वर्तन थपौँ

जय हुमगाँई 
क्यानाडा
ज्ञान हो ठुलो हितकारी मित्र
सदैव दिन्छ उज्यालो भित्र
सूर्यको ज्योतिले अँध्यारो हट्छ
ज्ञानको जोतीले सङ्कट घट्छ ।
चनाखो बन्नु निसदिन पर्छ
हुँदैन सानु ज्ञान लिनु पर्छ
तरास, डर, आशङ्का र पिर
नराख्नु निकट झुक्दैन शिर ।
अग्लो, होचो, लामु र छोटो
नाप र तौल हुँदैन ज्ञानको
सुन्दर स्वरूप छाला र रङ्गमा
भेदभाव छैन ज्ञानको यिनमा ।
पुड्के, बामे, सापे र कुप्रे
पर्छन् सृष्टिकै रचना भित्र
ज्ञानको पर्दा उगारी धेर
हेलाले होइन विवेकले हेर।
क्षितिज तटमा अकास धर्ती
चुम्बन गर्छन् अङ्कमाल गरी
स्त्री र पुरुषमा भेदभाव कति
पाथीमा भरेको अन्न जति।
सातै रङ्गको इन्द्रेणी हेरेर
सिकौँ पाठ सुनेर पढेर
अँध्यारो जीवन सुनौलो पारौँ
ननिभि दियोमा वर्तन थपौँ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *