श्रद्धाञ्जली मेरो अग्रज स्रष्टालाई
गंगा लामिटारे
ओहायो अमेरिका
शब्द रोप्ने खेतालो थियौ तिमी,
भुटानको सुखा माटोमा
सपना उम्राउन सिकाउने तिमी
अव्यक्त पीडा व्यक्त हुन्थ्यो
तिम्रो कलमको नोकबाट ।
न त तिमीले भीड खोज्यौ,
न त कुनै सम्मान न प्रतिष्ठा—
तर आज पनि
हाम्रो चेतनाको कुनामा
तिम्रै स्वर गुञ्जिरहेछ ।
अक्षर–अक्षरमा
समाजको धड्कन सुन्ने तिमी,
न्यायको कुरा गर्दा
कहिल्यै सम्झौता नगर्ने तिमी,
मौन विद्रोहका
सबैभन्दा स्पष्ट आवाज थियौ,तिमी
आज
तिम्रो ११८ औँ जन्म जयन्तीमा
मैनबत्ती होइन,
हामी शब्द बाल्छौँ—
किनकि तिमी निभ्नेहरूमा
कहिल्यै परेनौ ।
त्यसैले तिमीलाई मेरो असीम श्रद्धाञ्जली
जबसम्म
सत्य लेखिन्छ,
जबसम्म
अन्यायको प्रश्न गरिन्छ,
जबसम्म
साहित्य मानिसको पक्षमा उभिन्छ—
तबसम्म
नारायणप्रसाद लुइँटेल
हामीसँगै रहनेछौ ।
त्यसैले मेरो लाख लाख श्रद्धाञ्जली छ तिमीलाई
श्रद्धा होइन,
सङ्कल्प अर्पण गर्छौँ आज—
तिमीले देखाएको बाटो
छोड्ने छैनौँ भनेर ।
तिमीले गरेको वाचा तोड्ने छैनौँ भनेर
तिमीले देखाएको सृजनाको बाटो भुल्ने छैनौँ भनेर
त्यसैले मुरी मुरी श्रद्धाञ्जली छ अग्रज मेरो तिमीलाई ।।
