एन इगल

राजु झल्लु प्रसाद
मैधी, जलमूखी-३, धादिङ
अखण्ड धर्तीलाई खण्ड खण्ड त पारेकै हौँ ।
कोर्‍यौँ राता अक्षर र बनायौँ सिमाना
गरेकै हौँ, आकाशलाई विभाजन पनि ।
ढुङ्गालाई ईश्वर पनि बनाएकै हौँ ।
ईश्वरलाई अपाङ्ग बनाएरै हामी सवालङ्ग भएका हौँ ।
हामीले गर्न बाकी केही पनि त छोडेनौँ:-
नदिलाई मेरो भन्यौँ, बाढीलाई तेरो भन्यौँ !
मृत्युलाई तेरो भन्यौँ, चितालाई मेरो भन्यौँ !
हामीमा सर्वश्रेष्ठ प्राणी हुनुको घमन्ड छ ।
चेतनशील हुनुको क्षुद्रता छ !
सम्पन्न हुनुको अहम् भाव छ !
दादागिरी छ – शक्तिशाली हुनुमा ।
भन्न/गर्न केही बाँकी छोडेनौँ हामीले !
आकाशमा उड्ने चराहरूलाई पनि नागरिकता दियौँ !
दिएका छौँ- नाम, थर, जात ..सब्बैसब्बै हामीले !
तर,…
तर सक्दैनौँ हामी
चराहरू झैँ उड्न ।
जब जब हामी चराझैँ उड्न खोज्छौँ,
अहमको पखेटा फटफटाउछौँ:
पुग्छौँ- समयको गुप्त हाँगामा,
टिप्छौँ – चुच्चोमा सर्वश्रेष्ठ अभिमान,
ठुँग्छौँ- स्वतन्त्रतालाई / कमजोरलाई !
बिस्टाउछौँ- गजुरमा,चैत्यको शिरोभागमा, वा जेरुसेलमको छानोमा वा गिर्जाघरमा !
तब कोरल्छौँ- अमानवता/अधर्म !
र सिकाउँछौँ, बचेराहरूलाई –
हिंसा/युद्ध र मानव संहार !
तब तब हामी बिर्सिदिन्छौँ..
हामी बिर्सिदिन्छौँ कि
‘हामी मान्छे हौँ !’
“बस् मान्छे !”
हामी मात्रै बनाउन सक्छौँ- पिँजडा !
सक्दैनौँ बन्न कहिल्यै पनि चरा !
आफूलाई चरा सम्झनेहरूले यो पनि सम्झिओस्:-
आकाश एक विशाल पिँजडा हो – चराहरूको लागि !!
(चील- अमेरिकाको राष्ट्रिय पङ्क्षी हो ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *