प्रकृति-श्रद्धेय
भानु ढुङ्गाना
क्यानाडा
थियौँ अङ्कुरा-पालुवा-मा रमाई
फुलेका फलेका कयौँ स्वाद खाई।
थियो कान्ति प्यारो गयो पत्र झारी
धरा आज उस्तै दियौ शून्य पारी ।।
थिए सत्र हाम्रा मुना पुष्प सारा
सुनौला हजारौँ दिने काव्य धारा
बिहानी दिवाका अनेकौँ उमङ्ग
हजारौँ बुटामा तरू झ्याल सङ्ग।
बसी बोट आफू भयो छत्र छायाँ
सिँचाई धरामा थियो स्वाच्छ माया
जरा भित्र माटो पसी शक्ति मूल
त्यसैबाट पायौँ तला माथि फूल।
छ वेदाङ्ग सारा यहाँ भित्र काव्य
मलाई छ लेखौँ सदाबार नव्य
यहाँ गीत नौला चराको बोली
सँधै लेख्न पाऊँ दिने ज्ञान भोली
सुधा कामना यो नयाँवर्ष-लाई
प्रतिक्षा गरेको अझै रम्न -लाई
सयौँ अङ्कुरा पल्लवीमा रमाई
मनोकामना यो पुरा गर्नलाई ।।
छन्द भुजङ्गप्रयात