भिखारी मालिक
चरण चन्द्र बजगाँइ
ओहायो, अमेरिका
जीवन रहेछ यात्रा हिमाल, पहाड, फेदी र सहर
कहिले धन्दा, फन्दा, कहर जीवनमा अनि रहर।
जीवन यात्रा गर्न एक सिधा मानिस हिँड्छ कतै
सोझो पनको खिल्ली, हेला र बेचैन भोग्दछ जतै ।।
जाती खोज्दै जान्छ, दुर्बल हुँदा गुहार गुहार भनी
शरण पाउँछ छेउमा तर भोगाइमा दब्छ अनि।
कतै बोल्नै जान्दैन त कतै कूटनीति नबुझी
रुने ठाउँमा हाँस्ने, हँसाउने क्रियापुत्री नसोची।।
सोझो पनि यस्तो कुनै पनि कुरा मनले गर्यो
जिस्क्याउने बाठाहरू पनि थाकी हैरान पर्यो ।
करीबन् दुई दशक तपस्या नै गर्यो कर्म नढाँटी
प्रभुलाई मन पर्यो दिल वालाको यो परिपाटी।।
विकसित मुलुकमा मिल्यो व्यवस्था धर्मीहरूको
बनेका यी देश नि लुटेर दुनियाँ तर कर्मीहरूको ।
पुनर्वासको मज्जा र नमज्जा दुवै भोग्दा-भोग्दै
कति चिसो-तातो गयो होला सातो काम जोख्दै।।
दशकपछि आज सुखमय जीवन भोग्दो हो कतै
कतै सोच्दो होला सपना पो हो कि ऐस छ जतै।
गाडी चढ्छ कहिले कहिले जहाजमा रक्सी परिका
हिजो खिल्ली गर्ने शरण परी बने बफादार सरिका।।
सोझो मनले भन्यो बिग्रिन्छ की कतै सोझो भएरै
उचाल्छ दुर्जनले, पछार्दछ अनि धाई गएरै।
ए खा न हौ धनको शान पनि हुने के छ र लानु
पानी त हो यो त मज्जा छ यसमा छदै छ जानु।।
पैसा जत्ति भैगो भगावानै पनि किन्न पाइन्छ
बाँचिन्जेल मोज गरेर जाने हो मस्त खाइन्छ ।
फुर्किन्छ सोझो मन नबुझेर उचालेको अरूले
मै हुँ भन्दै उर्ली सिँगौरी खेली गरेझैँ गोरुले ।।
विकसित मुलुकमा कर्म गर्नलाई धन जत्ति हुने
के के नै भो भनी, उचालिएर हौ गगन नै छुने ।
जति माथि गयो झर्नु पर्दा कठिनाइ छ धेरै
वायु मण्डल भन्दा नजाऊ अधिक मर्ला सबेरै ।।