामी ठिटा-ठिटीका लागि त्यो उत्सव भव्य राष्ट्रिय पर्वसरह हुन्थ्यो । शिवरात्री मनाउन घिउवाला कोठी पुगेका ठिटा-युवा तीन/चार दिनमा मात्र आ-आफ्ना घर फर्किन्थे । सन्दर्भ दुइः घिउवालाका कान्छा छोरा जसराज तक्लाई प्राइमेरी स्कूलमा अस्थायी शिक्षकको जागिर खान आउँदा यस पंक्तिकारको लागि प्यारा गुरुबाबू बनेका थिए । यसबाहेक मण्डलनी आमा (घिउवाला श्रीमती) गाउँ-बस्तीका बाल-युवादेखि वृद्ध-वृद्धासम्म सबैकी आमा थिइन् । घिउवालाको शासकीय रवाफको प्रभावले होइन, उनी स्वकीय कर्मले नै साझा आमा बनेकी थिइन् । उजुरी-आपत्ति गर्न आएका रैती, मुद्दा-मामिलामा आएका वादी-प्रतिवादी र बटुवाधरि उनको दलान टेकेपछि भोकै हिँड्न पर्दैन’थ्यो । सबैले उनलाई ‘आमा’ सम्बोधनमै अँटाएर ‘सार्वजनितक आमा’ बनाइदिएका थिए । सन् ८०, ८५ हुँदै ८८, ९० तिर पुगेर सबै कुरा विलुप्त भए । राष्ट्र, राष्ट्रियता, देशप्रेम, सामाजिक सौहार्द्रता सबैथोकमा आगो लाग्यो ।
लिम्बू नभएको गाउँ ‘लिम्बूटार’ कसरी भयो ?
घिउवालाको मुख्यालय र ठूलो बस्ती लिम्बूटारमा स्थापित थियो । तर, अचम्म लाग्दो कुरो, त्यो गाउँभरि कतै पनि एकजना लिम्बू थिएनन् । अहिलेसम्म लेख पढिरहँदा लिम्बू नभएको गाउँको नाम लिम्बूटार कसरी भयो होला भनेर तपाइँले पक्कै सोच्नुभएको हुनुपर्छ । यो सन्दर्भमा इतिहासका केही कालखण्डहरु केलाउनुपऱ्यो !
सन् १७०० तिरको कुरा; ड्रूकयुलले सोंखिम (सिक्किम) माथि हम्ला गरेर राम्देन्ची दरवारसम्म कब्जा गरेको थियो । सन् १७७० मा पुनः सम्पूर्ण सिक्किम कब्जा गरी त्यहाँका केही प्रजासमेत ड्रूकयुलतिर लग्यो । तिनै प्रजामध्ये मकरध्वज चोङ (लिम्बू) एकजना थिए ।
सन् १७७० मै ड्रूकयुलले विजयपुर (मोरङ) माथि पनि हम्ला गऱ्यो र बिहारसम्म आफ्नो सिमाना फैलायो । लगत्तै अर्को वर्ष (सन् १७७२ मा) कोचबिहार पनि ड्रूकयुलले हडप्यो । ¬7
तत्कालीन मुगल शासकको सरदारी गर्ने कोच राजा देवेन्द्रनारायणले ड्रूकयुलविरुद्ध आफूलाई सघाउन ब्रिटिशसमक्ष अनुरोध गरे । परिणामतः ड्रूकयुल र ब्रिटिशबीच सन् १७७३ मा भएको भीषण युद्धमा लज्जाजनक हार ब्योहोरेपछि नतमस्तक बनेको ड्रूकयुलले ब्रिटिशसमक्ष आत्मसमर्पण गर्दै सम्झौता स्वीकाऱ्यो ।
यी सबै युद्धमा ड्रूकयुलले मकरध्वजलाई बलियो सिपाहीका रूपमा प्रयोग गरेको थियो । मकरध्वजको उत्तराधिकारमा उनका छोरा अभिमानसिङ लिम्बू पनि सिपाही नै भए । सन् १८१५ मा इष्ट इण्डिया कम्पनीले किसनकान्त बोसलाई ड्रूकयुलसित वार्ताका लागि पठाएको बेला अभिमानसिङ स्वागत टोलीमा थिए भनिन्छ । अभिमानसिङका छोरा वीरधोज लिम्बूलाई ड्रूकयुलले १८६० को दशकमा कोचबिहारबाट अरुण सिंह र राम दुलाललाई गिरफ्तार गर्न खटाएको बताइन्छ । सिंह र दुलाललाई आफ्नो शासित क्षेत्रमा ठूलो आर्थिक हिनामिना गरेको अभियोग ड्रूकयुल पक्षले लगाएको थियो ।
यतिसम्म कि राम दुलालबारे स्पष्ट उल्लेख नगरे पनि अरुण सिंहचाहिं आफ्नै रैती भएको ड्रूकयुलको दाबी थियो । अरुण सिंह र राम दुलाललाई कोचबिहारबाट अपहरणको शैलीमा गिरफ्तार गरिएको सम्बन्धमा बंगाली लेखक अरबिन्द देवले आफ्नो पुस्तक ‘ए स्टडी इन् फ्रण्टियर् पोलिटिकल रिलेशन्स्’ मा थोरै उल्लेख गरेका छन् ।¬8 सिंह र दुलाल दुवैजनालाई ड्रूकयुलको कुनै उत्तरी भेगमा पुऱ्याएर बँधुवा दासको रूपमा राखिएको बताइए पनि ब्रिटिश प्रतिनिधि टोलीहरुले खोज्दा नभेटिएका किसनकान्त बोसले ब्रिटिश कम्पनी सरकारलाई बुझाएको आफ्नो प्रतिवेदनमा जनाएका छन् ।
सन् १८२३ मा ब्रिटिश कम्पनी सरकारले पूर्व आसाममा चिया खेती शुरु गर्दा वीरधोजका एक भाइ वर्तमान पश्चिमबंगाल-जल्पाईगढीको वासाबारीबाट डिब्रूगढ नजिकको चाबुवा कमानमा पुऱ्याइएका थिए भने वीरधोजचाहिं ड्रूकयुल अधीनस्थ कोचबिहार इलाकाको वैकुण्ठपुरका वासिन्दा थिए रे । सन् १८६४ मा ब्रिटिश भारतले पूर्ण कब्जा नगरेसम्म मैनागुडी नजिकको वैकुण्ठपुर ड्रूकयुल शासित एउटा मौजा थियो जसमा बुक्सा कोठीको अधीनमा हरगोविन्द काथमले सरदारी चलाउँथे । पञ्जाबी जस्तो नाम सुनिए पनि हरगोविन्द तत्कालीन ड्रूकयुलकै प्रतिनिधि थिए । तर, पछि उनले ड्रूकयुलको इच्छाविपरीत ब्रिटिशसमक्ष आफू र आफ्नो क्षेत्र जिम्मा सुम्पिएको अभियोग लगाएर ड्रूकयुल प्रशासनले उनको हत्या गरिदिएको विभिन्न ऐतिहासिक दस्तावेजहरुमा उल्लेख छ ।
सन् १८८७ मा पारो पेन्लप (तत्कालीन ड्रूकयुलका क्षेत्रीय राजा) बाट दालचन् गुरुङ र गर्जमान बाबु-छोराले चमर्ची मौजामा बस्ती बसाल्ने सनद-अख्तियारी पाएपछि भने वीरधोजका छोरा कमानसिङ लिम्बू आफ्ना बुढा बाबु र लाला-बाला च्यापेर त्यतै पुगे । पछिल्लो कालखण्डमा कमानसिङका छोरा लालधोज पनि ड्रूकयुलकै चप्रासी बनेका थिए । चप्रासी पेशा लिएर उनी कालक्रममा कालीखोला-केराबारी इलाकाको वासिन्दा बनेका थिए ।
समयको गतिसँग बग्दा बग्दै लालधोजको चप्रासी पेशा एउटा विवादास्पद घटनामा जोडियो । घटना विवरण अनुसार सन् १९३०/३५ को वरिपरितिर ड्रूकयुलको दक्षिणी क्षेत्रमा राजनीतिक दाउपेच बढ्दै थियो । चेङमारीका वासिन्दा अकलसिङ तामङ नाम गरेका एकजना सरकारी कर्मचारीलाई पुनाखा दरवार अथवा दोस्रा महाराजले लाखौं रूपयाँ हिनामिना गरेको अभियोग लगाए । तर, अकलसिङले ‘त्यो रकम आफूले नभएर कालेबुङे राजा एस.टी. दोर्जीले दुरुपयोग गरेका’ भनी अभियोगकको खण्डन गर्दै आफू बेपत्ता भए । ब्रिटिश सरकारका प्रतिनिधि दार्जीलिङ डिस्ट्रिक्ट कमिश्नर (डिसी) ले अकलसिङ र एस.टी. दोर्जी दुवैलाई ताकेता गरी १० लाख धरौटी बुझाएर मुद्दा सुल्झाउन आदेश गरे । अकलसिङले आदेशको पालन गरे तर, कालेबुङ राजा दोर्जीले डिसीको आदेशलाई नटेरी बरु ब्रिटिशसमक्ष ‘अकलसिङ ड्रूकयुलको नागरिक भएकाले झट्ट पक्रेर ड्रूकयुललाई बुझाउन अनुरोध पत्र पठाए !’ अकलसिंङ तामाङ, कालेबुङे राजा दोर्जी र उनीहरुबीचको भ्रष्टाचार काण्डसँगै त्यसको न्यायिक समाधानका प्रसंगहरुको संक्षेपीकृत रूप माइकल हटको ‘अनविकमिङ सिटिजन्स’ मा पनि पाइन्छ ।¬9
उता लालधोज लिम्बूको प्रसंगचाहिं अकलसिङ तामाङलाई सरकारको नजरबाट भाग्न सहयोग गरेको अभियोगमा जोडिएको थियो । वास्तवमा त्योबेलाको सिक्किम, नेपाल, ब्रिटिश र ड्रूकयुलका शासहरुको बीचको राजनीतिक दाउपेचमा अकलसिङ र लालधोजजस्ता सर्वसाधारण फँसेका थिए । शासकहरुको पौंठोजोरीमा माध्यम, साध्य र साधन बनिरहेका थिए । ब्रिटिशले कोचबिहार, बंगाल र आसाम द्वारका चाख्ला खेती र मौजाहरु कब्जा गरेर आफ्नो ठूलो क्षति गराइदिएको कुण्ठामा ड्रूकयुल भित्रभित्रै ब्रिटिशविरुद्ध थियो तर, बाहिर भने खूब चाकरी-चाप्लुसी देखाउँथ्यो । त्यसो त सन् १८८५ मा उगेन वाङचुकले बीभत्स गृहयुद्ध मच्चाएर टोङसा पेन्लपको गद्दी हडप्तादेखि नै ब्रिटिशले पनि रैतीभन्दा शासकलाई काखी च्याप्नुमै फायदा देखेर सोही अनुरुप गर्दै आएको थियो ।
कुरो जे होस्, हामी लालधोज लिम्बूका बारेमा केन्द्रित बनौं । अकलसिङ तामाङलाई भाग्न सघाएको आरोप लागेपछि उनी सजायबाट जोगिन केराबारीबाट बेपत्ता भए । त्योबेला ड्रूकयुलभित्र सडक र सञ्चार थिएन । एकठाउँबाट अर्को ठाउँ पुग्न ठूला नदी र जंगलहरु पार गर्दै पैदल हिँड्न पर्थ्यो । लालधोज सातदिन पूर्वदिशा हिँडेर एउटा जंगलभित्र सानो टहरो बनाएर बसे । त्यो समयको कालापानीझैं लालधोजको बस्तीमा न कोही पाहुना पुग्थे न त प्रशासन ! विस्तारै उनका शाखा-सन्तान बढे । ठूलो खेती लगाउन र उकास्न उनले हात्तीसमेत पालेका थिए । तर, दुर्भाग्य भनौं कि संयोग, औलो लागेर उनका सारा परिवार समाप्त भएपछि गाउँ छोडी बुढो ज्यान लिएर उनी हात्ती चढेर अझ पूर्व लाग्दै कानामाकुरा खोला किनार पुगे । कानामाकुरा किनारमा हात्तीको खुराकस्वरूप उनले रोपेको उखु दशकौं पछिसम्म सरकारी सम्पत्तिको रूपमा सञ्चित थियो । सन् १९८० को पछिल्लो चरणसम्म ड्रूकयुलको सेनाले रेखदेख गरेको सो उखुबारीबाट सयौं ट्रकमा रस ल्याएर गेलेफूमा चिनी बनाई बेचिन्थ्यो ।
यसरी लालधोज लिम्बूले सारा सन्तान गुमाएर आफू एक्लो बनेपछि त्यागेको रूग्न भूमिमा घिउवाला (रणबहादुर गुरुङ)-ले नयाँ बस्ती बसालेपछि त्यो ठाउँको नाम पुरानो स्मृतिस्वरूप ‘लिम्बूटार’ रहेको किंवदन्ती भनौं कि इतिहास-रहिआएको छ ।
~इति शुभम् ~
सन्दर्भ स्रोतहरुः
- Modern Bhutan by Ram Rahul-P 102, 104
- Ibid-P 63
- Ibid-P 105
- Ibid-P 101
- Ibid-P 108
- Ibid-P 102, 104
- Ibid-P 120-121
- 8. Bhutan and INDIA: A Study in Frontier Political Relations (1772-1865)-P 88
- Unbecoming Citizens-Michael Hutt: P 89
- https://pahichan.com/2023/09/19/18176/
- https://pahichan.com/2023/09/14/18091/
- 12. https://bhutaneseliterature.com/भूटान-नेपाल-सम्बन्धका-के/
मैले माने भक्त सरलाई, कसरी यस्तो ईतिहासको कुरा खोज तलास गरी लेख्न सकेको ? दक्षिण भुटानका अभिभावक सरी काउन्सिलर डशो जे बि ( जंगबहादुर ) छेत्रीले घिउवाला मण्डलले बस्ती बसालेको कुरा गरेको सुनेको थिएँ । गेलेग्फुगका धेरै मेम्बर सँग हुँदै 1989 मा आफु सँग उनी समकालिन सांसद ( मेम्बर ) थिए, राजा बाट लेन्पो ओम प्रधानले एल्लो स्क्राफ पाउदा हामी बधाई दिन वहाँको रेसिडेन्समा गएका थियौ अधिकांस सबैले केहि यसो केहि ड्रिङ्क गरेको बेला बडा रोचक गफ चलेको थियो । ।
आज बिहानको हल्का झरिले ल्याएको अल्छी समय धेरै सान्धर्बिरक र फलदाहि भयो l जति पड्यो उति पड़ौ पड़ौ लाग्यो l धेरै इतिहास र बास्तविकता भेटियो l भक्त सरलाई धेरै धेरै धन्यबाद l फेरी एक पल्ट पड्नु छ ।