सचेतना

जय हुमगाई
क्यनडा

साना मसिना कुराको व्यर्थ ब्याड किन बनाउँछौ?
बगरमा जङ्गल नरोपी क्यारी खोलालाई दोष दिन्छौ?
कोदाको बिउँ रोपेर खेतमा धान कहिले फलाउँछौ?
सन्तको रूप धरेर धारे फेरि के छुरा धस्दछौ?

रसिलो बोल्नु हँसिलो बस्नु हर्ष अनमोल जान्नु
बर्दान सरूप अमूल्य जीवन कहाँ ब्यार्थ गुमाउँनु?
मिठा -मिठा शब्दहरूका भारी वर्षा गराउनु
अपच हुने अप्रिय शब्द कसैलाई नगर्नु।।

नमिठो बोली अर्कालाई बोले आफैँलाई फर्कन्छ
फर्केर आउँदा ती तिनै बोली आफैँलाई पोल्दछ
दुख्दछ मन नसक्दा थाम्न रक्तचाप बढ्दछ
रक्तचाप बढे आफैलई  पिर ज्यान समेत गुम्दछ।

निर्बल ठानी कसैलाई पनि कमजोर नठान्नु
चिल्ला ,स्वादिला गरेर कुरा फटाउन नखोज्नु
आफूलाई जस्तो अर्कोलाई पनि सम्झनु पर्दछ
हुँदैन बोल्नु झर्केर कहिले घर जाम जल्दछ।

कदर गर्ने बानी बसालौँ सहन शीलता बढाऊ
नम्र र मिठो बोलेर सधैँ आफूलाई चिनाऊँ
अति ननिको तिखो र छुद्र जिब्रो छ धारिलो
तरबारले काटे पुरिन्छ बरु जिब्रोले झन् गहिरो।

भुरूरू उड्ने गगन चुम्ने मन उसको चुँडिन्छ
इच्छा रहर र चाहानाहरू ती उसको तुहिन्छ
हाँसेर बोल्नु नम्र स्वरले गल्तीलाई औँल्याउनु
चम्किरहेको मुहारमा जहिले झन् चमक चढाउँनु।

दर्बिलो बन्छ अर्तिले मन कमजोरले ढल्दैन
आँट र साहस चाहिन्छ मनलाई कहिले  रोक्दैन
मल र पानी गोड मेल नभए बिरुवा बढ्दैन
ज्ञान र बुद्धिको तालमेल नभए प्रगति मिल्दैन।

अर्तिको मार्ग टेकेर जसले अगाडी बढ्दछ
निश्चय उसको उन्नति हुन्छ लक्ष्यमा पुग्दछ
निराश उसको जीवनमा कहिले पाइला टेक्दैन
मुसुक्क हाँस्छ सब सँग बोल्छ रिस राग जान्दैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *