अस्तित्ववादः जीवनबोधको प्रश्न
भक्त घिमिरे
अमेरिका
रायन नदीको पुलबाट जर्मनको वर्दी पहिरेका सिपाहीहरु फटाफट् फ्रान्सतिर ओर्लन थाले । आफ्नो देशका सिपाहीसित नमिल्ने अनौठो पहिरनका मान्छे देखेपछि रायन नदीको छेउमा लुगा धुँदै गरेकी धोबिनी बज्यै पुलमाथि चढिन् । तिमीहरुको को हौ? भनेर जर्मन फौजलाई सोधिन् । उनीहरुले भने, ‘हामी जर्मन हौं । फ्रान्सले सिमानामा खडा गरेको म्याग्नोइट लाइन् हामीले तोडिसक्यौं । अब फ्रान्स पनि हाम्रो अधीन भइसक्यो ।’
यति कुरा सुनेपछि धोबिनी बज्यैलाई सही नसक्नु भयो र उनले ढुंगा टिपेर जर्मनहरुलाई घोऱ्याउन थालिन् । उनी भन्दैथिइन्,“तिमीहरुले फ्रान्सेली सेनालाई हरायौ होला । तर, फ्रान्सका जनतालाई तिमीहरुले कहिल्यै जित्ने छैनौ । फ्रान्स कहिल्यै तिमीहरुको अधीन हुनेछैन । फ्रान्सेली जनताले तिमीहरुलाई गल्ली गल्लीबाट लखेट्ने छन् ।”
धोबिनी बज्यैले हानेका ढुंगा लागेर अनेकौं जर्मनहरू घाइते हुनथाले । तर म्याग्नोइट लाइन तोडेको अहंकारमा रमाइरहेको जर्मन सेना एउटी धोबिनी बज्यैको बन्देजले छेकिने थिएन । एउटा जर्मनले बन्दुक सोझ्याएर ठ्याङ ठ्याङ गोली हान्यो । निहत्था धोबिनी बज्यैलाई ठहरै पाऱ्यो ।
यता म्याग्नोइट लाइन् जस्तो बलियो पर्खालको भरोसामा फ्रान्सेलीहरु ढुक्क थिए । कुनै पनि शत्रुदेशले म्याग्नोइट लाइन् तोडेर फ्रान्समा प्रवेश गर्नै नसक्ने विश्वास लिएका फ्रान्सेलीहरुलाई जर्मनद्वारा त्यो लाइन् तोडिएको खबरले आतङ्कित बनाएको थियो । आफ्नो कमजोरीप्रति आत्मग्लानी गर्दै बेइज्जती खप्न नसकेर म्यागनोइट लाइन् निर्माण गर्ने सैनिक जेनरल म्याग्नोइटले आफैं गोली हानेर देहत्याग समेत गरे । फ्रान्सको त्यो सुरक्षा-पर्खाल निर्माण उनको सक्रियतामा भएकाले उनकै नामबाट पर्खालको नामाकरण गरिएको थियो ‘म्याग्नोइट लाइन् ।’
रायन नदीको पुल तरेर जर्मनहरु फ्रान्स प्रवेश गरेको भोलिपल्ट सबै फ्रान्सेलीहरुले स्थानीय अखबारमा धोबिनी बज्यैको उत्सर्ग-कथा पढे । जर्मनहरुसँग लड्दा लड्दै धोबिनीले जीवन नै अर्पण गरेको घटनाबाट फ्रान्सेलीहरु उद्वेलित भए । आफ्नो देशको अस्तित्वप्रति धोबिनी बज्यैको समर्पण र उत्सर्गले हरेक फ्रान्सेलीमा उर्जा भरिदियो । अखबारमा धोबिनीको कथा पढेका हरेक फ्रान्सेलीहरु घर-घरबाट लट्ठी-मुंग्री, घरेलु हतियार लिएर निस्के…एकाएक जर्मनहरुमाथि जाइलागे । हेर्दा हेर्दै म्याग्नोइट लाइन् तोडेको तीन महिना नपुग्दै जर्मनहरु फ्रान्स छोडेर भाग्न बाध्य भए । फ्रान्स फेरि जर्महरुबाट मुक्त भयो ।
फ्रान्सले स्वतन्त्रता पाएपछि यूरोपभरि धोबिनी बज्यैको कथाको चर्चा चुलियो । रायन नदीको बगरमा लुगा धुने धोबिनी बज्यै को थिइन् भनेर खोजी हुनथाल्यो । हरेक धोबी टोलहरुमा जाँचबुझ गर्दा पनि कतै धोबिनी बज्यैको तथ्य भेटिएन । तथ्य खोज्नेहरु अन्तिममा त्यो कथात्मक खबर प्रकाश गर्ने अखबारका सम्पादकसम्म पुगे । त्यहाँ पुगेपछि बल्ल थाहा भयो-त्यो त फ्रान्सेलीहरुलाई जगाउन सम्पादक स्वयंले लेखिदिएको काल्पनिक कथा पो रहेछ । अर्थात् धोबिनी बज्यै, सम्पादककी काल्पनिक पात्र । ती सम्पादक थिए फ्रान्सेली अस्तित्ववादी दार्शनिक जीन-पल-सार्त्र !
सार्त्रको दृष्टिचेतना विचित्र किसिमको थियो । उनको एउटा दृष्टान्त अनुसार मानवको भावनात्मक उद्वेग अज्ञानतावश भ्रमहरुले मोहोरेको छ । मानौं एउटा झीलको सामुन्ने तपाईँ आफूलाई संसारमा सबैभन्दा राम्रो वा राम्री लाग्ने मान्छेसित शित्तल हावामा बसिरहनुभएको छ । तपाईँहरु एकार्कामा प्रेमालापपूर्ण अङ्कमाल गर्दै हुनुहुन्छ । त्यहीबेला तपाईँ झल्याँस्स हुँदै सोच्नथाल्नु भो-यो त एउटा मांशपिण्डमात्र हो । यो मैले अङ्कमाल गरिरहेको मांशपिण्डभित्र नशाहरु छन्, हड्डीको कंकाल छ, रगतको भल बगिरहेको छ । यसभित्र दिशा-पिसाबजस्ता दुर्गन्धित वस्तुहरु पनि छन् । पसिनाबाट उत्पादित अनेक किटाणु र फोहोर-मैला छन् । यति सोचेपछि पनि तपाईँलाई त्यो व्यक्तिसित अङ्कमाल गरिरहन मनलाग्छ ? अहँ-लाग्दैन । हो यस्तैखाले दृष्टिचेतनाका उत्पादक थिए सार्त्र ।
संयोग कस्तो पऱ्यो भने, सार्त्र फ्रान्सेली नागरिक थिए । तर, उनका गुरु थिए जर्मन अस्तित्ववादी दार्शनिक फ्रेडरिक नित्शे । अलग अलग देशका नागरिक भएर पनि, दुइ देशबीच शत्रुता भएर पनि यी गुरु-चेलाको सम्बन्धचाहिं सर्वदा मुलायम थियो ।
यति पढिसकेपछि पाठकहरुलाई लाग्न सक्छः अस्तित्ववाद भनेको के हो ? जसले आफू हुनु र नहुनुको पार्थक्यबारे चिन्तन गर्छ-हो त्यो चिन्तनको शृङ्खला नै अस्तित्ववाद हो । अस्तित्व सरोकारको चिन्ता सबै प्राणीलाई हुन्छ । अथवा जसले आफूलाई अस्तित्ववादी भएको कुरामा अस्वीकार गर्दछ, त्यो स्वयं पनि अस्तित्ववादी नै हुन्छ । प्रकृतिले नै सबै प्राणी चेतनामा अस्तित्वरक्षाबारे सोच्ने स्नायुतन्तुहरू हालिदिएको छ । त्यसैले एउटा बाघ हिँडिरहेको गन्ध पाउनासाथ अरु कमजोर प्राणीका हाँचहरु तर्छिएर दगुर्न थाल्दछन् । मानिस पनि अन्य प्राणीजस्तै अस्तित्वविनाशको भयग्रस्त चिन्तामै बाँचेको छ ।
अस्तित्ववादी चिन्तनधारा सर्वप्रथम जर्मनीबाटै उदाएको हो । कुनै विचारधारा वा राजनीतिक दर्शनशास्त्रको पक्ष वा विपक्षमा, उहिलेदेखि आजसम्म जर्मनहरु धेरै अर्थले नायकत्वको भूमिकामा छन् ।
इतिहासको कुनै एक कालखण्डमा जर्मनी १६ वटा भागमा विभाजित थियो । जर्मनीको भूभाग चुँडेर पोल्याण्ड, स्वीडेन, स्वीटजरल्याण्ड, रुस, अष्ट्रिया, वेल्जियम, बेलायतलगायतका देशहरुले आ-आफ्नो कब्जामा राखेका थिए । जर्मन युवाहरु ईश्वर र भाग्यको भर परेर स्वतन्त्रता र मानवीय गरिमाको रक्षाबारे उदासीन रहेका नित्शेको निष्कर्ष थियो ।
इतिहासको कुनै कालखण्डमा हेगेलको ‘साइन्स अफ् लजिक’ (तर्क विज्ञान) र स्पिनोजाको Pantheism (सर्वेश्वरवाद)-को कारण अर्थात् समग्रमा ‘नियतिवाद’को प्रभावले ग्रस्त जर्मनी भाग्यको भरोसामा दिनदिनै समाप्त हुँदै’थ्यो ।
पौराणिक साहित्यमा मन्थराले रामका विरुद्ध रानी कैकेयीको कान फुक्न जाँदा रानीले उल्टै झपारेर फर्काउन खोजेपछि-‘राजा जोकोही भए पनि म दासीको भाग्यमा केही फरक अर्थ राख्तैन’ भनेर आफ्नो सीमा तोकेजस्तै त्योबेला जर्मन युवाहरुमा पनि चरम भाग्यभरोसाको लत बढेको थियो । पढाइ, नोकरी, राम्रो तलव-भत्ता, सुविधापूर्ण जीवनशैलीमा आकर्षित जर्मनहरु स्वदेश र स्वाभिमानचेतबाट टाढिँदै थिए । परतन्त्रले गाँजेर जर्मनीको अस्तित्व समाप्त पारेको यो अवस्थादेखि वैराग्गिएका नित्शे जर्मन स्वतन्त्रताको सपना देख्तै छट्पटाइरहेका थिए ।
ऐन मौकामा जर्मनीभरि हेगेलको तर्कविज्ञान र स्पिनोजाको सर्वेश्वरवादी सिद्धान्तविरुद्ध स्वच्छन्तावादी विचारधारा पैदा भयो । यही स्वच्छन्दतावादबाट अनेकौं विचारक तथा सिद्धान्तकारहरु निस्किए । यसै लहरभित्रबाट फष्टाएको एउटा दार्शनिक चिन्तन हो अस्तित्ववाद !
अस्तित्ववादी चेतनाको व्युत्पतिभन्दा पहिले संसारभरि अर्कै विश्वासपद्धति थियो । ‘धर्म’ नामक अनेक सांस्कृतिका मानिसहरु कुनै न कुनै हिसाबले ‘ईश्वर’बाट सजाय पाएर पापमोचनका लागि यो धर्तीमा मानिसको रूपमा जन्म लिनुपरेको हो भनेर विश्वास गर्दथे । जेनेसिसमा उल्लेख इशाई मतानुसार आदमले निषेधित बोटको फल खाएपछि सजायस्वरूप धर्तीमा पठाइएको हो ।
पूर्वीय दर्शनका शास्त्रहरुले पनि मिल्दाजुल्दा कुरा धेरै गरेका छन् । ऋषि वृहस्पतिका गाई चोरेको अभियोग लागेका अष्टवसुमध्ये गंगापुत्र देवव्रत (भीष्म पितामह) पनि श्रापकै कारण धर्तीमा बाँचेर महाभारतमा दूर्योधनको सेनापतिसमेत बनेका थिए । यसरी नै कामदेव, उर्वशीलगायत अनेकन पात्रहरु सजायस्वरूप धर्तीमा आएका प्रसंगहरु छन् । कुरा जे होस्, धार्मिक भनिएका सबैजसो सांस्कृतिक सिद्धान्तहरुले यो धर्तीलाई सपनाको बजार, अनित्य र दुःखहरुको सागर ठानेका छन् । इमान, प्रतिशष्ठा, आनन्द, सुख र खुशीका लागि सबैजसो मतहरुले उपरवालामा भर पर्नुपर्ने र उपरवालाकै कृपाले स्वर्ग वा वैकुण्ठमा आश्रय लिनुपर्ने दाबी गरेका छन् ।
यस्तो परनिर्भरतावादी चिन्तनका विरुद्ध मानिसलाई स्वतन्त्र, पूर्ण मानव बनाउने चेतना बिजारोपित गर्दै नित्शेले अस्तित्ववादी चिन्तनको विकास गराएका हुन् । त्यसो त रूसका फ्योदोर दोस्तोब्सकी, यूरोपका फ्राञ्ज काफ्का, अल्बेयर कामु, जीन-पल सार्त्रहरु पनि अस्तित्ववादी चिन्तनधाराकै दार्शनिकहरु हुन् । यद्यपि, ती सबैलाई यस चिन्तनको यात्रामा डोऱ्याउने प्रमुख पात्र नित्शे नै थिए ।
अघि नै नित्शेको प्रसंग उठिसकेकै छ । लागौं उनकै कुरामा । सन् १८६९ मा विद्यावारिधिबिना नै बसेल यूनिभर्सिटीमा प्रोफेशरको जागिर पाएका भूपू सैनिक फ्रेडरिक नित्शेले ‘ईश्वरको मृत्यु’ घोषणा गरेर जर्मनीको युवापुस्तामा देशप्रेमको भावना पल्लवित गराइदिए ।
त्यसपछि लगत्तै सन् १८७१ मा जर्मनीको एकीकरण पनि भयो । यति कुरा भएपछि यहाँहरुलाई अस्तित्ववाद र ईश्वरीय चिन्तनबारे थप चासो बढेको हुनुपर्छ । अस्तित्ववादीहरु ईश्वरीय चिन्तनका विरोधी हुन्छन् भन्ने भ्रम सर्वव्यापी छ । तर, नित्शेभन्दा पनि पहिले अस्तित्ववादको बिजारोपण गर्ने सोरेन किर्केगार्ड इशाई प्रचारक पनि थिए । पछि परिस्थितिवश यी विचारकहरु मौजुदा स्थिति अनुकूल परिवर्तन हुँदै गए र, अस्तित्ववादीहरू आफैं विभिन्न समूहमा बाँडिनपुगे । कुरो जे होस्, यसबारे अन्त्यतिर चर्चा गरिनेछ । अहिले मूल विषयमै केन्द्रित बनौं ।
अस्तित्ववादी चिन्तनधारा व्यापक बनिरहेकै समयमा भौतिक विज्ञानले पनि चरमोत्कर्ष चुम्न थालेको थियो । अथवा बोलीचालीको भाषामा भनौं, एकातिर भौतिक विज्ञानका साधकहरु विज्ञानले औजार निर्माण गरेपछि औजारकै भरमा मात्र मानिसले जीवन चलाएको दाबी गर्नथाले । भौतिकवादीहरु मानिसले बाँच्ने आधार नै विज्ञाननिर्मित यन्त्र हो भनेर दम्भ कसिरहेका थिए भने अर्कोतिर भाग्यवादीहरु ‘भगवान भरोसे’ नियतिको काखमा लम्पसार थिए । अर्थात्, समग्रमा जर्मन सामाजिक चेतना दिनदिनै यान्त्रिक-परतन्त्रबाट नियन्त्रित र परिचालित बनिरहेको थियो ।
विज्ञानको नाममा हौसिएका यान्त्रिक चिन्तकहरुलाई अस्तित्ववादीहरुले एकमुष्ट जवाफ दिएः ‘यदि यन्त्रले मानवीय संवेदनालाई दमन गर्दैछ भने त्यो ज्ञान पाएको दिन मानिसले सारा हतियारहरु ध्वस्त गरिदिनेछ । मानिस लाखौं वर्ष कुनै हतियारबिनै जीवन धानेर आएको छ; हतियार उसको जीवन सहज बनाउनका लागिमात्र उपयोगी छ । तर, मानिसलाई नै दमन गर्छ भने यो हतियारको कुनै प्रयोजन छैन, यसलाई ध्वस्त पारिनुपर्छ ।’ अस्तित्ववादीहरुबाट यस्तो अनपेक्षित प्रतिक्रिया आएपछि बारुद र औजारको बखान गरिरहेका वैज्ञानिकहरु त चुप भए । तर, ईश्वरको नाममा मौलाएको भाग्य-भरोसे चिन्तनमा कमी आएकै थिएन ।
यस्तो अवस्थामा विवेकी स्वाभिमानको हुटहुटीले पिरोलिएका नित्शेले एकदिन चमत्कार देखाए । दिउँसो विश्वविद्यालयको कक्षा छोडी उनी एक हातमा एउटा बलिरहेको लालटिन र अर्को हातमा झत्ताले बेह्रिएको पुत्ला बोकेर सडकमा निस्किए !
उनका विद्यार्थीहरुले नित्शेलाई सडकमा यसरी उभिएको देखेपछि सोधे,‘गुरुबा’ के भो, किन यसरी माझ सडकमा दिउँसै बत्ती बालेर उभिनुभएको ?’
नित्शेको चाहना नै विद्यार्थीले आफूलाई प्रश्न गरुन् भन्ने थियो । सहज उत्तर दिँदै उनले भने, ‘मेरा प्यारा विद्यार्थीहरु, तिमीहरुको भूमि- जर्मनीलाई विभिन्न देशहरुले खोसेर कब्जा गरिरहेका छन् । तिमीहरु भाग्यभरोसामा जिइरहेका छौ । तिम्रो भूमिलाई अब कसले मुक्त गराउँछ ? यही वास्तविकता खोज्न म दिउँसै बत्ती बालेर यो सडकमा निस्किएको हुँ !’
विद्यार्थीहरु पनि गुरुबा’सित संवादमा अघि सरे र यसको निर्णय ईश्वरलाई छोडिदिन आग्रह गरे । नित्शेले आफ्नो हातको पुतलामा आगो झोसेर भने, ‘यी, त्यो ईश्वरको मृत्यु भइसक्यो । तिमीहरुको ईश्वरलाई मैले जलाइदिएँ ।’
यति गरिसकेपछि नित्शेले फेरि जोड दिँदै भने,‘मरिसकेको ईश्वरले अब केही गर्नसक्तैन, तिमीहरुको जर्मनीलाई परतन्त्रबाट कसले मुक्त गराउँछ?’ उनको यो प्रश्नमा विद्यार्थीहरु सोचमग्न भए । यतिकैमा तिनीहरुमध्येबाट एकजना विद्यार्थी बोले,‘अब यो भूमिको मुक्तिका लागि हामी लड्छौं गुरुबा’, तपाइँ निश्चिन्त बन्नुहोस् ।’
त्यसको लगत्तै अर्को वर्ष जर्मनीको थप भागबण्डा गर्न सबै देशका प्रमुखहरु जर्मनीमा भेला भएका थिए । उनीहरुबीच जर्मनभूमिको भागबण्डामा कुरा मिलिरहेको थिएन । अन्तिम निष्कर्ष कसले देला भनेर उनीहरु मध्यस्थकर्ता खोजिरहेका थिए । तिनीहरुको सभाकक्षमा एक युवा तलवार हल्लाउँदै उभिएर भने, ‘जर्मनीको भूमिबारे निर्णय अब हामी गर्नेछौं । तिमीहरु जर्मनीको अस्तित्वबारे निर्णायक अख्तियारवाला हैनौ !’ यसरी सभाकक्षमै नाङ्गो तलवार लिएर भाषण गर्ने युवा देखिएपछि सबै देशका प्रमुखहरु भागे ।
यसरी सन् १८७१ मा जर्मनीको एकीकरण भयो र स्वतन्त्र जर्मन गणराज्यको स्थापना पनि सम्भव भयो । त्यो सभाकक्षमा तलवार लिएर उभिने विद्यार्थी ओट्टो वान बिस्मार्क थिए जसले आफ्ना गुरु नित्शेलाई निश्चिन्त रहन आस्वासन दिएका थिए । जर्मनीको एकीकरण र स्वतन्त्रतापछि बिस्मार्क त्यहाँका चान्स्लर पनि बने । बिस्मार्क त्यसपछि विश्वविख्यात नाम बन्यो ।
पूर्वमा ब्रिटिशहरुले भारतलाई स्वाधिनता प्रदान गरेपछि भारतको एकीकरण गर्ने लालबहादुर शास्त्रीलाई पनि पूर्वेली बिस्मार्क भनिन्छ । सन् १९४७ मा ब्रिटिशमुक्त भएपछि शास्त्रीले ५६२ वटा ससाना रजौटा राज्यहरु जोडेर विशाल भारत बनाएका थिए ।
पश्चिमेली अस्तित्ववादी दार्शनिकहरुमा सोरेन किर्केगार्ड, फ्रेडरिक नित्शे, हजेल बार्न्स, सिमोन दी बौवार, अल्बेयर कामु, कार्ल जास्पर्स, जीन-पल-सार्त्र, मार्टिन हाइडेग्गर, फ्योदोर दोस्तोब्सकीलगायत ५० भन्दा अधिक नामहरु छन् । तर, पछिल्लो कालखण्डमा सार्त्र, काफ्का, कामु र दोस्तोब्सकीले अस्तित्ववादी दर्शनको मूलस्तम्भ खडा गरे ।
यी मध्येमा मार्टिन हाइडेग्गरलाई नित्शेको अस्तित्ववादी चिन्तनको अपव्याख्या गर्दै हिटलरको नश्लवादी अन्धराष्ट्रवादसित घालमेल गराएको दोष लागेको छ । नित्शेको ‘सुपरम्यान’ थियोरीलाई दुरुपयोग गरी हिटलर नै नित्शेको सुपरम्यान भएको दाबी हाइडेग्गरले गरेका थिए जुन कुरा वास्तविक थिएन । नित्शेले जर्मनलाई विश्वको एकमात्र शुद्ध नश्ल भनेका थिएनन् । यहुदीहरुलाई घृणा गर्नु नित्शेको विचारविरोधी मत थियो । नित्शेको मतमा विश्वमा विद्यमान सबैखाले संस्कृति र नश्लमा ‘सुपरम्यान’ पैदा हुने विश्वास थियो । त्यसैले उनी भन्थे, “जर्मनहरुमा हुर्किरहेको यहुदीविरोधी मानसिकता विश्वकै लागि हानिकारक छ ।” हिटलरले आफूलाई इशाई मतावलम्बी बताउँथे तर, आफ्नो नश्ललाई उनी शुद्ध आर्य दाबी गर्दथे । उता नित्शेचाहिं इशाईहरूको बाइब्लिकल अन्धानुकरणलाई घृणा गर्दथे ।
त्यसो त हिटलरभन्दा पहिले, नित्शेभन्दा पनि पहिलेदेखि नै यहुदीविरोधी जर्मनहरु नभएका होइनन् । शोपेन हावर, रिचर्ड वाग्नरजस्ता दार्शनिकहरु नै यहुदीविरुद्धमा वकालत गर्थे । यहुदीहरुको विरोधमा लागेकै कारण वाग्नर र नित्शेबीचको दोस्ती भङ्ग भएको थियो । यहुदीहरुको विरुद्धमा लागेको विषयलाई लिएर नै नित्शेले आफ्नै बहिनी एलिजावेथसितको सम्बन्ध पनि तोडेका थिए ।
यतिसम्म कि यहुदीविरोधी व्यक्तिसित एलिजावेथले वैवाहिक सम्बन्ध बनाएको भनेर नित्शे उनको विवाहमा उपस्थितसम्म भएनन् । एक समय दक्षिण अमेरिकाको पाराग्वे भन्ने राज्यमा जर्मनहरुले एउटा छुट्टै कोलनी बसालेर शुद्ध जर्मन नश्लको विकास गर्ने योजना बनाए । एलिजावेथ र उनका श्रीमान पनि त्यही योजनामा पाराग्वे पुगेका थिए । तर, जर्मनहरुको सो योजना नराम्ररी विफल भएपछि उनीहरु सन् १९८९ मा जर्मनी फर्केर आए ।
त्यसबेला नित्शेको स्वास्थ्यस्थिति धेरै खराब थियो । उनी अर्धचेत भइसकेका कारण उनको रेखदेख गर्ने वहानामा एलिजावेथले उनका लिखतहरुलाई तोडमोड गरिन् । नित्शेका लिखतहरुलाई प्रकाशनमा ल्याउने भनेर उनले ‘नित्शे आर्काइभ’ नामको संस्थासमेत दर्ता गरेकी थिइन् । यहुदीहरुको विरुद्धमा रहेको व्यक्तिसित विवाह गर्नुमात्र नभई यहुदी नश्लको समाप्ति चाहने अभियानमा लागेको कुरालाई ‘कलंकित’ काम गरेको भनी नित्शेले आफूप्रति आलोचना गरी लेखेका लिखतहरु एलिजावेथले हटाइन् । सन् १९ सयमा नित्शेको देहान्त भएको थियो भने एलिजावेथको मृत्यु सन् १९३५ मा भएको थियो । अर्थात, पूरा ३५ वर्षसम्म एलिजावेथ, मार्टिन हाइडेग्गरलगायत हिटलर मिलेर नित्शेका सारा लेखनलाई आफ्नो हित अनुकूल बनाए । यही कारण, नित्शेलाई नाजी दलको सिद्धान्तकारका रूपमा औंल्याइयो । वास्तवमा नित्शे मृत्युको १९ वर्षपछि मात्र नाजी पार्टीको स्थापना भएको थियो । अझ भनौं नाजीहरुको सत्ता सन् १९३३ मा मात्र कायम भएको थियो । अर्थात्, नित्शेको मृत्यु भएको ३३ वर्षपछि सत्तामा पुगेका नाजीहरुले (मुख्यतः हिटलरले) नित्शेलाई पहिले त खास गन्ती गरेका थिएनन् । त्यसैले हिटलर भन्ने गर्थे ‘नित्शे इज नट माइ गाइड’ । तर, जर्मन जनताले नित्शेको दर्शनलाई अमूल्य ठानेको थाहा पाएपछि उनका लिखतहरुलाई काटछाँट गरी आफ्नो हित अनुकूल बनाउँदै लगे । नित्शेको ‘Will to Power’ लाई मिल्दोजुल्दो बनाएर हिटलरले ‘Triumph of the Will’ नामक प्रोपागाण्डा फ्लिम नै बनाउन लगाएका थिए ।
नित्शे वास्तवमा भेडो प्रवृत्तिको बगालिया मानसिकता मन पराउँदैन थिए । उनको मतमा कुनै पनि राजनीतिक दल भेडाहरुको बगाल हो भने त्यसो नेताचाहिं तिनै भेडामध्येको साँढ हो । सो मतमा हिटलर एउटा साँढ हो भने उनका सारा समर्थकहरु भेडाहरुको बगाल हो । यस्तो कडा टिप्पणी गर्ने नित्शेलाई कसैले नाजी दलको समर्थक, सदस्य भन्छ भने त्यो व्यक्ति अनपढ मूर्ख हुनसक्छ अथवा हिटलर मानसिकताको समर्थक ।
अब अस्तित्ववादी सिद्धान्तकार तथा दार्शनिकहरुमाथि लाग्ने आरोपको अर्को पाटो पनि थोरै केलाउँ । उनीहरुमाथि उग्रवाम समर्थक भएको लाञ्छना लाग्ने गरेको छ । तर, त्यो पनि पूर्ण सत्य भने होइन । यतिसम्म सही हो, सार्त्रले निकै लामो समयसम्म रुसको कम्युनिष्ट राज्यसत्तालाई समर्थन गरेका थिए । तर, लेनिनको राजनीतिक सल्लाहकारसमेत रहेका एम.एन. रोयले लेलिनको मृत्युपछि स्टालिनलाई साथ दिएनन् । उनले बरू रुस छोडे र, ‘रेडिकल ह्यूमनिजम’ भन्ने नयाँ सिद्धान्तको प्रतिपादन गर्दै संस्था खोलेर क्रियाशील भए ।
रोय अस्तित्ववादी सिद्धान्तकार वा दार्शनिकको रूपमा गनिएका थिएनन् । तथापि, उनको ‘रेडिकल ह्यूमनिजम’ अस्तित्ववादसित तादात्म्य राख्ने खालको सिद्धान्त थियो । रोय कुनै पश्चिमा देशका नागरिक थिए भने उनी पनि बडो दार्शनिक मानिनसक्थे । तर, भारतीय भएका कारण उनी लेनिनजस्ता विश्वप्रसिद्ध नेताको सल्लाहकार भएर पनि, ‘रेडिकल ह्यूमनिजम’ जस्तो मानवहितकारी सिद्धान्तको प्रतिपादक भएर पनि यसै ओझेलमा परे । उनको देहान्त पछि उनको रेडिकल ह्यूमनिजम पनि यतिकै बिलाएर गयो । कुरो जे होस्, अब अर्का अस्तित्ववादी दार्शनिकका बारेमा थोरै कुरा गरौं जसले लेनिनसम्म मौन रहेर स्टालिनको पालामा कम्युनिष्टहरुको विरोध गरे । उनी थिए अल्बेयर (अंग्रेजीमा अल्बर्ट) कामु । यही निहुँमा कामुले आफ्ना मित्र तथा गुरु जीन-पल-सार्त्रको कडा आलोचना गरे । स्टालिन रूसको राज्यसत्तामा हाबी भइसक्ता पनि सार्त्र उनीहरुको बलियो समर्थकका रूपमा अडिग थिए । तर, कामुले भने स्टालिनको धुवाँदार विरोध गरे ।
यहाँ निष्कर्षमा भन्न खोजिएको कुरो के भने अस्तित्ववादीहरु एक सिद्धान्तका पक्षधर भए पनि कुनै एउटा विशेष राजनीतिक दल र नेताको भाटगिरी गर्नतिर लागेनन् । केही जो लागे, उनीहरुले अस्तित्ववादलाई नजानिँदो हिसाबले तोडमोड गर्दै आफैं विस्मृतिको गर्भमा बिलाए, कोही बिलाउँदैछन् । अस्तित्ववादी चेतनाको पक्षधरताबाट उछिट्टिएका तिनीहरु कि स्टालिन, पोल्पोट, किंजोङ उनजस्ता उग्रवाम तानाशाह अथवा हिटलर-मुसोलिनीझैं उग्र-दक्षिणपन्थी पात्रहरुका पछि लागे जसले शुद्ध-नश्लको भूत नचाउँदै अन्धराष्ट्रवादको ढोल-नगरा बजाए र मानवहितको आदर्शबाट विसंगत, विचलित भए !
अब नित्शेका बारेमा छुटेको एउटा निष्कर्षको कुरा गरौं । वास्तवमा उनको नाम र दार्शनिक मतको दुरुपयोग हुनमा उनकै एउटा विचारलाई मुख्य जिम्मेवार ठानिन्छ । उनको त्यो मत थियो-‘सत्य वा असत्य वास्तवमा केही पनि हुँदैन । सत्य र असत्य केवल वाख्यामा आधारित छन् । सत्य सापेक्ष हुन्छ । कसैको लागि सत्य कसैको लागि असत्य हुनसक्छ !’ नित्शेको यही विचारमा टेकेर एलिजावेथ र हिटलरले उनको आदर्शलाई दुरुपयोग गरी आफ्नो हितको सत्यस्थापित गराएका थिए । हिटलर र एलिजावेथको त्यस अभियानमा मार्टिन हाइडेग्गरले सिफारिस गरिदिएका थिए ।
यी तमाम तथ्यहरुबाट एउटा निष्कर्षमा पुगिन्छ ताकि आफ्नो वैचारिक धरातलको सत्यतामा टेकेर जसले जीवनको यात्रा गर्न सक्तैन त्यसको अस्तित्व विनाशक हुन्छ । नित्शेलाई मन नपराउने, उनको सिद्धान्तप्रति घृणा गर्ने तर, उनको लोकप्रियतामा लोभिएर त्यसको उपयोग गर्ने हिटलरको कुत्सित चेतना खासमा अस्तित्ववादविरोधी थियो । मानवताविरुद्धको नश्लीय सोच थियो । जसको परिणतिमा ६० लाख यहुदीहरु ग्यास चाम्बरमा जल्नुपऱ्यो । तर, यति हुँदा पनि हिटलर र जर्मनीले केही पनि जितेनन् । पहिलो विश्वयुद्धसम्म विश्वमा ख्याति कमाएको जर्मनीले दोस्रो विश्वयुद्धपछि आफ्नो अस्तित्व विनाशको बाटो तय गऱ्यो । त्यसपछि नै बर्लीनको पर्खालदेखि जर्मनी विभाजनका प्रसंगहरु चले ।

अस्तित्ववाद अर्थात् नित्शे र सार्त्रेमात्र बुझ्ने हो भने भूटानमा 100% परिवर्तन हुन्छ। हेगेलको भगवान भरोसे आदर्श र हाम्रै पुर्वेली आदर्श जस अनुसार मान्छेलाई कठपुतली बनाउँछ, कसैले इचछानुसार नचाउँछ हाम्रो हातमा केही हुँदैन, सबै जन्मनु अगावै लेखिएको हुन्छ जस्ता यावत मान्ताहरुले मान्छेलाई वास्तवमै लघुमानव बनाएको छ। यस दायताबाट बाहिर ननिस्किएसम्म मुक्ति वा स्वतन्त्रता टाढाको कुरो हुनेरहेछ। स्वेच्छाले मान्छे दासता स्वीकारेर बस्ने रहेछन्।