ब्रह्म-कमल

भानु ढुङ्गाना
क्यानडा

 

ब्रह्म-कमल फूल यो फुल्छ रातमा
अम्बुज का थोपा छन् , बिम्ब साथमा
दुग्ध, स्वर्ण ,वर्ण निलो दिव्य माथमा।
कैयौँ कोटि नयन तारा हेर्छन् गाथमा ।

कालो रात भित्रको छ सेतो पुष्प निर्मल
अन्धकार भित्र छ,दिव्य ज्योति झलल।
पुष्प-काय रूप श्वेत रात्रिको छ नन्दन
गहरी सीत वृष्टि, विन्दु कन्चन ।

सुन कमल निल यो पुष्प राजको
कान्तिपूर्ण सुन्दर यो, श्वेत ताजको
दिल चोर कोमल छ फूल निल कमल
क्या सुन्दर छ सृष्टि भित्र रात्रि मङ्गल !

कुञ्जभित्र रातमा दिव्य माथमा
निस्तब्ध को बादल ,छैन गाथमा
दिव्य दृष्टि निर्मल श्वेत सृष्टिको
कालो रात भित्र तेज पुष्प वृष्टिको

पयरमा दलदल छ फुल्ने झलमल
स्वच्छ कान्तिपुरीको शान्ति निर्मल
उर्वरा छ रात को हो , शुद्ध कन्चन
वाग भित्र घर-बारीमा कान्ति नन्दन।

सक्छ हुन ब्रह्म तत्त्व-दिव्य -कमल
जल थल काख भित्र नित्य कोमल।
दुर्लभको कान्ति फूल सत्य कोमल
शरद काल भाद्र मास सृष्टि यो फूल

सप्तरङ्गी इन्द्रेणी झैँ, ब्रह्म कमल
अन्धकार भित्र श्वेत, शक्ति निर्मल
ब्रह्म-कमल फूल यो फुल्छ रातमा
अनेक-थरी रङ्गपूर्ण पुष्प माथमा।

श्रावण, भाद्र, आश्विनका तीन मास राती
ढकमक्क फुली दिन्छ ठुलो पारी छाती
अष्टगन्ध-सरी बास्ना कमलको फूल
विशेष गरी गुणकारी हुन्छ ज्ञान मूल ।

ब्रह्म-कमल फूल यो फुल्छ रातमा
अनेक थरी रङ्ग भरी तीन मासमा
फुल्छ साँच्चै सुन्दर दुर्लभ छ पाउन
ब्रह्म-कमल पाउन पहाडतिर जाउन्।

सुगन्धित गुलाफको दोब्बर हुन्छ यो
गुराँसको बढिया यो तेब्बर हुन्छ यो
दिनभरि मौन बसी फुल्छ रातमा
सीत थोपा दाना मोती लिन्छ पातमा।

औषधीय गुणकारी ब्रह्म कमल
अन्धकार भित्र चमक दिन्छ झलझल
खोजौँ रोपौँ घर-देश सुगन्धित हुने
लौन अब ब्रह्म कमल खोजौँ मन छुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *