पुनर्वास भएपछि

मधु घिमिरे
ह्यारिसवर्ग,पेन्सिलभेनिया

 

“भोटाङे ” शब्दले घोच्थ्यो चस्स चस्स घरीघरी
कसरी उम्कनू भन्दै सोच्दथ्यो मन बेसरी
पीडाका चाङमा सुत्दै पीडामै उठ्नु पर्दथ्यो
“शरणार्थी” बनें भन्दै मन यो पछुताउँथ्यो १

बाँसको झोपडी सानो बाँसकै खटियाहरू
बाँसका दाउरा कुर्सी बॉंसकै तकियाहरू
लाग्थ्यो यो जिन्दगी सारा बॉंसमै सकिने भयो
शरणार्थी भई बस्दा सहारा बॉंस बन्दथ्यो २

विलासी जिन्दगी ज्यूँने सपना सोच आउँथे
इरादा लक्ष्य सङ्कल्प बालुवामै बिलाउँथे
हुन्डरी अग्नि बाढीमा झोपडी भत्कने डर
विधाता सम्झने गर्थें विधाताकै थियो भर ३

देशको प्रेम बोकेर हिँड्थे सुत्थें निदाउँथे
भाषा साहित्य संस्कार भन्दै भन्दै कराउँथे
अभाव भुमरी बीच फँस्दथ्यो जिन्दगी रथ
थियो अन्योलमा ग्रस्त प्रत्येक जिन्दगी पथ ४

पहिचान र आस्थाको भकारी खोज्दथ्यो मन
धुवाँ धुलो धपेडीमा फँस्दथ्यो जनजीवन
आशाका ऑँकुरा उम्री निराशामा बिलाउँथे
शक्ति सङ्कल्प सौन्दर्य मुटमै जुर्मुराउँथे ५

वर्षौ वर्ष बिते यस्तै वेदना दुःख जालमा
पुनर्वास भई आज बस्छु पश्चिम राष्ट्रमा
गाडी आवास आनन्द पॉंए जे छन् भए जति
फेरियो जिन्दगी मेरो पुनर्वास भएपछि ६

 

छन्द-अनुष्टुप

Leave a Reply

Your email address will not be published. Required fields are marked *