समयको खेल
राधा काफ्ले
टोरन्टो क्यनडा
वसन्तका पालुवा ती
लहराउँदै वन ढाक्दा
पहरा, झर्ना, पाखा, थाङ्ग्रा
फैलाउँदै पर पुग्दा
कोही फल कति मिठा
छिपिएर पाक्न पाउँदा
कोही झरे कलिलामै
आफैँ बोट कमजोर हुँदा
रमाउने जीव, जन्तु
लटरम्म फल भेट्दा
गिज्याउने माउरी पनि
मक्ख हुन्छन् रस पाउँदा
हेमन्तमा तिनै पालुवा
रङ्ग भरि मुस्कुराउँदा
थकान पनि दूर हुन्छ
प्रकृतिको खेल देख्दा
सारा वन खल्लो हुन्छ
रङ्ग फेरि उजाडिँदा
सुन्दर धर्ती फिका लाग्छ
सुन्दरताले बाटो मोड्दा ।
