रङ्गिएका अनुहारहरू
भानु ढुङ्गाना
ओन्टारियो, क्यानाडा
आज हामी कुन दुनियाँमा छौँ-
त्यो दुनियाँलाई पनि थाहा छैन
खहरेको हुडिविडिमा बहकिँदै छौँ
हराई रहेको जुन दुनियाँ हो त्यही दुनियाँमा छौँ।
न भाषा ,शिक्षा ,सिर्जना सँग छौँ
न त ज्ञान गौरव अनुशीलन नै छौँ
खोइ के के हो के के खोजिरहेका छौँ
हनिवेजा हतारिए भए जस्तै भएका छौँ।
किन यसरी अनर्गलका तगारा भएका छौँ
हामी-हामी बिचमा सम्प्रदाय भएका छौँ
सानो र ठुलो, तेरो र मेरो भएका छौँ
विनाशकाले विपरीत बुद्धि गएका छौँ
जहाँ भाषा र शिक्षा संस्कृतिलाई मेट्ने भएका छौँ
को हौँ हामी आज कहाँबाट कहाँ गएका छौँ ?
बा आमाका सन्तान छिन्नभिन्न भएका छौँ
फुटाउनेहरूले फुटाएकाहरू बन्दै गएका छौँ।
हामीलाई फुटायो, छिन्नभिन्न बनायो
त्यो पनि विस्तारै-विस्तारै थाहा पनि भयो
तर अहङ्कार, मपाईँत्व दुराचार र ठुलो बन्ने अरे,
आफ्नै शिरमा ओझेल परेको अस्तित्व देखाउन भरे
यहाँ यस्तै-यस्तैलाई ठुलो हौसला र भिड बढेको छ।
सनातन संयुक्त शक्ति सबल- प्रबल छौँ
झुन्ड- झुन्ड साम्प्रदायिक क्षय हुने नहौँ
शङ्घेशक्ति बिजित्रीयं लक्ष्य भित्र रहिरहौँ
दाइ -भाइ दिदी बहिनी वक्रदृष्टि हुँदै नहौँ।
कुण्ड-कुण्ड हुँदा पानी सुक्छ गर्मी सँगै त्यहाँ
ताल ठुलो बढो मान लुक्छ ताप पनि त्यहाँ।
पर्छ हुनु सधैँ हामी एकताको मनोबल
झुक्छ अर्को घुँडा टेकी देखीसामु महाबल ।