पुनर्वासपछि

राधा काफ्ले 
क्यानडा
ठिकै छु म आजभोलि
खाएकै छु पेटभरि
जीवन जिउने बाहानामा
गाउँ फेर्दै  हावा सरी
जोलियत क्युबेकमा
नयाँ भाषा सिक्न पाएँ
गारो थियो ए.बी.सी.डी
मेर्सि जान्दा खुसी भएँ
धन्यवाद
पाँच वर्षमा लन्डन सरे
धेरै खान विन्सोर झरेँ
फेरि अर्को कुम्लो कसी
टोरोन्टोको भिडमा छिरेँ
छैन हाँसो ओठमा यहाँ
दाँत देखाई हिँडिराछु
छैन खुसी मनभित्र
शृङ्गार धसी गुडिराछु
भौतिकता युक्त सुविधामा
रुमलिँदै  संसार मेरो
सम्पन्न छु ती नजरमा
स्वर्ग भन्दा पनि राम्रो
जन्मिएको  गाउँ भन्दा
प्यारो छैन काँही पनि
जति सुख सम्पन्नता
मोज मस्ती गरे पनि
आलै छन् ती यादहरू
घर-बारी सङ्गी-साथी
सुन्कोसले छेकेको गाउँ
डाँडा काँडा आँखाभरि
ठिकै छु म आज भोलि
रमाउँदै मौलिकतामा
भेष-भूषा पराईको
आफ्नो राखी बाकसमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *