विभेदित मान्छेहरू
ईशाना राई
मिरिक, दार्जिलिङ
कक्षा- दश
यहाँ पूजाको मूर्ति
अछुतले बनाउँछ
मन्दिरमा मूर्ति
ठुला जातले सजाउँछ
आफैले बनाएको मूर्तिको
मन्दिर पस्दा
मूर्ति छोएको कसुरमा
नाङ्गे झार पारी कुटिन्छ
जसले छोएको पानी चल्दैन
उसैले नबनाए पूजाको दियो बल्दैन
उसले बनाएको औजार र वर्तन नचलाए
जीवन चल्दैन
पेट भर्ने गाँस गल्दैन
लौ हेर
मान्छे मान्छेमा विभेद कति छ?
मान्छे मान्छेमा अपमान कति छ?
कोही महलमा मस्त छन्
कोही सडकपेटिमा अस्त व्यस्त छन्
कोही मन्दिरमा वरदान माग्छन्
कोही त्यही मन्दिर परिसरमा भिख माग्छन्
कसै कसैको सुनको छानो
कसैको छैन खाने मानो
कोही चौरासी व्यञ्जन खान्छन्
कोही खान नपाएर भोकै मरी जान्छन्
लौ हेर
मान्छे मान्छेमा विभेद कति छ?
मान्छे मान्छेमा फरक कति छ?
कोही भगवान् खोज्दै तीर्थ जान्छन्
त्यही परिवारबाट हेपिएका वृद्ध- वद्धाहरू
घर छाडी वृद्धाश्रम जान्छन्
कोही आफू बाँच्न अरूको
अङ्ग प्रत्यङ्ग किन्छन्
गरिबहरू पेट भर्नकै निम्ति
आफ्नो अङ्ग प्रत्यङ्ग बेच्छन्
लौ हेर
मान्छे मान्छेमा विभेद कति छ?
मान्छे मान्छेमा असमानता कति छ?
मलाई लाग्छ
अमूल्य मानवता बाँची रहोस्
जून विनाको रात नहोस्
फूल हो भने
फूलै फूल होस
काँडा कतै नहोस्
यति सुन्दर मानव फूलबारीमा
केवल कोमल सहृदय भएका
मान्छे मान्छे मात्र होस
विभेद गर्ने जान नहोस्
यति सुन्दर मानवता च्याती रहने
असहायहरूलाई थिचोमिचो गरी रहने
अन्धो धर्म नहोस्, अन्धो संस्कार नहोस्
मानवताको कोमल ऐना
झऱ्याम् झुरुम फुटाइ रहने
वैमानस्यता केही नहोस्
मानवता
मान्छे मान्छेमा रही रहोस्
मान्छे मान्छेमा रही रहोस्।