सम्बन्ध विच्छेद

प्रज्वल अधिकारी
नेपाल
सब थोक छ घरमा
उनी छिन्
म छु
सन्तान पनि छन्
तर हामीहरू छैनौँ
विवाह छिनेको दिन
एक अर्काको आँखामा हेरेको तस्बिरमा
भविष्यको कल्पना सहित मुस्कुराएका ओठहरू छन्
तर यति बेला भने- किट्किटाइरहने दाँत मात्र छन्
हामीहरू एक अर्कासँग बस्न चाहेनौँ
तर,
औँलालाई माला लगाएर बसेका औँठीहरू औँलामै छन्
बिहे छिनेको दिन लगाएको सिक्री घाँटीमै छ
हामीले एक अर्कालाई निस्केर जा भने पनि
निकाल्न सकेनौँ यी तमाम चिजहरू
स्वयंवरमा हामीले
एक अर्कालाई लगाइदिएको दुबोको माला
सिसाको फ्रेममा जीवितै छ
तर भएको छ-
हृदयको न्यानोमा बसेको हाम्रो प्रेम- चिसो
दाइजोमा ल्याएको टिभीले- सम्बन्धका कहानी सुनाउँदा
को पहिला रिमोर्टको गला दबाउने प्रतिस्पर्धामा हुन्छौँ
त्यति बेला हाम्रा आँखामा क्रोधको आगो बल्छ
यो आगो त्यो आगो होइन
जुन आगो जग्गियामा बलेको थियो
र बलेको थियो हाम्रा आँखाको ऐनामा
दाइजोमा आएको खट्कुलो
जहाँ हाम्रा गोडा सँगै बसेर नुहाएका थिए
आज ओभानो भएर घोप्टिएको छ
तर भिजेका छन् हरदिन आँसुले- गोडाहरू
यो चरेसको थाल
जहाँबाट जुठो खुवाउँदा मण्डपमा फैलिएको हाँसो
आज त्यही थालभित्र रोइरहन्छ कोही
उनलाई बोकेर ठाउँ सार्दा
मैले सोधेथेँ बिझायो कि अक्षताले ?
आज एक ठाउँबाट अर्को ठाउँ पछार्दा
म किन यति क्रूर भइरहेछु ?
सिन्दूर हालेको सिउँदो
अरूले देख्लान् भनेर छोपेका थिएँ माइतीले
तर आज उनले
मैले पनि नदेख्ने गरेर अन्तै कोरेपछि सिउँदो
उनी किन यति निष्ठुर भइरहेछन्?
बिहेको दिन हामीले खिचेको तस्बिर
फ्रेम भित्र उसैगरि हँसिलो मुद्रामा बसेको छ
तर छैन
घरको फ्रेमभित्र उसैगरि मुस्कुराएका अनुहार
बिहेको दिन बजेको पञ्चेबाजा
र आजभोलि बज्ने भाडाहरू
बिहेको दिन गाइएको रत्यौली
र आजभोलि गरिने गालीहरू
बिहेको दिन बजेको ताली
र आजभोलि बज्ने गालाहरू
बिहेको दिन सात फेरो लिँदा भएको अघिपछि
र, आजभोलि एक अर्कालाई लखेट्दाको अघिपछि
समयका भित्तामा
हामी एक भएका प्रमाणहरू टाँगिएका छन्
हृदयको कुनामा हामीले छोएका स्पर्शहरू छन्
मनको दराजमा हाम्रा मायाका खातहरू छन्
सम्झनाको स्यामस्वेत चौतारीमा हाम्रा बिसौनीहरू छन्
तर वर्तमान
देखावटी दुनियाँको प्रमाण नष्ट गर्न लागिपरेको छ
छोरो तेरो कि मेरो ?
छोरी मेरो कि तेरो ?
कति सम्पत्ति भाग लगाउने ?
गाउँको घर तेरो सहरको मेरो
कानुनका पाना पल्टाइरहेछ समय
र खोजिरहेछ- के के छन् आधार छुटाउन मिल्ने
घरको, मनको, समाजको, सन्तानको, तिम्रो
म ज-जसको अनुहार हेर्छु
हाम्रो सम्बन्धको प्रमाण भेट्छु
र सायद तिमी पनि…..
जीवनको कुनै पनि कालखण्डमा
अपरिचित जस्तो व्यवहार गर्न सक्छ्यौ- मसँग ?
र के म
तपाईँको शुभ नाम के भनेर सोध्न सक्छु ?
तिमीसँग जोडिने सम्बन्ध
र मसँग जोडिने सम्बन्धमा पनि
हामी बाँचिरहेका हुन्छौँ भने
यो कस्तो सम्बन्ध विच्छेद हो ?
जो आफै सम्बन्धसँग विच्छेद भएर बस्न सकेको छैन !

Leave a Reply

Your email address will not be published. Required fields are marked *