अतीतसितको दूरत्व

नैना सुब्बा बराईली
दिल्ली

खै कता कता, के के बाट
उन्मुक्त हुन सकेन यो जीवन !!
आफैलाई पिछा गर्दै….
अतीतका पाइलाका डोबहरूले
चिच्याइ चिच्याइ बोलाउँछन्,
सञ्चोले बाटो हिँड्न सकिँदैन
पटक पटक पछि फर्किनु बाध्य हुन पर्छ,
म र अतीतबिच दूरत्व कोरिँदै छ
यो टाढिएको अतीतले मलाई
एक निर्मोहीले जस्तो
चट्ट माया मारेर भुल्न सकेन
भुसुक्कै बिर्सिनु सकेन
हो, मलाई मेरो अतीतको
औधी माया छ;
अहँ म विश्वासघात गर्न सक्दिनँ यसलाई
यही मेरो वर्तमानको धरातल हो
यही मेरो उभिने ठाउँ हो
अतीतसितको दूरत्वभित्र
न्याय नपाएका
कतिपय क्षणहरू पनि छन्
जसको स्मरण मात्र गर्दा
गहहरू निथ्रुक्क भिज्छन्
थोपा भएर तप् तप् चुहुन्छन्
निकै अघिल्लो थुम्कोमा आइपुगेछु अब त
तर मलाई भेट्न पछि पछि दगुर्दै
स्याँ स्याँ हुँदै आउँछ अतीत
पछि फर्केर म हेर्छु, देख्छु
तर स्पर्श मात्र पनि गर्न सक्दिनँ
अङ्गालोमा कस्न सक्दिनँ
यो जनमभरिको माया भएर पनि
आँसुका थोपाहरूले
पटक पटक ब्युँझाएर
भुल्नै दिँदैन व्यथाहरू
देख्न नसकिने चोटहरू
दुखिरहन्छन् मुटुभरि
यो आँसु पानी मात्र कहीँ हो र !
एउटा सिङ्गो कालखण्ड
यसले पिठ्यूँमा बोकेर ल्याएको छ,
यसैले यो अतीतसितको दूरत्व मलाई
कता कता दुखिरहन्छ
कसैले नदेख्ने गरी
कसैले नसुन्ने गरी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *