भुसको आगो उपन्यास विमोचनका क्रममा व्यक्त मन्तव्य

भुसको आगो उपन्यास विमोचनका क्रममा व्यक्त मन्तव्य

शिवलाल दाहाल
केन्टकी

डिसेम्बर महिनाको सुरुवाततिर कुनै अपरिचित नम्बरबाट फोन आउँछ एउटा आग्रह सहित । फोनमा कुरा भएपछि थाहा हुन्छ, फोन गर्ने भाइ उपन्यासकार रमेश दियाली हुन् । केही अक्रमबक्रम कुरा गरेर म टार्न खोज्छु, तर उनी निकै ढिपी साध्छन् । केही नलागेपछि हुन्छ भनिदिन्छु । कसैको कृतिमाथि चर्चा गर्न, विश्लेषण गर्न डर पनि लाग्छ । फुर्केर प्रशंसा गरिदियो भने त्यो आफैँ थाम्न नसक्ने भइदिन्छ कि अलिक आलोचनात्मक भइदियो भने लेखकले, सामकालिकहरूले पचाउनै नसक्ने पाे हो कि । दाेधारमा पर्छु । तथापि जिम्मेवारी लिइसकेपछि त्यो पूरा गर्नु मेरो धर्म हो । उपन्यासको पाण्डुलिपि इमेल मार्फत मगाएर पढ्न थालेँ । उपन्यासका आरम्भमा केही नमिलेका, शृङ्खला टुटेका घटनाहरू भए जस्तो लाग्छ तर पढ्दै अलिक अगाडि पुगेपछि कथाले गति लिन्छ । आरम्भमा पात्रहरू उभ्याउने र तिनको क्रमिकरूपमा विस्तार गर्ने धेरै उपन्यासकारहरूले पछ्याएको औपन्यासिक शैली हो । तथापि यस उपन्यासमा आरम्भमा केही सीमित पात्रहरू आउँछन् अलिक हतारमा जस्तो त्यसपछि केही पात्रहरू थपिँदै जान्छन् त्यसको क्रमिक विकाससँगै । तथापि यो उपन्यास नायककेन्द्रित, समाख्यानात्मक शैलीलाई नै अवलम्बन गरी अघि बढ्छ । बढी त यसमा मुख्य पात्रको आत्मलाप छ, ऊ आफैसँग संवेदना र भावनामा खेल्छ, पीडामा छटपटिन्छ, सम्झनामा बग्छ र छुटेका कुराले पिरोलिन्छ, भए नभएका कुरा र बिग्रे-भत्केको जिन्दगीदेखि आहृत भएर बिथोलिन्छ र रुन्छ । आत्मलापमा मनोविदलित गर्ने पात्र स्वयं उपन्यासकार पनि हो, ऊ जस्तै समाजमा रहेका अनेक मानिसहरू पनि हुन् ।

यो हाम्रै समाजममा देखा परेका घटनाहरूमा आधारित उपन्यास हो । खास गरी पुनर्वासपछिको सङ्क्रमणकालीन भुटानी समाजमा घटेका केही अप्रिय घटनाहरू छन् यसभित्र छन् । धेरै जस्तो ओहायोको कोलम्बस वरिपरि र त्यसको आसपासमा रहेको सिनसिनाटी तथा ह्यारिसबर्गसम्म औपन्यासिक घटनाहरू फैलिएका छन् । तथापि उपन्यासमा चित्रण गरिएको बीभत्स र विकराल सामाजिक स्वरूप मात्रै यो समाजको चित्र र चरित्र होइन । निश्चित रूपमा पुनर्वासपछि भूटानी समाजमा उथलपुथलहरू भएका छन्, अप्रिय घटना-परिघटनाहरू घटेका छन्,पारिवारिक समस्याहरू उत्पन्न भएका छन्, सम्बन्धहरू विखण्डित भएका छन् । केही घटनाहरू कानुनको अज्ञानताका कारणले, केही लाप्रवाहीका कारणले, केही पारिवारिक खटपटका कारणले, केही लागूपदार्थ प्रयाेगका कारणले, केही परम्परागत मूल्य-मान्यता र पाश्चात्य जीवनमूल्यकाे रस्साकस्सीका कारणले त केही व्यक्तिगत चारित्रिक दोषका कारणले भएका छन् । यस उपन्यासमा उपन्यासकारले यी विभिन्न कारणले समाजमा उत्पन्न भएका समस्या र तिनले ल्याउने घातक परिणामको निरीक्षण र परीक्षण गरेका छन् अनि यसतर्फ समाजलाई सजग गराउने प्रचेष्टा गरेका छन् ।

उपन्यासको कथानक यस्तो छ । एउटै स्कुलमा पढ्ने दुई दौँतरी छन् मानव र गौरी । ख्याल ख्यालमै उनीहरू बीच एक अर्काप्रतिको आकर्षण बढ्छ । नेपाली समाज न हो चियोचर्चो हुन थाल्छ । गौरीका परिवारजनले थाहा पाउँछन् र दुवै परिवारकै सहमतिमा विवाह हुन्छ । दुवै परिवार समझदार छन् । उपन्यास फैलिने क्रममा मानवको परिवारमा मात्र केन्द्रित हुन्छ, गौरीको परिवार हराउँछ उपन्यास भरी नै नभेटिने गरी । एउटा प्रसङ्गबाट उनीहरू.बेलडाँगी शिविरका भएको जानकारीसम्म हुन्छ तर त्यस बारेमा धेरै चर्चा हुँदैन । मानवको परिवार पुनर्वासका क्रममा ओहायोको काेलम्बस सहरमा आइपुग्छ । त्यस बीचमा मानव र गौरीको सम्बन्ध र प्रेम कसरी अगाडि बढ्यो त्यसको पनि खास उल्लेख हुँदैन उपन्यासमा । उनीहरूको एउटा सन्तान जन्मिन्छ तर त्यो न हुर्की कनै उनीहरूको सम्बन्धमा खटपट हुन थाल्छ । सम्बन्ध कसरी बिग्रिँदै गयो यसको आन्तरिक कारण थाहा हुँदैन तर गौरीको उसँगै एउटै कम्पनीमा काम गर्ने केटासँग हिमचिम बढ्छ । गौरीको व्यवहार र र स्वभाव मात्रै परिवर्तन भएको होइन विक्रम भन्ने केटासँग यौवन व्यवहारसम्म हुन पुग्छ । गौरीमा देखिएको अस्वाभाविक व्यवहारले मानव सशङ्कित भइसकेको थियो त्यसको पुष्टि गौरी बिरामी भएर अस्पतालमा गएपछि गर्भवती भएको तथ्यले प्रमाणित गरिदिन्छ । घमन्ड र यौवनको मातमा परेकी गौरीले आफ्नो गल्तीलाई स्वीकार गर्ने भन्दा पनि मानव र उनको परिवारलाई त्याग्ने बाटोमा रज्छिन् अधिकार र स्वतन्त्रताकाे हवाला दिएर । मानवका बाबुआमा परम्परागत मूल्य मान्यतामा अडिग छन् तर समझदार, ज्ञानी आदर्शवान् छन् । उनीहरू छोराबुहारी र सन्तानको भलो देख्न चाहन्छन् तर बुहारीले यसरी छोडेर गएकोमा चिन्तित छन् । कतिपय कुराहरू मानवले बाआमालाई खुलाएर बताएको हुँदैन । गौरी मानवको घर छोडेर हिँडेपछि अन्तै कतै गएर बस्न थाल्छे र चायल्ड सपोर्टका लागि अदालतमा पुग्छे । अदालतले मानवलाई महिला हिंसा गरेकोमा दोषी देख्छ र चायल्ड सपोर्ट तोकिदिन्छ । यसैबिच मानवका बुबाको स्वास्थ्य खस्किँदै जान्छ भने आमा पनि वृद्ध अवस्थाको नजिक पुग्छिन् । घर, कम्पनीको काम, बाबुको बिग्रँदो स्वास्थ्य र आर्थिक भारले मानवलाई थिच्न थाल्छ । त्यही समयमा मानव नेपालमा भूकम्प गएको समय पारी राहत लिएर गोरखाको बारफाक पुग्छ । केही दिनको नेपाल बसाइ र घुमाइ पछि काठमाडौँ फर्कने क्रममा ऊ अनाहकमा प्रहरीको फन्दामा पर्छ । तथापि त्यहाँबाट छुटेर ऊ समयमा नै घर आइपुग्छ । यता घरमा आइपुग्दा चायल्ड सपोर्ट तिर्न विलम्ब भएका चिठी-पत्रहरू आइरहेका हुन्छन् । ऊ काम गर्न थाल्छ तर आर्थिक बोझ धान्न निकै गाह्रो हुँदै जान्छ र चायल्ड सपोर्ट तिर्नबाट चुक्छ । चाल सपोर्ट नतिरेकोमा एक दिन उसलाई घरबाटै प्रहरीले समातेर लैजान्छ र दुई वर्ष कैद भोग्न बाध्य बनाइदिन्छ । त्यसै समयमा यता बाबुको निधन हुन्छ- परिवारको दुरगतिकाे पीडाले आहत भएर । जेलबाट छुटेर अपार्टमेन्टमा पुग्दा उनकी आमा बसेको घरमा अर्कै परिवार बसेको हुन्छ । पछि थाहा हुन्छ कि उनकी आमाले आत्महत्या गरेर जीवन समाप्त गरिछन् । यी सब कुराले मानवलाई सहनै नसकिने पीडा ले छोप्छ, निराशा र चिन्ताले घेर्दछ । उसलाई हरदिन नानीको सम्झनाले पिरोल्न थाल्छ, बिथोल्न थाल्छ । एक दिन पार्कमा उसले कुनै बच्चालाई देख्छ र आफ्नै छोरी भएको भ्रममा परी अंगालो हाल्न पुग्छ । त्यो बच्चीलाई अँगालोमा हालेको देखेपछि उसकी आमाले प्रहरीलाई खबर गर्छिन् र बाल हिंसा गरेको अभियोगमा ऊ दश वर्षका लागि जेल सजायकाे भागीदार हुन्छ । .त्यसपछि उसका कागजपत्रहरू खोसिएका हुन्छन् , बस्ने बासको व्यवस्था हुँदैन र सडकको बास हुन्छ । एक दिन मेरिना शाक्य भन्ने नेपालीले उसलाई वालमार्टको पार्किङ लटमा भेट्छिन् र आफ्नै बाबु जस्तै लागेर आफ्नो घरमा लैजान्छिन् । त्यहाँ एक वर्षजति बसेपछि पेन्सिलभेनियाको ह्यारिसबर्गमा गौरी रहेको तथ्य खुल्छ । खास गरी ऊ आफ्नी छोरीलाई भेट्न चाहन्छ । मेरिनाले मानवलाई ह्यारिसबर्ग हिन्दु मन्दिरमा त्यहाँका एकजना समाजसेवी प्रेम धिमाललाई जिम्मा लगाउँछिन् ।

गौरी र मानवको त्यही मन्दिरमा भेट हुन्छ । त्यसपछि गौरीले मानवको घर छोडेपछिको कष्टपूर्ण र त्रासदिक जिन्दगीका बारेमा बताउँछिन् । जब गौरी विक्रम थापासँग बस्न थाल्छिन् पहिला पहिला त राम्रै थियो पछि बिस्तारै अवस्था बिग्रँदै गयो । विक्रमले आफ्नै छोरीलाई यौन हिंसा गरेको थाहा पाएपछि उनीहरू त्यहाँबाट निस्कन्छन् र अर्कै अपार्टमेन्टमा बस्न थाल्छन् । गौरीको विक्रमसँग एउटा सन्तान जन्मिन्छ छोरो – संयोग । नयाँ अपार्टमेन्टमा डेरा सरेपछि गौरीले एउटा डिपार्टमेन्ट स्टोरमा काम गर्न थाल्छे र त्यहीँ काम गर्ने एउटा काला जातिको मलिक नाम गरेकाे मानिससँग सङ्गत बढ्छ र उनीहरूसँगै लिभिङ टुगेदरमा बस्न थाल्छन् । संयोगले मलिकलाई मन पराउँछ र उसलाई पछ्याउन थाल्छ । केही समयको अन्तरालपछि मलिकले गौरीलाई याद गर्न छोड्छ र लागूपदार्थमा लिप्त हुन्छ । त्यो कुलत ऊसँग मात्रै सीमित रहँदैन, नाबालक छोरा संयोगसम्म पनि पुग्दछ । १४ वर्षको उमेरमा छोरो संयोग लापत्ता हुन्छ, छोरी पनि डिप्रेसनले ग्रस्त हुँदै जान्छे । गौरीबाट मानवसँग सम्बन्ध बिग्रनुको एउटा कारण परिवारमा श्राद्धको दिन क्षेत्रीकी छोरी भनेर विभेद गरेकाे भन्ने खुलासा हुन्छ । गौरीका अनुसार विक्रम थापासँगको सम्बन्ध मात्रै होइन त्यो परिवारमा भएको धार्मिक कर्ममा गरिएको विभेद पनि थियो । गौरी र मानवको भेट भएपछि उनीहरू बिच धेरै कुराहरू भए जसमा गौरीले आफूले गरेको कुकर्म र खराब आचरणको पश्चात्ताप गरिन् । त्यसमा जीवनमा अनेकौँ हन्डर खाएको मानवले आफ्नो पनि केही दोष भएको र अझैसम्म पनि उसप्रति प्रेम रहिरहेको कुरा दर्साउँछ । भेटको केही समयपछि गौरीको निधन हुन्छ र डिप्रेसनमा परेर अस्पताल भर्ना भएकी छोरी खुसी बुबासँग ह्यारिसबर्गकै कुनै एउटा अपार्टमान्टमा बस्न थाल्छन् । बाबुको हेरचाह र निरन्तरकाे योगाभ्यासले केही समय पश्चात् छोरी खुसीको मानसिक स्वास्थ्यमा सुधार आउँछ । यसरी प्रेम, मिलन र बिछोडका अनेक शृङ्खला र घुम्तीहरू हुँदै उपन्यास अघि बढ्छ र समाप्त हुन्छ । कथा यत्ति हो तर यस कथाका बारेमा भन्नै पर्ने, विश्लेषण गर्नुपर्ने कुराहरू थुप्रै छन् ।
मानव समाज, परिवार र संस्कार-संस्कृतिका बारेमा गहिरो जानकारी राख्छ । सन्तान भएपछि आफ्ना बाबुआमाप्रतिको कर्तव्य निर्वाह गर्नुपर्छ, वृद्ध भएपछि उनीहरूको रेखदेख र हेरचाह गर्न चुक्नु हुँदैन भन्ने मान्यता राख्छ । मानवले गौरी घरमा हुँदासम्म आफ्ना आमाबाबुहरूको सेवा गरोस्, हेरचाह गरोस् भन्ने अपेक्षा राख्ने गरेको हुन्छ । गौरी भने साना कुरामा चित्त दुखाउने र हठी स्वभावकी छ । पाश्चात्य मुलुकमा आएपछि उसमा कर्तव्य र जिम्मेवारी भन्दा पनि अधिकारको भूत चढेको छ । आफ्ना वृद्ध हुँदै गएका बाआमाको श्रद्धा र सम्मानमा आँच नपुगोस् भन्ने मानवले समय क्रममा आमा बाबुको सेवा गर्नु त परै जाओस् मर्दा अन्तिम संस्कार गर्ने अवसरसम्म पाउँदैनन् । आफ्ना बाबुआमाको सेवा-शुश्रूषा गर्न नपाएकोमा ऊ सधैँ पश्चात्ताप गर्छ । मानवका बुबा आमा जस्तै ऊ पनि भाग्यवादी छ । जीवनमा धेरै अप्ठ्याराहरू पर्दै गएपछि मानिसले आधार लिने ठाउँ नै कर्म र भाग्यप्रतिको विश्वास हो । केही नलागेपछि मानिसले सान्त्वनाको ओत लाग्ने ठाउँ भनेकै भाग्य हो । अनेक ज्ञान,जीवनको रहस्य चिन्तन र दार्शनिक छाया-छवि बुझेको मानव किन पटक पटक जीवन यात्रामा टुटेको छ, भत्किएको छ, दिग्भ्रमित भएको छ, यो बुझ्नै नसकिने किसिमको छ । ऊ निराश र निरुपायपन बोध गर्छ तर समाजमा सहयोग माग्न जाँदैन । समाज उसका लागि त्यस्ती निष्ठुर र असहयोग सिद्ध त नहुनु पर्ने हो । उपन्यासमा नायकका रूपमा उभ्याइएको मानव, ज्ञानी र शिक्षित भएर पनि केही गर्न नसक्ने कमजोर पात्रका रूपमा उभ्याइनुले उसको नायकत्व माथि नै प्रश्न उठाइदिन्छ । एउटा आदर्श जीवन मूल्यलाई अङ्गीकार गर्ने नायक नै उसलाई अपहेलना लाञ्छना लगाउने र जीवनलाई तहसनहस पार्ने हठी, निष्ठुर प्रेमिकालाई अँगालो हाल्न पुग्नु उसकाे असन्तुलित मानसिकता हाे । सम्झौतावादी चरित्र हो, जीवन बोध होइन । खराब पात्र वा चरित्रले पो जीवनमा हन्डर खाएपछि पश्चात्ताप गर्ने हो, आफूले गरेको पाप कर्मको प्रायश्चित्त गर्ने हो । गौरीले आफूले गरेको कुकर्मप्रति पश्चात्ताप र क्षमा याचना गरिरहँदा मानवले सम्झौता गर्नु चारित्रिक दुरबलता हाे । उपन्यासकारले, पुनर्वासपछिको समाजमा देखिएका आत्महत्या, दुर्घटना र पाश्चात्य समाजको प्रभावले निम्त्याएका समस्याहरूलाई धेरै ठाउँ उठाएका छन् । उनले समाजमा भएका राम्रा, उन्नति प्रगतिका सकारात्मक पक्षलाई भन्दा खराब र नकारात्मक कुरालाई बढी चित्रित गरेका छन् । त्यसले गर्दा पाठकहरूमा समाजप्रति नै नकारात्मक धारणा बनाउने खतरा हुन्छ । एउटा सामाजिक सुधारका लागि वकालत गर्ने लेखकले समाजका समस्या, भाँडभैलो र दुर्गति मात्रै चित्रण गर्ने कि तिनको निरूपणका लागि बाटो पनि सुल्झाउने यो गम्भीर प्रश्न यस उपन्यासका उपन्यासकार माथि आइलागेको छ ।

भुटानीहरूको शरणार्थी अवस्थाको जीवन भोगाइ दुःख, दर्द र अभावले भरिएको थियो । पुनर्वासका क्रममा उनीहरू अनेक सपनाहरू लिएर मन्तव्य मुलुकमा आइपुग्छन् । गन्तव्य मुलुक पनि समस्यारहित छैन । तर त्यहाँ धेरै किसिमका अवसरहरू छन् । धेरैले त ती अवसरहरू समाते, अघि बढे भने केही व्यक्तिगत परिस्थिति, असहज पारिवारिक सम्बन्ध र जीवनका जटिलताहरूले अघि बढेन सकेनन् । यस उपन्यासमा आएका पात्र र चरित्रहरू त्यही अघि बढ्न नसकेका पात्र र चरित्रका प्रतिनिधि हुन् । पुनर्वासमा धेरैका सपनाहरू पूरा भएका छन्; जीवनलाई सहज बनाउने, घर किन्ने, राम्रो गाडी चढ्ने, हाम्रा शिक्षालयहरूमा जाने, व्यापार-व्यवसाय गर्ने, घुमफिर गर्ने आदि । त्यस कारणले उपन्यासमा चित्रित गरिएका नकारात्मक घटनाहरूबाट निराश हुनेभन्दा त्यस्ता कुराबाट शिक्षा लिएर सुधारको बाटोतिर जानु नै व्यक्ति र समाजका लागि श्रेयस्कर हुन्छ । उपन्यासमा समय रेखालाई ध्यान दिएको देखिँदैन । आरम्भदेखिका घटनाहरूलाई हेर्दा उपन्यासका दुई पात्र मानव र गौरीको उमेर त्यस्तै ४० वर्ष मात्र पुगेको देखिन्छ तर उपन्यासको अन्तिम भागमा उनीहरू हठात् वृद्ध भएको चित्रण गरिनु समयका हिसाबले मेल खाँदैन ।
उपन्यासमा भएका घटनाहरू र तिनले दिने सन्देशहरूका बारेमा चर्चा गरेर लेखकीय कमजोरी र त्रुटि मात्रै खोज्नु ठिक हुँदैन । भूटानी समाजमा उपन्यासकारहरूको सङ्ख्या ज्यादै सानो छ, एक दुई वटा फाटफुट उपन्यास आएका छन् तर पुनर्वाससित भुटानी समुदायका कथा-व्यथाहरू कमै आएका होलान् । त्यो समुदायमा वरिपरि बसेर, त्यहाँ भइपरी आएका घटनाहरूलाई अङ्गालेर उपन्यास लेख्नेमा रमेश दियाली अघि छन् । उनको कथा भन्ने शैली रोचक र कौतूहलपूर्ण छ । फिल्मी घटना र अतिरञ्जनाको मोहबाट बाहिर निस्कने हो भने उपन्यासकार रमेश दियालीको लेखनी उच्च कोटीको छ भाषा, शैली र शिल्पका दृष्टिले । उनले प्रयोग गरेको भाषा कलापूर्ण, लालित्यमय र स्तरीय छ । छोटो वाक्य संरचना, गहन उक्ति-पद्धति र तार्किक विचार उनको परिष्कृत र उन्नत लेखन शिल्पका दृष्टान्त हुन् । उनी मानवीय संवेदना, भावना र आदर्श विचारका उपन्यासकार हुन् । उनी नेपाली जीवन, समाज र संस्कृतिको गहिरो जानकारी राख्ने र पारिवारिक मूल्यलाई उच्च महत्त्व दिने उपन्यासकार हुन् ।
उपन्यासकार रमेश दियालीको दोस्रो उपन्यास भुसको आगोको विमोचनका क्रममा मलाई निम्ता गरेर आफ्ना विचारहरू राख्न दिनुभएकोमा आयोजकप्रति आभारी छु । र अन्तमा उपन्यासकार प्रिय भाइ रमेश दियालीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै आफ्नो नयाँ औपन्यासिक कृति भुसको आगोले पाठकहरूको अपार माया र सफलता प्राप्त गरोस् भन्ने शुभेच्छा प्रकट गर्दै यहाँबाट बिदा हुन्छु । धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *