हिउँ : सौन्दर्य र अनुभूति

हिउँ : सौन्दर्य र अनुभूति

 

शिवलाल दाहाल
केन्टकी, अमेरिका

यस वर्ष भने हिउँको मात्रा सधैंभन्दा अलि बढी भएको अनुभूति भएको छ। अमेरिका आएपछि यति भारी मात्रामा हिउँ परेको दृश्य सायद मैले यसअघि देखेको थिइनँ । हिउँ त परेको होला, तर यति लामो समयसम्म थुप्रिएको थिएन कि भन्ने लाग्छ ।
हुन त म सानैदेखि हिउँसँग परिचित नै छु। परिचित यस अर्थमा कि-हिउँमै हुर्केर बढेको होइन, तर टाढैबाट भए पनि हिमालमा थुप्रिएको हिउँको रास देखेको हुँ। हाम्रो गाउँ म्यान देन्छुखाबाट दक्षिणतर्फको हिङ्खा डाँडामा परेको हिउँ र पश्चिमतर्फ दुम्ते पारि राँचे डाँडामा परेको हिउँ छर्लङ्गै देखिन्थ्यो। हिमालमा परेको मनमोहक हिउँको दृश्य असोज–कात्तिकदेखि झन्डै दुई–चार महिनासम्म मजाले देख्न पाइन्थ्यो।
हाट भर्न साम्ची बजार आउँदा पनि त्यहाँबाट टाढा कतै भारतको कञ्चनजङ्घा हो कि नेपालको कुनै हिमाल हो-सेताम्मे देखिन्थ्यो। पछि नेपाल आएपछि पाथीभरा दर्शन गर्न जाने क्रममा पहिलोपटक मैले हिउँको थुप्रो नजिकैबाट हेर्ने अवसर पाएँ। हामी पाथीभरा पुग्दा हिउँ परिरहेको त थिएन, तर अघि नै परेको हिउँका अवशेष भने यत्रतत्र थिए। तथापि, त्यहाँबाट देखिने हिमशृङ्खलामा हिउँ ड्याम्मै जमेको देखिन्थ्यो।
त्यसैगरी पोखरा जाने क्रममा माछापुच्छ्रे हिमालको हिउँले ढाकिएको सौन्दर्य नजिकबाट अवलोकन गर्ने मौका पनि पाएँ। गोरखा भ्रमणका क्रममा पनि हिउँले ढाकिएका डाँडाहरू राम्रैसँग देख्ने अवसर मिलेको थियो।
हिउँसँगको मेरो प्रत्यक्ष सम्बन्ध भने सन् २०१३ मा अमेरिका प्रवेश गरेपछि मात्रै सुरु भयो। २०१३ को नोभेम्बर महिनामा हामी केन्टकी राज्यको लुइभेल सहर आइपुगेको दुई दिनपछि नै हिउँ पर्न थाल्यो। त्यो वर्ष अरू वर्षको तुलनामा अलि बढी नै हिउँ परेको रहेछ। भर्खरै अमेरिका पुगेको, निजी सवारी साधन नहुँदा सार्वजनिक यातायातकै भर पर्नुपर्थ्यो। बाटाघाटाहरू ड्याम्मै हिउँले ढाकिएका हुन्थे। हिउँ परेपछि हावाको वेगसँगै हिउँका कणहरू चारैतिर छरिन्थे। मन–मुटु कटक्कै खाने चिसो। त्यो अनुभव अलि पीडादायी भए पनि एउटा नौलो र फरक साक्षात्कारको पहिलो फेहरिस्त थियो।
लुइभेल पुगेको त्यही हप्तादिन जति भएको थियो। केही साथीहरूले ओहायो खोला किनारतिर घुम्न जाऔँ भने। खोला छेउमा हिउँ हिउँ रहेछ। हिउँ खेल्दै, डुल्दै धेरै बेर त्यहीँ बितायौँ। घर फर्किएपछि भने धेरै दिनसम्म टाउको भारी भएको महसुस भइरह्यो। मैले चाल नै पाइनँ-मलाई लेक लागेको रहेछ, हिउँले सताएको रहेछ। त्यतिखेर बुझिनँ, तर पछि थाहा भयो-त्यसको असर मलाई निकै परेछ।
त्यसपछिका वर्षहरूमा पनि हिउँ पर्ने क्रम त चलिरह्यो । यसपटकको हिउँको त कुरै नगरौं ।

दृश्य १

जनवरी २४,२०२६ : आँधी अघिको सन्नाटा (फेसबुक पोस्टबाट)

केही दिनअघि देखि अनुमान र प्रक्षेपणहरूको ओइरो लागेको छ । जताततै आँधी आउने चर्चा छ। त्यसो त यो हिउँद निकै चिसो बोकेर आएको छ । हिउँ बिनाको चिसो । मुटु कटक्क खाने चिसो । हात–खुट्टा चुँडिएर भुईँमा झर्ला जस्तो चिसो । तर हिउँ भने खासै परेको छैन । कोही बेला त मलाई लाग्छ—हिउँ बिनाको चिसो पनि के चिसो? हिउँ बिनाको हिउँद पनि केही हिउँद? तर त्यो हिउँको अभावग्रस्तता अब छिट्टै नै परिपूर्ति हुनेछ ।
हप्ता–पन्ध्र दिन अघिदेखि सरकारी निकायहरूले तयारी थालेका छन् । एउटा विस्फोटक आँधीको आगमनका लागि। लामो समयसम्म बरफ लिएर बस्ने सम्भावनाका लागि । बाटामा हुने घटना–दुर्घटनाहरूका लागि । पानी, बिजुलीजस्ता आधारभूत कुराहरूको आपत्कालीन व्यवस्थाका लागि ।
मौसमविद्हरूको पूर्वानुमान । सरकारी निकायहरूको तयारी । आपत्कालीन अवस्थाका लागि मानिसहरूको चहलपहल। हिजो शुक्रबारको दिन, छिट्टै काम बिसाएर म बाहिर निस्किएँ । चिसोको तेज बढेको छ । तर बाटामा कतै हिउँ छैन । एक ठाउँ काम विशेषले जानु थियो, साँझतिर फर्किएँ । साँझ घर फर्केर आउँदा केही सुख्खा खाने कुराहरू लिएर जानुपर्‍यो भनेर क्रोगर बजार निस्केँ । पार्किङ लटमा गाडीहरूको यति चापाचाप थियो कि पार्क गर्नका लागि निकै बेर घुमेपछि बल्ल गाडी राख्न पाएँ ।
बजारमा मैले सब्जी–फलफूल राख्ने स्थानतिर आँखा डुलाएँ । प्रायः सबै खाली भइसकेका रहेछन् । एक मनले सम्झेँ—म कस्तो ग्वाँचे! यत्रो हल्ला भइरहेको छ, अलिक छिटै आएर चाहिने सामानहरूको इन्तजाम गर्नु पर्ने । हुन त यहाँका स्थानीयहरूले यस्ता थुप्रै आँधीहरूको सामना गरेका छन् । उनीहरूलाई यस्तो अवस्थामा कसरी तयारी गर्ने भन्ने भरपुर जानकारी छ। हामी अलि पछाडि बसाइँ सरी आएका हौँ, यस्ता आपत्कालीन व्यवस्थापनमा खासै चासो दिँदैनौँ। नपरुन्जेल चेत खुल्दैन भनेको त्यसैले होला ।
हतार–हतार एक जर्किन दूध टिप्नु पर्‍यो भनेर पुगेँ, आयल रित्तै रहेछ । केही सुख्खा खाने कुराहरू जोरजाम गरेर वासस्थान आइपुग्दा झमक्क भइसकेको थियो ।
जे होस्, आँधी आइहाल्यो भने एक–दुई दिनका लागि सुख्खा खानेकुराहरूको इन्तजाम गरेँ । सबैभन्दा ठूलो डर त बिजुलीको लाइन काटिन्छ कि भन्ने हो । बिजुलीको लाइन बिग्रिने बित्तिकै घरमा कठ्याङ्ग्रिन बाहेक अर्को विकल्प हुँदैन, पकाएर खानेकुरा कुरै भएन । तर यो आँधी धेरै दिन आउने अनुमान गरिएको छैन । दुई–तीन दिनमै उत्रो धेरै ठूलो सङ्कट त नहोला।
शनिवार बिहानै उठेर यसो बाहिर हेरेँ—कतै हिउँ बर्सिएको छ? बिलकुल छैन । यसो पूर्वी आकाश हेरेँ, घामको रङ हल्का बादलमा इन्द्रेनी जस्तो पोतिएको छ ।
दिउँसोतिर एक पटक फेरि बाहिर निस्केँ । हावाको सुइँकोले कान छेडेर दौडियो । चिसो झोक्काले नाक र अनुहारलाई सुमसुम्याउँदै बेगले हुइँकियो । सडकहरू हेरेँ, रूखहरू हेरेँ । छेउमै पार्किङ गरेर राखिएका गाडीहरू हेरेँ । मानिसहरूको आवत–जावत ठप्प छ । सायद सबै ओडारमुनि पसेका छन्, चिसोबाट जोगिन ।
मुटु खाने चिसोमा एकछिन पनि नहिँड्नु त के को हिउँदको अनुभूति होस्? केही क्षण त हिँडिदिऊँ सडकहरूमा बेपर्बाह। सायद यी सडकहरू हिउँ र बरफहरूको प्रतीक्षा गरिरहेका थिए । मेरा खुट्टाका पदचापले उनीहरूलाई झस्काइ दियो, बिउँझाइ दियो । “के अब हिउँ पर्दैन कि क्या हो?” भन्ने लाग्यो होला यी सडकहरूलाई । “कस्तो लठेब्रो रहेछ यो मान्छे, यत्रो चिसोलाई पनि नपत्याउने,” भन्ने लाग्यो होला यी रूखलाई । कहिलेकाहीँ मलाई बेप्रवाह हिँडिदिन मन लाग्छ—निरुद्देश्य, निर्भय ।
मनभरि कल्पना गरिरहेको छु—सेतो फुसफुसे हिउँ खसिरहेको । बाटाहरू सेताम्मे भएको, सिक्रे रूखका हाँगाहरू सेताम्मे भएको, फूलका डाँठहरू सेताम्मे भएको । घरका छानाहरू सेताम्मे भएको । सारा संसार सेताम्मे भएको । हो त अबको केही क्षणमा यी सडकहरू हिउँले भरिने छन् । हो त, यी रूखका हाँगाहरू हिउँ फूल फुलाएर रमाउनेछन् । हो त, यी छानाहरू हिउँको चादर ओछ्याएर टलक्क टल्की रहनेछन् ।
यो बाहिरी वातावरण सायद त्यतिखेर आँधी आउनुअघिको सन्नाटा भोगिरहेछ । यो सन्नाटा कोलाहलरहित, आवाजविहीन। आवत–जावत र उपद्रवविहीन । यो एउटा सन्नाटा—एक शून्यता। मानिसहरूले भन्ने गरेको सुनेको थिएँ—आँधी आउनुअघिको सन्नाटा । यही सन्नाटालाई म भरपुर भोगिरहेको छु । यो धर्तीले भोगेको छ । यो निर्जन सडकले भोगेको छ । चिसोमा कठ्याङ्ग्रिएर उभिएका यी रूखहरूले भोगेका छन् । यो चउरले भोगेको छ । यी बाटाको किनारमा राखिएका मोटरगाडीहरूले भोगेका छन् । यो दिनले भोगेको छ । यो समयले भोगेको छ ।
यति लेखेर झ्यालको पर्दा खोलेर यसो बाहिर हेरेँ—बाहिर चौर सेताम्मे भइसकेको छ हिउँले ।

दृश्य २

जनवरी २५,२०२६ : हिउँ परेपछि (फेसबुक पोस्टबाट)

हिउँ पर्नुमा जति आनन्द छ, सायद त्यति नपर्नुमा छैन । आज हिउँले विश्राम दिइएको मान्छेलाई निकै चिन्ता र व्यग्रताका साथ हिउँ पर्खिरहेको थिएँ । हिजो ३ बजेपछि हल्का, खरानीको फूल उडेको जस्तो गरी खस्न थाल्यो । लागेको थियो –राति यो अत्यधिक पर्नेछ । यो भारी हिमवर्षाले बिजुली – बत्ती पो जाने हो कि, पानीको पाइप फुटेर पानी बिहीन पो हुने हो कि? यस्तै–यस्तै अनिश्चयको भारीले मन थिचिरहेको थियो । बिहान झ्याल खोलेर यसो बाहिर हेरेँ – चारैतिर सेताम्मे । ए, हे हिउँ अलिकति थपिएको रहेछ राति !
बिहान ८–९ बजेतिर फेरि झ्याल खोलेर हेरेँ । पर रुखमा एक हुल चराहरू बसिरहेका थिए । लाग्थ्यो, आज पनि उनीहरूका लागि सधैंझैँ सामान्य दिन हो । ती एक हुल चराहरू खोइ किन हो, सुकेका रुखका हाँगामा टाँसिएर बसिरहेका थिए । सायद उनीहरूलाई हिउँ पर्नुले कुनै प्रभाव पारेको छैन । या हिउँले साम्राज्य फैलाएको बेला उनीहरू हिउँ बगैंचा घुम्न आएका छन् । चराहरूको बथान देखेपछि मलाई पनि लाग्यो—यत्रो हिउँ परेर जगत् ढाकेको छ, म कसरी कोठामा चुपचाप बस्न सक्छु, चिसोको बहाना बनाएर ?
अलि न्यानो कपडा लगाएर निस्किएँ म हिउँबारी घुम्न । आहा, सफेद सुन्दर हिउँको आभा । टेकेर मुलायम हिउँको पर्दामा बिस्तारै हिँडेँ । बाटामा आँखाले भ्याएसम्म हिउँको चमक फैलिएको छ । कति कञ्चन ! कति निर्मल !
हिउँमा निकै बेर हिँडेपछि आफ्नै पाइलाका डोबहरू पछाडि फर्केर हेरेँ । तिनीहरूले मलाई पछ्याइरहेका थिए । घरभित्र नपसुन्जेल तिनै पाइतालाका डामहरू आँखाले पछ्याइरहेका थिए । अतीतले बनाएका यस्ता कति गाढा घाउहरू छन् जिन्दगीमा, जो पुरिन यस्तै हिउँको वर्षा चाहिन्छ । तब किन प्रतीक्षा नगरूँ म हिउँको?

दृश्य ३

जनवरी २७

दुई दिनअघिको हिउँ अनि आजको घाम । आज बल्लबल्ल गाडी बाटोसम्म निकाल्न सकेँ । यसपालिको हिउँलाई सामान्य ठानेको थिएँ, तर बाहिर निस्किएपछि थाहा भयो-हिउँ धौ फुकाएर परेछ ।
जताततै सेताम्मे । हिम बगैंचा । हिम फूल । हिम पहाड ।
पश्चिम आकाशतिर अस्ताउँदै गरेको घाम हिउँले ढाकिएको विशाल भुइँ नियालिरहेको थियो ।

दृश्य ४


जनवरी २८

बिहान करिब साढे सात बजे गाडी निकालेर कार्यालयतिर लागेँ । बाटाका किनारमा सोरेर थुपारेको हिउँ ससाना पहाडजस्तो देखिन्थ्यो । चारैतिर सेताम्मे, बीचमा सिनिन्त परेको कालोपत्रे बाटो । कार्यालय नजिकको खोल्सो पूरै जमेको थियो । वरिपरि सन्नाटा । त्यो हिउँको चिसोपनले कताकता मनमा जमेको पीडालाई एकछिन भए पनि शीतलता दिएको अनुभूति भयो मलाई ।
सधैंझैँ त्यो खोल्सामा राजहंसहरू खेलिरहेका थिएनन् । यत्रो हिउँपातमा कहाँ गए होलान् ती राजहंसहरू, अहँ ?
त्यो दिन वार्षिक बैठकका लागि हामीलाई पाँच–छ माइल परको हलमा बोलाइएको थियो । मध्याह्नको समयमा हामी त्यहाँ पुग्दा सेतो गुलाफझैँ हिउँ हाम्रो स्वागतार्थ बाटाको छेउमा पर्खिरहेको थियो ।
बैठकमा बस्दा पनि मेरा आँखा झ्यालबाहिर फैलिएर टल्किरहेको हिउँ पछ्याइरहेका थिए ।
दृश्य ५
आज हिउँ परेको ठीक दुई हप्ता भएछ । हिउँ परेपछि यसपटक घाम लाग्दा पनि तापक्रम खासै बढ्न सकेन । बीच–बीचमा केही दिन घाम लागे पनि हिउँले खासै पत्यार लाएन ।
आजको दृश्य अलिक फरक छ । मेघरहित आकाश। घामका रश्मिहरू हिउँमा मजाले नुहाइरहेका छन् । बाटाका किनाराबाट बिस्तारै हिउँ पग्लिएर पानी बग्दैछ । छानाबाट पग्लेको हिउँ गल्दै भुइँसम्म आइपुगेको छ । बाघको दाह्राझैँ जमेका ती लामा–लामा हिउँका सुइरा भुइँमा खसेर पछारिएका छन् ।
धेरै दिन घरमै बसेपछि, हिउँ पर्दा जुन उत्साह थियो, त्यो निकै घटेको थियो । तर आज मलाई किन किन फेरि हिउँले भरिएका बाटा र चौरहरू घुम्ने रहर पलाएर आयो । घरबाट निस्केर नजिकैको पार्कसम्म पुगेँ-लतारिँदै, हिउँपानीमा चोपलिँदै । रापिलो घाम र बाटामा घामले पग्लिँदै बगेको हिउँ–कति मनमोहक दृश्य! पार्कमा केही तस्बिरहरू कैद गरेँ । घाम, पानी र हिउँको संगम, कति रोमाञ्चकारी, कति कान्तिमय !
यी सबै दृश्य हेर्दा मनमा लागिरह्यो-पानी कति विचित्रको तत्व रहेछ । कहिले बरफ, कहिले बाफ, कहिले तरल । यही रूपान्तरणले सृष्टि चलेको छ । कहिले उपकारक, कहिले विनाशक ।
मनमा लागिरहेको थियो-हिजोसम्म हिउँ थियो, आज पनि हिउँ छ । सायद भोलि उठ्दा यो हुँदैन होला, यो पानी भएर बगिसकेको होला । कहाँबाट आयो यो हिउँ? कसले ल्यायो यो हिउँ? यति धेरै हिउँबाट उत्पन्न हुने पानी कहाँ बगी जाला ?
एक मनमा पीडा पनि छ आजसम्म देखिएको यो सेताम्मे भुइँ भोलि रहने छैन । भोलि फेरि उही उजाड भूमि ठिङ्ग उभिनेछ, मेरो अगाडि ।
यसपालिको हिउँ साँच्चै वैभवपूर्ण थियो । सौन्दर्ययुक्त थियो । अरूका लागि कष्टदायक नै भयो होला, तर मेरा लागि निकै शीतलप्रद रह्यो । बाहिर हिउँ डम्म परेको बेला मलाई गहिरो निद्रा लाग्छ । व्यावहारिक जीवनका सन्ताप र पीडाले थाकेको मनलाई यस्तो सुशीतल उपहार अरू के हुन सक्छ ?
हिमालको सन्तान, हिमालकै काखमा हुर्किएर पनि हिउँसँग प्रत्यक्ष साक्षात्कार गर्न नपाएको अनुभूतिले मलाई सधैं सताइरहन्थ्यो । टाढाबाट देखिएको सौन्दर्य र नजिकबाट देख्ने, छुने र अनुभूति गर्ने कुरा नितान्त फरक हुँदोरहेछ । यसपालिको लामो हिउँको राजले मेरो मनमा खड्किरहेको अभाव र अतृप्तिको भावनालाई धेरै हदसम्म परिपूर्ति गरिदिएको छ ।
यसपटक पनि हिउँ आयो, गयो-तर यसको स्मृतिले भने मलाई सधैं पच्याइरहनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *