के म राष्ट्र प्रेमी हुँ?
मेरो बचपन बितेको त्यो घर म देखी टाढा भयो।म संसारमा अर्कै कुनामा भए पनि बाँचेको छु तर त्यो उही ठाउँमा भए पनि बाँच्न सकेन। विडम्बना त्यो गाउँ,त्यो खोला ढुङ्गाका पाँच गोट्टी खेलेको त्यो अग्लो टारले सायद मलाई भुलेको छैन होला तर मैले लगभग भुली सकेछु।अन्ततः सम्झेर पनि के गरौँ त्यो गाउँ त्यो खोला त्यो देश आज मेरो हुन सकेको छैन।
देश हुँदा धेरै कुरा देखेको थिएँ घर बगान गोठ खेत मेलापात ,चाडबाड, भोक, तिर्खा, पूजा आजा, बिहे भतियार,गोठधुप,गुरूधाम,दोहोरी रत्यौली,धान नाच ,खले गर्हो बालोन, सङ्गिनी, मारुनी, समला अरू धेरै कति थिए अहिले सबै सम्झना भए ।यस प्रकार आनन्दले चलिरहेको जिन्दगीले नचाहँदा नचाहँदै मोड फेर्दछ सरकारले कालो नजरले हेर्न थाल्छ गाउँ घर, बस्तु भाउ, धन सम्पत्ति, निन्द्रा भोक, अधिकार, स्वतन्त्रता, पहिरन भेसभुसा सबै कुरामा हैकम जमाउँछ।त्यसपछि नेपालबाट आएका थियौँ धन सम्पत्ति कमायौ अब नेपाल जाऔँ भनी आदेश हुन्छ र सेन्ससको बाना बनाई वर्गीकरण गरी १ देखि ७ फाएलमा विभाजन गरी देश निकाला शक्ति प्रयोग गर्दछ ।पुरुष जतिलाई कुट पिट र जेल लगाउँछ नारी जति छानी छानी करणी र लछार पछार पार्छ र अर्को पाली आउँदा घर खाली गर्नु नत्र फेरि सिकार गर्छु भनी धम्काउँछ।
त्यो दिन सम्झँदा जीउ नै जिरिङ्ग हुन्छ,एक दुई गर्दै गाउँ पातलिन थाल्छ,कुकुर बिरालाहरू भोक भोकै रुँदै मर्न थाल्दछन् गाई बस्तु फुकाउँदै छोड्दै गरेका थिए।खोला नाला बढे पनि जिन्दगी सँगै सुसाएका लाग्दथ्यो,बर्खे झरी चिप्लो बाटो लड्दै उठ्दै बिरलिँदै समालिँदै कहिले जङ्गल कहिले बगर, कहिले दिउँसो, कहिलो राती हुँदै आफ्नो देश छाड्यौँ।
मन भरि नयाँ आसा र भरोसा बोकेर पुर्खाको पसिना बगेको देश प्रवेश गर्यौ तर कदापि आफ्नू देश जस्तो लागेन,हर्षका दिन आउलान् ठानेको ता दुखका दिनहरू आए।सुख त सायद मैले देखिन तर दुःखसित भने गहिरो मितेरी गाँसे,मन नहाँसे पनि रुन्चे मुखुण्डो हँसाए।अचम्म लाग्छ जात भात धर्म संस्कृति पुर्खा,देउता चाल चलन बोली चाली मिलेको ठाउँमा अपहेलित र घृणित भयौँ।नाम दर्ता गरेर नेपाली हुन्छ र शानले बाँचिन्छ ठानेको त शरणार्थी पो भइएछ।शरणार्थी जीवनमा हुने भनेको त अभाव, त्रास, विनाश, उद्देश्य विहीन, अपरिचित, गन्तव्य विहीन, घर विहीन, रुष्ट विहीन र नागरिकता विहीन हुँदो रहेछ।
जे भए पनि सानै देखी हामी उद्धार वादी रहेछौ,नहुँदा पनि विचलित नभई परेको ठाउँमा सहयोग दिँदै गोबर सँग चिनी साटदै १८/२० वर्ष बिताएर हामी तेस्रो मुलुक राजी खुसी पुनर्वास रोज्यौँ।
नयाँ मुलुक नयाँ नियम जान्न बुझ्न केही समय लाग्यो त्यसपछि बिस्तारै हामी समय र ठाउँ सँग परिचित भयौँ र आफ्ना खुट्टामा खडा हुन थाल्यौँ।केही समय गाह्रो भयो गर्दै जाँदा धेरै कुरा सिक्न बाधा भयौँ र अहिले यताको नियम पालन गरी देशको सेवा हुने गरी काम गर्दछौँ। अहिले म एक साधारण क्यानडिएन नागरिक हुँ।म गत १५ वर्ष देखी क्यानडाको भूमिमा साधारण क्यानेडियन नागरिकले गर्नु हुने कर्म गर्दै आएको छु।म क्यानडाको संवैधानिक कानुन बमोजिम रहेको छु।क्यानडामा रहँदा बस्दा कुनै पनि राष्ट्रलाई ठेस पुग्ने असंवैधानिक कार्य गरेको छैन र गर्नु पनि हुँदैन भन्ने कुरा यहाँको मूलभूत धारणा छ।यो मुलुक पहिले देखि नै आगन्तुकहरूले बसोबास गरेको पाइन्छ।म भन्दा अगि आउनेहरूले पनि यसै गरेको बुझिन्छ।मैले कमाएको कमाइबाट सरकारलाई कर बराबर बुझाएको छु,किनमेल गर्दा समानमा लाग्ने शुल्क र hst/gst पनि बुझाएकै छु।मासिक रूपमा घरको ईन्सुरेन्स, गाडीको ईन्सुरेन्स बुझाएको छु घर किन्दा प्रोपर्टी ट्याक्स,भाडामा बस्दा घर भाडा कर सहित बुझाएकै छु।महिनै पिच्छै बिलहरू नछुटाई तिरेकै छु। क्यानडा आउँदा सरकारले मेरो लागी सुरु देखि आए सम्म लगाएको शुल्क बुझाएको छु।कमाएको छोटो मोटो रकम जो होस बैङ्कमा हालेको छु। बैङ्कले मेरो कमाइबाट फाइदा लिएकै छ।मेरो सानु कमाइले पनि यो देश विकासको लागी झिनु टेवा दिएकै हुनुपर्छ।
मैले सकेसम्म क्यानडाको वातावरण संरक्षण गर्न मद्दत गरेकै छु।वन जङ्गल मासेको छैन,घरबाट निस्कने फोहोर मैला यावत रूपमा छुटाएर अलग-अलग बिनमा हालेको छु।आफ्नो घर वरिपरि हावा हुरीले ल्याएको फोहोर मैला पनि बटुल्ने गरेको छु।बाटामा हिँड्दा फोहोर मैला हुत्त्याउने गरेको छैन,चकलेट खाएपछि खोल बोक्ने गरेको छु।घरमा बस्दा होस,बाटो हिँड्दा होस या बजार जाँदा होस मैले कुनै त्यस्तो अनैतिक काम गरेको छैन।होहल्ला गरेर छरछिमेकलाई सताएको छैन।आगो बालेर धुवाँ धुलो र धूम्रपान गरेर अर्काको स्वास्थ्यमा खेलबाड गरेको छैन।झगडा गरेर रिसाएर मुद्दा लागेको पनि छैन।मैले मैमत्तता गरेर अरूलाई जालझेल गरेर ठगेको पनि छैन।समय समयमा नागरिक अधिकारको प्रयाग गरेर क्षेत्रीय तथा राष्ट्रिय सरकार गठनको प्रक्रिया पुरा गरेको छु,मतदान दिनुपर्छ र गर्नुपर्छ भन्दै आएको पनि छु।मैले कुनै पनि गैर कानुनी काम गरेर राष्ट्रको बदनाम गरेको छैन।स्वार्थी बनेको छैन,मेहनतको कमाई खाको छु,आफ्नू अधिकार प्रयोग गर्दा अर्कको अधिकारको हन्नन् गरेको छैन।ट्राफिक नियमको पालना गरेको छु,जेब्रा क्रसिड ढुवानी प्रदूषण ट्राफिक जाम गरेको छैन।कसैको अपहरण र चरित्र सोसन गरेको छैन।सचेत नागरिकले गर्ने साधारण कुराहरू बुझेर गरेको छु।सम्मानित नागरिक बन्न सरकारले दिएको मापदण्ड पुरा गरेको छु।मेरो हिसाबले एउटा सच्च नागरिकले गर्न मिल्ने काम गर्नु नै देशभक्त हो। हो मैले राष्ट्रको सेना बनेर देश र जनताको सेवा गरेको छैन।विद्यालय गएर क्यानडाको इतिहास अध्ययन गरेको छैन।क्यानडाको सम्पूर्ण भूमि टेकेको छैन,देशको नक्सा कोरेको छैन,देसलाई चिनाउने त्यस्तो केही काम गरेको छैन।सरकारी कर्मचारी गरेको छैन।कुनै सम्मानित सङ्घसंस्था खोलेर राष्ट्रको सेवा गरेको छैन,व्यापार व्यवसाय पनि गरेको छैन।क्यानडाको बारेमा धेरै बोलेको पनि छैन गीत गाएको पनि छैन प्रचार प्रसार गरेर राष्ट्रको गुणगान गाएको पनि छैन।
देश छँदा सानु थिए मैले देशलाई चिनिन ,देश नहुँदा ठुलो भए देशले मलाई चिनेन। अहिले जहाँ भए पनि नागरिकता छ मेरो शिर ठाडो भएको छ र गर्वले बाँचेको छु।उसो भए के म राष्ट्रको असल नागरिक हुँ?के म देशको सच्च भक्त हुँ?के म राष्ट्र प्रेमी हुँ?