मर्नु अघिको एक क्षण

डिल्लीराम रेग्मी
ओहायो, अमेरिका

मर्नु अघि के सोच आउँछ होला?
कसरी मरूँ जस्तो लाग्छ?
मेरो छाया मात्र देख्दा पनि खुसी हुने
मेरा नजिककाहरू
अझै न……जिक आएर बस्छन् होला
म हुनु वा नहुनुको आभास कहिल्यै नगरेका
मेरा टाढाकाहरू पनि
नजिक आएर बस्छन् होला
अरूले मलाई त्यो अवस्थामा देख्दा के सोच्लान्?
मन-मनै सोच्छन् होला सायद
म जिउँदो हुँदा मेरा लागि नभनिएका कुरा सोच्छन् होला
सबै अकमक्क पर्छन् होला।

अनि मेरी उनी…..
म टाढा जान आँटेको बेला मेरो धेरै नजिक आउँछिन् होला
आँसु झार्छिन् होला मेरो काखमा
तर मैले उनले आँसु झारेको थाहा नपाउँदा
आफ्नै छानामा वर्षेको पानी
छिमेकीको बलेँसीमा खसेजस्तै हुन्छ होला
एउटै बाटो हिँड्दा-हिँड्दै
पुग्नु पर्ने गन्तव्य एउटै हुँदा पनि
बिच बाटोमै पाङ्ग्रा फुस्किए जस्तै हुन्छ होला
उनलाई मैले एक्लै छाडे जस्तै हुन्छ होला
सपनामा कुनै हिमालबाट
कालो ओडारमा खसेको म
खस्दै गर्दा
त…..ल मलाई तिमी हौ जस्तो लागिरहन्छ होला
तर भुइँमा खस्न नपाउँदै
खले गरामा फिँजाएको धानबाट
नाङ्लाले बताएको भुस जस्तै
म पनि अन्तै कतै उडे जस्तै हुन्छ होला।

पारिजात हावा बिना नै
बिहान हुनुभन्दा अगावै भुइँमा खस्छ, फ्यात्त – फ्यात्त
पारिजात झर्नु अघिको एक क्षण !
मेरो मरण पनि त्यस्तै होस्
मेरो सास पारिजात फूलसरह फ्यात्त झरोस्
कसैलाई थाहा नदिई
कसैलाई दुःख नदिई।

तपाईंले बाच्नलाई के के गर्नु भयो?
मर्नु अघि बाच्नका लागि कति चोटि मर्नु भयो?
बाँच्नका लागि धेरै चोटि मरे सरह
मर्नलाई किन धेरै चोटि बाँच्नु नपर्या?
यस्तै यस्तै सोचिरहन्छु होला।
मैले निदाएको नाटक मात्र गरेको
निदाएको छैन
मैले मरेको नाटक मात्र गरेको
मरिहालेको छैन।
मर्नु अघि मैले यसो भन्न किन नपाएको?
म मर्न आँट्नु नाजायज हो
जायज त म शान्त निदाउन आँट्नु हो।

साँच्चै मेरो उमेर कति हो?
हरेक दिन आफैँबाट झरेको उमेर
कुहिएर फ्यात्त फ्यात्त झरेको फल जस्तै
यदि जोड्दै जाने हो भने कति भो मेरो उमेर?
अनि अरूलाई भन्ने उमेर चैँ कति?
मेरो उमेर घट्यो या बढ्यो त्यो त म भन्न सक्दिन
तर उमेर हुन्जेल
मैले कति मान्छे भेटेँ होला?
कस्ता-कस्ता मान्छे भेटेँ होला?
ती मान्छेमध्ये सही मान्छे कति भेटेँ?
गलत मान्छे कति भेटेँ?
अनि कति मान्छेले मलाई भेटे?
ती मान्छेमध्ये कतिले मलाई सही ठाने
अनि कतिले गलत सम्झिए?

अँ साँची मलाई बैतर्नी कसले तराउँछ होला?
अनि म तर्न सकुँला कि नसकुँला?
यदि तर्न सकिएन भने कहाँ गइन्छ होला?
बैतर्नी तरेर पारि पुगेको बेला
तिमीले वारिबाट के के भन्छौ होला?
सायद यस्तै के के भन्छौ होला –
“सुन! हामी फेरि भेटौँ न
पराया जस्तै
पहिले जस्तै”
साँच्चै पहिलो पल्ट सबै कुरा कति सुन्दर र मीठो  हुन्छ !
पहिलो मनसुनी झरी
बिहानको चियाको पहिलो चुस्की
हाम्रो पहिलो भेट
साँच्चै, फेरि भेटौँ न है हामी !
तिमी केही तिम्रा किस्साहरू सुनाउनु
म पनि मेरा केही कहानी भन्ने छु
अनि जब हामीबिच केही भन्न र सुन्न बाँकी रहने छैन
तिमी बिस्तारै आफ्नो टाउको मेरो काँधमा राख्नु
अनि म तिम्र‍‍ो हात थाम्ने छु
पुरै साँझ केही नबोली, दुबैका धड्कन सुनेर बसौँला
दुवैको मौनता सुनेर बसौँला।

तर हेर न अहिले त म
केही बोल्न नसक्ने भएको छु
केही सुन्न असमर्थ भएको छु
पहिलाको जस्तै
मैले केही नबोले पनि
तिमीले चैँ सबै-सबै सुन्नु है
जसरी सधैँ सधैँ सुनिरहन्थ्यौ
मिठो मानेर
मैँले नबोलेका कुराहरू!
आज घाम अस्ताउने अन्तिम साँझ रहेछ  मेरो
म मरेपछि मेरो वरिपरि केके हुन्छ?
मैँले नसुने पनि मलाई सबै भनिदिनु ल ?
जसरी
एकान्तमा एक्लै-एक्लै बसेर
केके भनिरहन्थ्यौ
टाढा आकाशमा बसिरहेको जूनसँग !
त्यो जून
जो तिम्रा आँसुभित्रको दर्दले अँध्यारो हुन्छ
जो तिम्रो खुसीमा अजस्र प्रकाश छरेर मुस्कुराउँछ
जो जहिल्यै त्यहीँ छ
तर कहिल्यै आउन सक्तैन
तिमीलाई अँगालो हाल्न
तिम्रा आँसु पुछ्न
तिम्रा खुसीमा उत्सव मनाउन।

तिम्रा लागि अब म जून भएको हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *