डिपोर्टेसन र मेरा हराएका बाबा
दैनिक म स्कुलबाट घर आइपुग्दा
“घर आयौ छोरी, आजको दिन कस्तो रह्यो”
सुनेर हुर्किएकी म,
अझै पनि दैनिक घर आइपुग्दा-
त्यही ढोकातिर आँखा घुम्छन्
जहाँ तपाईं-
मेरो पर्खाइमा उभिनुहुन्थ्यो।
आँगनको त्यो काठको बेन्च जीवितै छ
बाबु छोरीका वार्तालाप
बाबुले छोरीलाई दिएका उपदेश
बेन्चले वर्षौं साक्षी भएर सुनेको छ
अस्ति हिउँदमा हिउँ औधी पर्यो
श्यार्न बिर्सिएछ-
हजुर-आमा बाबा जस्तै
अलि-अलि मक्किन थालेको छ ।
जहाँ तपाईं र म बसेर गफ गर्थ्यौं
बेन्चमा हामी सँगै नबसेको
एक वर्ष बढी भएछ बाबा !
आज त्यसमा बस्ने कोही छैन
ममा एक्लै बस्ने साहस पनि छैन
लाग्छ त्यस बेन्चले सोध्दो हो
खोइ म माथि बस्ने ती बाबु-छोरी !
दैनिक सुत्नु अघि
“गुडनाइट” बाबा भन्दै
बेडको छेउको टेबलमा
तपाईंको शरीरको वजन घटाउने
वेस्ट च्वाइस-
टर्मरिक मिश्रित ग्रीन-टी को कप राख्दै गर्दा
त्यसमा मिसाएको मरिचको कडा रागको यादले
हरेक बेलुकी च्वास्स-च्वास्स झस्काउँछ ।
तर पोहोर आएको त्यो एउटा कागजी आदेशले
तपाईंलाई मेरो जीवनबाट मात्र होइन-
मेरो मन मस्तिष्कबाटै उखेली दियो
नेपालका दुर्गम पहाडमा
मान्छेको भोकको जोहो गर्न
यार्सा गुम्बा उखेलिए झैँ ।
यसै धर्तीको कुनै अनकन्टार किन्नारमा
तपाईं झिनो आशाको त्यान्द्रो बोकेर बाँचिरहनु हुँदा
म उही
तपाईं र आमाको मेहनतले आर्जेको
सुक्सुकाउदो घरमा
त्यही त्यान्द्रोको अर्को भाग समातेर
मन मनै मिलनको युद्ध लड्दै छु ।
याद छ बाबा !
तपाईंले कसम खानुभएको थियो-
“कलेजको पहिलो दिन, म आफैं गाडी चलाएर पुर्याउँछु।”
हो त्यो पहिलो दिन आयो-
र बितेको पनि एक वर्ष बढी भएछ
तर त्यो बिहान
म एक्लै स्टेयरिङ समातेर गएँ।
छेउको सिट खाली थियो,
त्यो खालीपनले पूरा गाडी भरिएको थियो।
म बाटोभरि भक्कानिन्थें
मेरा हरेक थोपा आँसु सँगै,
मेरो एक्लोपन
धुमिल भविष्य
तप-तप झरिरहेको थियो।
तपाईंले नै भन्नु हुन्थ्यो –
“छोरी जीवनमा भर्सक ‘कसम’ नखानु
जटिल अवस्था वायक कसैलाई नढाँट्नु
कसम खाए पछि पुरा गर्नु”-
आज तपाईंले खाएको कसम
नियतिले पुरा हुँन दिएन ।
त्यो अभिभावकत्व
हामी बीचको त्यो साथी पनलाई
निरस पार्ने नियतीलाई
यस घोर कलीमा यदि श्राप दिंदा लाग्ने भए
म त्यही निर्जीव बेन्चमा बसेर
मानवता र मानवीयता मरेको यस धरामा
तपाईं र तपाईं जस्तालाई
एउटा कागजका भरमा
अस्तित्वहिन बनाउने चुतियाहरुलाई
श्राप दिन्थें;
मुखैमा ख्वाक्क खोकेर
प्याच्च थुकीदिने थिएँ ।
भाइले घरि-घरि सोध्छ-
“बाबा खोइ
बाबा किन आउनु हुन्न?”
म उसलाई काखमा टाँसेर भन्छु
“बाबा विदेशमा तालिममा हुनुहुन्छ, छिट्टै फर्किनुहुन्छ।”
तर मेरो आवाजभित्र
म आफैं टुक्रिन्छु,
हाम्रो गाडीको सिसा- एकदिन
सानो ढुंगाले लाग्दा
चिरिक् चिरिक गर्दै धुलिए झैं,
तपाईंले जटिल अवस्था वायक कसैलाई नढाँट्नु- भनेको
आफैं पानी पानी हुँदै सम्झिन्छु।
बाबा, पीडाका पानाहरू पालैपालो पल्टिन्छन्
हजुर-आमाबुवा अझै तपाईंलाई खोजिरहनुहुन्छ
उहाँहरू कमजोर हुँदै जानुभएको छ,
आँखा धमिला भएका छन्,
जसलाई पनि तपाईं देख्नु हुन्छ
कानले राम्रो सँग सुन्न छोडेका छन्,
हाम्रा आवाज सबै तपाईं कै हुन्छन्
खाना खाने बेला “बाबा कहाँ छ?”- सोध्नु हुन्छ
म हरेक पटक झूटले भाँचिएर पनि मुस्कुराउँछु-
“आउँदै हुनुहुन्छ, केहिदिनमा आइपुग्नु हुन्छ” भन्छु
तर त्यो झूटले, बाबा, कस्सम भनेको
मलाई भित्रभित्रै…
भित्रभित्रै….. होस् ल… बाबा,
मैले सबै खुलाइनँ…
अस्ती राम नवमीमा भाइको ब्रतबन्ध
अनि, हजुर-आमाबाबाको चौरासी पनि गरियो
सयौं छिमेकी र आफन्तहरु आए ।
सबैले खाली तपाईंका बारे मात्र चासो राखे
मानौं कति जना त- सोध्नका लागि सोध्न आएका थिए ।
हामी कुन आगोमा जल्दै छौँ
कसैमा पनि पानी पन थिएन ।
हजुरआमाले यो अथाह पीडाको भारी
कतिन्जेल थाम्नु हुन्छ थाहा छैन
चौरासी सकेको रात तपाईंलाई औधी खोज्नु भो
मेरो निधार सुम्सुम्याउँदै
“तेरो बाउले मेरो मुख फेरी देख्ला के त”
आफ्नै आमालाई भने मैले कसम खुवाएकी छु,
“हजुर-आमाबाबालाई नभन्नु है…”
तपाईंको आकाश त पहिल्यै खसिसक्यो,
अब म त्यो भग्न आकाशमाथि
अझै अर्को शोक थप्न चाहन्न।
म हरेक रात-
निलो ट्याबलेटको सहारामा सुत्छु
तपाईंको अभावले
गाडा निन्द्रा र मेरो भेट नभएको महिनौं भो ।
फोनको स्क्रिनले समेत पिरोल्छ
यसो छोयो कि-
तपाईं मुस्कुराउनुहुन्छ,
त्यो मुस्कानभित्र
देशहरू छुट्टिन्छन्,
यादका घरहरू ढल्छन्,
“घर आयौ छोरी” आवाज
बिस्तारै टाढिँदै जान्छ।
अमेरिका त्यसमा पनि यो खचाखच ओहायो
अनि ग्रेटर कोलम्बस !
जहाँ ४५ हजार जति त हाम्रै समाजको भीड छ,
एउटै बिगत गाथा बोकेका,
पीडाका अलग-अलग पहिचान ओडेका
त्यही भिड भित्र हरेक दिन
मन-मनै एउटा आसाको दियो बालेर
कलेज-घर, पार्ट टाइम काम-घर
अर्धमरो यात्रा गरिरहेकी छु ।
महिनौं अघि हो हुनता-
“छोरी, म बाबा
म ठिकै छु, चिन्ता नगर्नु
राम्ररी पढ्नु
“वकिल” नै हुनु है
मैले कसैको फोनबाट कल गरेको……”
एकै स्वासमा बोल्नु भो
‘बाबा… बाबा भन्दा भन्दै
ट्वाँ …… आवाज आयो
त्यो सिग्नल हराएको होइन-
मेरो संसार फेरि टुक्रिएको पल थियो त्यो
मैले त्यो एउटा शब्दलाई समातेकी छु “वकिल”
मेरो त्यो ‘कसम’ भो
त्यही आशाको त्यान्द्रोले कसमलाई कसेकी छु
सायद हराएको न्याय मैले नै दिनेछु।
कागजले तपाईंलाई देशविहीन बनायो,
छोरी भित्रको बाबालाई
कुनै कानूनले हटाउन सक्तैन।
त्यस्तो कुनै अदालत छैन
जसले छोरीको प्रेमलाई सजाय दियोस्,
त्यस्तो कुनै कुनै आदेश छैन
यो यादलाई अन्त्य गरोस्
‘डिपोर्टेसन’ शब्द
२१ औं शताव्दीमा
मानवता विरोधी एक अपराध हो।
तपाईं लुकेको त्यो अँध्यारो कन्दरामा
कसैले तपाईंको नाम नसुनोस्,
कसैले तपाईंलाई नचिनोस्
तपाईं बाँचिरहनुहोस्
बस बाँचिरहनुहोस् ……
उही छोरी,
सपना

