वन मान्छे
वी.पी शर्मा
विज्कन, नेदरलेन्डस्

वन मान्छे
मलाई रुन्चे नभन्नु, म त मुस्कुराउँदै
विद्यमान परिवेशका हतियारले
मनका बाँजा डल्लाहरू फोरिरहेको छु
पश्चिमी गोरेटा, गल्ली र भञ्ज्याङहरू
छामछुम गर्दै चर्किएका मेरा पाइलाहरू
चालिरहेको छु
तिमी एउटा देशको कुनाबाट उभिएर आँखा चिम्ली हेर त मलाई
तिम्रा ती सोचाइका तरङ्गहरूले
छातीभित्रका मेरा ढुकढुकीहरू छामी हेर त !
म नि:शब्द भन्दै जान्छु तिम्रा सुम्सुम्याइहरूमा
म धड्किरहेकोछु , जीवित जीवन बाँचिरहेकोछु
जीवनका नहिडिएका घुम्तिहरू बरबराइरहेको छु एकान्तमा
हो , कहिलेकाहीँ आकाश नधुमिएको बेला
म जन्मेको ठाउँबाट
म ओझेल परेका मेरा छायाहरू सोच्ने गर्छु
जमेका पुराना कथाहरू समेटेर
पानी बनाउन खोज्छु
आफूलाई समुद्रपार उभ्याएर शून्यमा
आफ्नो परिभाषा खोजिरहेको हुन्छु
त्यो समय
जहिले पनि खुसी हुन पाइन्थ्यो
आफ्नो दुःख पिएर सुखी हुन पाइन्थ्यो
आनन्दका फूलहरू हृदयका बगैंचाभरि
फुलाउन पाइन्थ्यो
तर यहाॅ
उमङ्गका ती रङ्गहरू छर्दै हिँडिने सडकहरू
भासिन खोज्छन्
कति दिन भोगुॅ म ,
पर्दा पछिका हाँसोहरू,मौन हेराइ र तिरस्कारहरू
घृणित उच्छवासहरू !
मान्छेको अनिश्चित अनि स्थायी त्रासको
घुम्टो ओडेर
मानव सभ्यताका यी निला सम्राट्हरू
मलाई वन मान्छे भन्छन् …
म त मेरै ईश्वर हुॅ ,चर्च र मन्दिर हुॅ,
म भजन हु, भिक्षुलाई म भित्र पवित्र फलको
भिक्षा दिने मन्त्र छ, त्यो मै हुँ
शान्ति मै हुँ अशान्ति पनि मै हुॅ !
शान्तिको महायज्ञमा एउटा भोको भिखारीको पवित्र कथावाचक पनि म नै हुॅ !
हुन त यो मनको अध्यारो जङ्गलबाट
मानिसहरूको सहरभित्र
मानिसलाई नै बलि दिने अग्निकुण्ड पनि देखेको छु
नरसंहारको मैदान देखेको छु
र त म भन्ने गर्छु
भोलि बिहान घाम नझुल्कँदै म पोलिन सक्छु
डडेर खरानी हुन सक्छु
बेखबर मेरा जङ्गलहरू भस्म हुन सक्छन्
यहाँका मानव मृत्युहरू मानवताका उपहार हुन्
मूल्यहीन वस्तुहरू हुन् जीवनहरू
एक मुठीका झिना सासहरु हुन् यिनीहरू
अनि
रातारात चिरशान्तिको शङ्ख फुक्ने
लामखुट्टेहरूको टोकाइले
मेरा शरीरका रौंहरू चलबलाईरहन्छन्
उपमानवको उपमाले सुसज्जित मेरा लामा लामा
नङ्ग्राहरूले
कुनै दिन धर्ती कोपर्न सक्छ यो वन मान्छे !
कालीको जिब्रो निकाल्दै धर्मका ज्वालामुखीबाट बगिरहेका
ताता रगतहरू घुटघुट पिउन सक्छ यो वन मान्छे!
कहिलेकाहीँ त सूर्यको किरण चढी आकाश छामु जस्तो लाग्छ
त कहिले गोमन साँपको बुई चढी चर्च घुमौं जस्तो लाग्छ।
पुनः मलाई त यहाँ
आफ्नो घरको बत्ती निभाई अध्यारोमा उज्यालो खोज्ने
स्वाघोषित ‘युधिष्ठिरहरू’ अनि ज्यालाका ‘मोसाहरू’ शैतान भन्छन्
यी भ्रमित पुण्यत्माहरू हिंसा, तिरस्कार र स्वार्थको
ताण्डव नृत्य गर्दै
मेरी आमाले बनाएको चुल्होमाथि नाच्न खोज्छन्
आँगन भत्काउन खोज्छन्
मोक्षको भिख माग्दै अन्य आस्थाका छाती कुल्चने
यी चौपाया कङ्कालहरू
अरुले गाडेको चिहानबाट उठेर मलाई पापी भन्छन्
पुण्यको तृष्णा मेटाउन यी रक्तपिपासु प्रभुका जुके सेनाहरू
मान्छेको रगत धर्मको विष मिसाएर पिउँदा रहेछन्
आकाशमा आफ्नो जीवनको अस्तित्व खोजी गर्ने निहुमा
पापको अंशबण्डा गर्दा रहेछन्।
भोलि बिहान घाम नउदाउन सक्छन्
जूनहरू निदाउन सक्छन्
विडम्बनाहरू एकातिर पन्छाएर
शिशिरको चिसो हावामनि
पात ओछ्याएर मस्त निदाउन सक्छ यो वन मान्छे
उष्ण दिनहरूमा चर्किएका किरणहरू छेक्ने हरियालीमनि
एउटा अर्को जङ्गली रामायण लेख्न सक्छ यो वन मान्छे
मलाई अँध्यारोमा रमाउने भुत्ले जीवात्मा नभन्नु
समयको परिधिभित्र कुनै दिन
रुखका हाँगा हाँगामा नाच्दै
बाइबल ,कुरान र गीताको मलामी जान सक्छ यो वन मान्छे !
तर मलाई रुन्चे नभन्नु !!
