समापन
सपना होला सायद,
सपना नै हुनुपर्छ।
उनीसँग स्वर्गमा अचानक भेट भयो
विचलित म थिएँ, उनी प्रसन्न देखिन्थिन्
आफूलाई सम्हाल्ने चेष्टा गरेँ मैले
उनी भने यसै मुस्कुराइन्।
केही सोधौँ भनी के आँटेको थिए
“कस्तो हुनुहुन्छ, द्वारकानाथ?” – भनेर उनले सोधिहालिन्
असमञ्जसमा परेँ म, के भन्ने के नभन्ने !
जसले मलाई कन्हा-कन्हा भनेर सधैँ सम्बोधन गर्थ्यो
आज उसले मलाई “द्वारकानाथ” सम्बोधन गर्दा
मन भित्र – भित्रै कुँडियो
तरै पनि आफूलाई जसो तसो सम्हालेँ।
म त तिम्रा लागि आज पनि कन्हा नै हु
तिमी किन यसो भन्छौ?
आऊ सँगै बसौँ
तिमी केही तिम्रो सुनाऊ
म केही मेरो भन्ने छु।
साँच्चै भनौँ – मेरा आँखामा सधैँ आँसु आउँछन्
जब जब तिम्रो याद आउँछ।
मलाई त यस्तो कहिल्यै भएन- उनले कडक जवाफ दिइन्
न तपाईको याद आयो, न त आँसु नै आए
किन कि मैले तपाईँलाई कहिल्यै बिर्सिन
याद आउनलाई त बिर्सनु पर्यो नि, होइन र?
यी आँखामा सधैँ तपाई रहनुभयो र अझै हुनुहुन्छ
आँसु आएर बगाई लाने डरले म कहिल्यै रोइन पनि।
प्रणयघात पछि तपाईँले के गुमाउनुभयो
ऐना देखाउन चाहन्छु म।
मन धेरै खल्लो भयो
नमरी मरे जस्तै भयो।
उनी थप्दै गइन –
दस औँलामा चल्ने बाँसुरीलाई भुलेर
एक औँलामा चल्ने सुदर्शन चक्रलाई भरोसा गर्नुभयो
गोवर्धन पर्वत उठाएर सबैको रक्षा गर्ने
आज सुदर्शन चक्रले विनाश गर्ने हुनुभएको छ
प्रणयघात पछि तपाईका औलाको यस्तै रङ्ग बदलेको छ
कन्हा भइरहे तपाई सुदामाकै घरमा हुनुहुन्थ्यो
सुदामा तपाईको घर जानु पर्थेन।
तपाई प्रेमदेखि टाढा हुनुभएको छ
युद्ध र प्रेममा यही त फरक छ
युद्धमा अरूलाई मेटाएर जितिन्छ
प्रेममा आफैँलाई मेटाएर जितिन्छ।
तपाई त धेरै कलाहरूका स्वामी हुनुहुन्छ
दूरदर्शी, जो गीता जस्तो ग्रन्थको दाता हो
तर तपाईले यो कस्तो निर्णय लिनुभयो?
आफ्ना सबै सेना कौरवलाई सुम्पिएर
आफू चैँ पाण्डवको पक्षमा लाग्नु भयो
राजा त पालक हुनुपर्ने होइन र?
सेना तपाईका प्रजा थिए
रक्षक हुनुपर्ने तपाई त उनका
तर के भयो?
तपाई जस्तो महाज्ञानी एउटा रथ चलाइरहेथ्यो
अनि त्यही रथमा बसेर अर्जुन
तपाईकनै प्रजा मारिरहेथे
तपाईलाई अलिकति पनि करुणा जागेन??
मलाई थाहा छ किन जागेन
किन कि तपाई भित्रको प्रेम मरिसकेको थियो
शून्य भइसकेको थियो।
यदि तपाई आज धर्तीमा जानुभयो भने
युद्धवाला द्वारकानाथलाई भेट्टाउनुहुने छैन – कहीँ पनि
हरेक घरमा, हरेक मन्दिरमा
तपाई आफूलाई मेरै साथमा पाउनु हुनेछ।
तर एउटा अचम्मको कुरा
गीतामा कहीँ कतै पनि मेरो नाम लेखिएको छैन
तर गीताको समापनमा
हरेक सबैले “राधे-राधे” भनेको सुनिन्छ
किन होला?