खस्कँदो भाषा-संस्कृतिप्रति हाम्रो दायित्व

गङ्गा लामिटारे 
ओहायो, अमेरिका

भाषा कुनै पनि जातिको अस्तित्व हो । पहिचान हो अनि स्वाभिमान पनि ।  भाषा यस्तो कडी हो जसले परिवारलाई  जोडेर राखेको हुन्छ । समाजलाई बाँधेर राखेको हुन्छ । जब भाषा कमजोर हुँदै जान्छ अनि सामाजिक एवं सांस्कृतिक मूल्यहरूको क्षयीकरण हुँदै जान्छ । अनि बिस्तारै पहिचान र अस्तित्वको सङ्कट गहिरिएर  जान थाल्छ ।  जसको उदाहरण हो  पुनर्वासपछि  देखिएको भाषिक एवं सांस्कृतिक मूल्य र मान्यताप्रति समुदायको उपेक्षा भाव र खसकंदो चिन्तन ।

यद्यपि  भाषाकै कारण देशबाट विस्थापित हुन बाध्य   समुदाय पुनर्वासपछि त्यही भाषा र संस्कृतिप्रति उदासीन र अनुदार बन्छ भन्ने सायद कसैले सोचेको थिएन । तर भाषाका लागि पुनर्वासपछिको स्थिति बिलकुलै उदासीन र निष्क्रिय बन्यो ।

पुनर्वासपछि भाषाप्रतिको अवधारणा पनि एक छैन । फरक फरक सोच र चिन्तन विकसित भएको छ ।   केही मानिसहरू भाषाको जर्गेना गर्नुपर्छ भनेर चिन्ता त गर्छन् । भावुकता प्रकट गर्छन् । तर व्यवहारमा तदारुकता देखाउँदैनन् । केही सचेत वर्ग नेपाली पढ्नुपर्छ भनेर केही अनलाइन कक्षाहरू पनि सञ्चालन गर्दै छन् ।  तर त्यो पनि सबैका लागि सहज र सुलभ हुन सकेको छैन ।

नेपाली सिकाउने भनेको आमा-बाबुले हो । गफ-गाफ गर्दा, धेरै मानिसहरू छोरा-छोरीलाई नेपाली सिकाउनु पर्छ त भन्छन् तर सिकाउने प्रयास गरेको देखिँदैन । गफ मात्रै गर्छन् । केही सजग मानिसहरूले बेला-बखतमा नानीहरूलाई नेपाली सिकाउने प्रसङ्ग निकाल्छन् तर थोरै मानिसहरूले मात्रै त्यसमा सहमत जनाउँछन् । कतै कतै नेपाली कक्षा पनि सञ्चालन गरिएका छन् । तर त्यहाँ नानीहरूलाई पुर्‍याइँदैन । भाषाप्रति चासो गर्ने अभिभावककै कमी देखिन्छ । अब नेपाली किन सिक्नु र पढ्नु भन्नेहरूकै सङ्ख्या ठुलो छ,समाजमा । अङ्ग्रेजीमा दक्ष हुनु एउटा कुरा हो । तर आफ्नै भाषा नजान्नु भनेको आफै हराउनु हो । नेपाली हुनलाई नेपाली जान्नै पर्छ र ?  नेपाली भाषाको औचित्य के छ र यहाँ ? भन्ने प्रश्नहरू, धेरैको  छ । हो, नेपाली हुनलाई नेपाली जान्नु पर्छ । मान्छे सन्तान र खुनले आफ्नू हुन्छ भन्ने सामाजिक धारणा छ, तर त्यो सत्य होइन । मान्छे, साइनो-सम्बन्ध र खुनले नभई, उसले बोकेका मान्य-मूल्यहरुले, उसका विचारले, आफ्नो हुन्छ । ती विचारहरू मिल्दासम्म मात्र आफ्नो रहन्छ । मान्य-मूल्यहरू फरक भई सकेपछि उ आफ्नो रहँदैन । कसैले नेपाली बोल्दैन, नेपाली खाना खाँदैन, नेपालीहरूको जस्तो उसको विचारै मिल्दैन, आफू नेपाली भएकोमा गर्व गर्दैन भने उ नेपाली कसरी हुनसक्छ  ? भन्ने आम प्रश्न  समाज शास्त्रीहरूको छ ।

हो, समाजको सेवा गर्नु भनेकै त्यस समाजका मान्य-मूल्यहरू बचाई राख्नमा कुनै योगदान गर्नु हो । समाजमा ह्रास हुँदै गएको आफ्नो संस्कृति, धर्म, भाषा, भूषा, परम्परा, रहन-सहन, सामाजिक सौहार्दवरताका लागि हामी भावी पुस्तालाई दोष थोपर्ने गर्छौँ । जान्दैनन्, सिकेनन्, गरेनन्, छोडे, मान्दैनन्, इत्यादि गन्थन मात्र गर्छौँ । अनि आफैँले नगरेको, नसिकाएको र सही संस्कार दिन नसकेको कारणबाट त्यो परिस्थिति आएको जिम्मेवारी लिनु चाहिँ  कोही पनि चाहँदैन । कहाँ गल्ती भयो? अब कसरी सुधार्न सकिन्छ भनेर सोच्नु पर्ने हो । तर त्यसप्रति न चिन्ता छ न कुनै चासो नै ।

केही भाषा साहित्यको संरक्षणको नाममा वैश्विक अभियानहरूको नाममा वर्षेनि मिलियन डलर बगिरहेको छ ।  तर पनि  ती अभियानहरू समुदायका लागि प्रभावकारी र लाभदायक सिद्ध हुन सकेका छैनन् । अमेरिकामा पानी पर्दा बैङ्कमा  छाता ओडेजस्तो  छ,हाम्रो भाषा संस्कृति संरक्षणको अभियान  । काम कुरो एकतातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तो ।

पुनर्वासपछि जन्मिएको  जुन नयाँ पुस्ता छ त्यो नेपाली नै बोल्न जान्दछ न संस्कृतिप्रति नै उन्मुख छ  ।  नेपालमा एसएलसी गरेर पुनर्वासमा आएको दोस्रो ठुलो पुस्ता छ । जुन पुनर्वासमा मरेर हाई स्कुल सकेर वायर हाउसमा काम गर्दछ ।  जसको न नेपाली भाषाको गहिरो अध्ययन छ न अङ्ग्रेजी भाषाको नै ।  वार्यहाउसमा लिड र सुपरभाइजरको पदमा सीमित छ। उ न भाषाको महत्त्व जान्दछ न सामाजिक मूल्य र मान्यताप्रति नै सचेत छ ।  उसलाई न समाजको चिन्ता छ न सांस्कृतिक मूल्यहरूको नै । आफ्नैपनमा रमेको यो पुस्ता सप्ताहमा ५ दिन डटेर काम गर्छ । अन्य दुई दिन  बिदामा  घुम्छ र रमाउँछ । त्यसबाहेक उसलाई न सामाजिक चासो छ न सांस्कृतिक चिन्ता नै । तर पनि  यो पुस्ता सबै समस्याबाट  मुक्त भने छैन । रक्सी, मादक पदार्थको सेवन र दुर्व्यसनको कारण यो वर्ग अस्तव्यस्त छ । गृहकल,डिभोर्स र पारिवारिक विखण्डनको समस्याबाट आक्रान्त छ । मानसिक तनाव र गहिरो डिप्रेसनमा  चुर्लुम्म डुबेको छ । यस वर्गका  अधिकांश युवाहरूको वास अहिले कि त सुधार केन्द्रमा छ र कि जेलमा  छ ।

हाम्रो समुदायमा अर्को एउटा त्यस्तो पुस्ता छ जो जहिले आफूलाई मात्र सर्वेश्वर ठान्ने र मान्ने गर्छ । भुटानमा केही कक्षासम्म पढेको, देशबाट विस्थापितपछि क्याम्पका स्कुलमा प्रवेशिका उत्तीर्ण गरेर स्थानीय बोर्डिङहरूमा जागिर खोज्दै हिँडेको  अनि तेस्रो देश पुनर्वासको कार्यक्रमको प्रलोभनले पुनर्वासमा आएको । पुनर्वाससित भुटानी समुदायै शिक्षित र दीक्षित समूह हो यो । उतै स्नातक तहसम्म अध्ययन गरेको यस समूहका युवाहरू कमैले मात्र यता आएर उच्च शिक्षा हासिल गर्ने हिम्मत गरे  ।  अधिकांश युवाहरूले विश्वविद्यालय गएर उच्चशिक्षा हासिल गरेर बौद्धिकता बिस्तार गरेर समय बरबाद गर्नुभन्दा बरु व्यापार-व्यवसाय गरेर आर्थिक समृद्धिको सपना साकार गर्नतिर लागे । छोटो समय मै व्यापार व्यवसायको क्षेत्रमा उत्साहजनक प्रगति  गरेर समृद्धि पनि कमाए । छोटो समय मै सफल उद्यमी बनेर चर्चित पनि भए र केही हुने क्रममा छन् । समाजमा उद्योगहरू खोलिनु र ती उद्योगहरूले आर्थिक समृद्धि हासिल गर्नु समुदायका लागि गौरवको कुरा हो । तर समुदायलाई नै माध्य बनाएर आर्जन गरेको कुल रकमको १० प्रतिशत पनि समुदायको हित र उन्नतिमा प्रयोग हुँदैन भने  त्यस्ता व्यापार र व्यवसाय सञ्चालन गर्नुको न कुनै औचित्य नै छ सान्दर्भिकता नै ।  उद्यमी र व्यवसायीहरूले  आफ्नै व्यवसायसँग जोडिएका मानिसहरूको मरू,मराउमा केही सीमित सहयोग र मुर्दाघाटको शुल्क तिर्दिनुबाहेक अन्य क्षेत्रमा सहयोग गरेको देखिँदैन । पुनर्वाससित समुदायभित्रै पनि थुप्रै समस्याहरू छन्  । भेला हुनका लागि एउटा साझा कक्षा छैन । सामुदायिक भवन छैन । भाषा र संस्कृति र पहिचान सम्बन्धी समस्या झन् गहिरिएर गइरहेको छ । केही  धर्म र संस्कृतिप्रति आस्था राख्ने मानिसहरूले धार्मिक र सांस्कृतिक केन्द्रहरूको निर्माण नगरेका पनि छैनन् तर आर्थिक सहयोगका अभावमा ती निर्माण योजनाहरू पुरा हुन सकेका छैनन् । सहयोगको पर्खाइमा छन् । त्यति र पनि उद्योगी  व्यवसायीहरूको ध्यान गएको छैन ।

समुदायमा वर्षौँदेखि भाषा,साहित्य सङ्गीतका क्षेत्रमा योगदान गर्ने व्यक्तिहरू नभएका पनि होइन । सङ्घसंस्थाहरू नभएका पनि होइनन् तर पर्याप्त स्रोत र साधनको अभावमा ती अभियानहरू प्रभाकारी बन्न सकिरहेका छैनन् । त्यतितिर न उद्यमीहरूको दृष्टि गएको छ न व्यवसायीहरूको नै । घरमा छोरा छोरी नेपाली बोल्दैनन्,संस्कार संस्कृति जान्दैनन् । आफ्नै छोराछोरीलाई भाषा,संस्कृति सिकाउनुको सट्टा अहिले अभिभावकहरू भाषा साहित्यको विश्व अभियान लिएर हिँडेका छन् ।  फाउन्डेसनको माध्यमबाट जस्तो लोकप्रियता र प्रशस्ति हासिल गर्ने अभियानमा जुटेका छन् । घरभित्रको समस्याहरूको हल गर्न नसक्ने हामी अहिले विश्वलाई जोड्ने अभियानमा जुटेका छौँ । साहित्य र संस्कृतिको नाममा विश्वलाई जोड्ने अभियानमा छॏ । ती अभियान आफैमा नराम्रा होइनन्  ।  राम्रो त्यो हो पहिला आफ्नै परिवारलाई सङ्गठित गर्ने र समुदयलाइ बलियो र मजबुत  गर्ने ।  जुन सुकै मानिसको टेक्ने धरातल भनेको समुदाय हो । समुदाय बलियो भए मात्र  अरूले पनि विश्वास गर्छ । आफ्नो वास्तविक धरातल बिर्सियो  भने त्यो बक्बास मात्र हुनेछ ।

दुर्भाग्य के छ भने समुदायको मेरुदण्ड मानिएको  यो तेस्रो वर्ग न कसैले भनेको मान्छ न कसैको सुन्छ ।  स्वयं आफूलाई नेता  सम्झन्छ । इतिहासकार र कलाकार पनि आफैँ ठान्छ । विद्वान र विज्ञता पनि आफैँ । प्रोफेसर पनि आफैँ । विचारक पनि आफैँ ।  समाज सेवी र  सर्वज्ञता पनि आफैँलाई ठान्छ । कुशल उद्यमी र परोपकारी पनि आफैँ । आफैँलाई कुशल उद्यमी र ठुलो व्यवसायी भएको गर्व गर्छ ।  समुदायको उन्नति र प्रगतिभन्दा जस्तो लोकप्रियता र  प्रशस्तिमा  जति सुकै आर्थिक बगाउनु परे पनि उ पछि हट्ने पक्षमा छैन  ।  सस्तो लोकप्रियता हासिल गर्न अहिले उद्यमीहरूमा होडबाजी नै चलेको देखिन्छ ।  कोही  भाषा साहित्यका नाममा ठुलठुला पुरस्कारहरू घोषणा गर्ने र घरघर बाँड्दै हिँड्ने प्रवृत्ति तेज भएको छ  । केही नयाँ दर्शन र सिद्धान्तको प्रचार र प्रसारको अभियान लिएर विश्व भ्रमण गर्ने । कोही  सङ्गीत र साहित्यको संरक्षण र प्रचार-प्रसारको नाममा वर्षे नि  हजारौँ डलरको खोलो  बगाइंदैछ ।   यो प्रवृत्ति आफैमा त्यति नराम्रो त होइन   । र  यसो भन्दैमा  पुरस्कार बाँड्नु र पैसा व्यर्थमा बगाउनु हुँदैन भन्न खोजेको पनि होइन ।  पहिला आफ्नै समुदायका भित्रका भाषिक,सांस्कृतिक र पहिचानसम्बन्धी समस्याहरूको समाधानका लागि आर्थिक लगानी गरौँ  । हाम्रो भाषा संस्कृति अर्काले बचाइदिने होइन । आफैले बचाउनुपर्छ । त्यसका लागि सचेत र सजग हौँ भन्न खोजेको हो । भाषा र संस्कृतिको माग गर्दा देश छोड्न बाध्य हुनुपरेको विगतलाई पनि स्मरण गरौँ । र  नेपाली  भाषा र संस्कृतिको पुस्तान्तरणको अभियानप्रति सजग र सचेत हौँ भन्न खोजेको मात्र हो । बिर्सिएको ज्ञान पुनः पढेर प्राप्त गर्न सकिन्छ । गुमेको धन सम्पत्ति पनि पुनः आर्जन गर्न सकिन्छ ।

हराएको प्रियजनलाई खोजेर पुनः भेट्न सकिन्छ । तर एक पटक विस्थापित भइसकेको भाषा र संस्कृतिलाई  पुनर्स्थापित गर्न हजारॏ वर्ष लाग्न सक्छ । त्यसैले अझै अवशेष बाँकी छ । सबै भएर  भाषा र संस्कृति बचाऊँ भन्ने आग्रह हो यो । भाषा संरक्षणका लागि वर्तमान चल्दै गरेका जे जस्ता अभियानहरू छन्, तिनीहरूलाई सकेसम्म आर्थिक सहयोग गरौँ  । नभए वैचारिक सहयोग गरौँ  । जो समाज सेवामा निस्वार्थ लागेका छन्  । जो भाषा संस्कृतिको संरक्षणका लागि खटेका छन् । जो लेखक र सर्जकहरू छन् । जसले हाम्रो इतिहासहरू लेखेका छन् । तिनीहरूलाई सकेसम्म आर्थिक सहयोग गरेर प्रोत्साहित गरौँ ।  जो समुदायको मुद्दाका लागि न्यायिक सङ्घर्ष गरेका छन् र गर्दै छन् । त्यस्ता व्यक्तित्वहरूको पहिचान गरी सम्मान गर्ने तर्फ सबैको ध्यान जाओस्  भन्ने कामना मात्र गर्न खोजेको  हो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *