हाम्रो कष्ट

कुबेर कुईकेल भुवानेटारे
अमेरिका

हाम्रो ठूलो रहर घरमा फिर्न मौका जुटाई
आशामा जो जहर भरियो देश नाका कटाई
आजादीमा फर फर हुँने प्वाँख जम्मै कटायो
आमा हाम्री धुरु धुरू रुँदा अश्रु सारा बिलायो

मौका हाम्रा अघि पछि थियो देश स्वाधीन गर्ने
आफ्नै आमा दिन दिन खुसी गर्न हाँसेर मर्ने
हाम्रा पुर्खा सडक पुलमा आज बोल्दै कराई
गोर्खालीको रगत नलिमा वक्ष ठूलो बनाई

माछालाई अलिकति पिठो आङ्कुसेमा झुलाई
हाम्रो मुद्दा लर बर भयो देश तेश्रो पठाई
रुँन्चे हाँसो जनगण सबै हाँस्न खोज्छन् विदेशी
बृद्धा माता तन मन सधैँ हाँस्न रोज्ने स्वदेशी

सप्ना बोल्दा हर घडि कतै देश घुम्दै रमेको
आखा खुल्दा जल भरि भयो कष्ट कस्तो परेको
माटो आमा जन धन दिने जन्म दाता उतैछन्
तिम्रो मेरो दिल मन लिने देश माता उतैछन्

पैसा भन्ने हर बखतमा दैनिकीको झटारो
आमा बाको घिड घिड सधैँ देश भुल्नै छ गाह्रो
बा आमाको अत दिनदशा खुल्छ संदेश लेख्दा
भित्री आँखा खट पट सँधैँ हाँस्नु पर्ने छ देख्दा

भाषा गारो अपरिचितको बुझ्न गारो समिक्षा
औधी गारो पल पल भयो जीन्दगीको परिक्षा
छोरा छोरी मद पद गए नष्ट नौलो जवानी
साना नाती पर पर भए आफ्नु भाषा नजानी

सेवा श्रद्धा हर पल गरौँ वृद्ध माता पिताको
आज्ञाकारी अमिट प्रतिभा ज्ञान यात्रा युवाको
लाला बाला अलमल नहुन् सिक्न भाषा भुषा त्यो
माया श्रद्दा अपठित नहोस् देश हाम्रो भनी त्यो

छन्द – मन्दाक्रान्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *