म पनि दाम्लो बाट्न सिक्दै छु

गोविन्द कोइराला

मेरा हजुरबाले बुबालाई
भोर्लाको डोरी बनाउन बट्नेउटोले सिकाएका,
मेरा बाले मलाई सनपाटको पोया बनाउन तोस्रा चलाउन ज्ञान दिएका,
मेरी हजुरमाले र फुपू दिज्यूले
जनै सङ्लिएर, चर्खा लाएर तेब्राएर लट्टी बनाउन सिकाउनु भएको
शिखा पार्न काका बाले शिक्षा दिएर जानु भएको हो,
ऐले केही दिनदेखि होम चूडा विरहीका सङ्गतले,
कपी कलम समाउन सिक्दै गरेका
बाह्रखरी छिचोली नसकेको म बबुरोलाई,
जनैको शिखा पार्ने विद्या भन्दा गाह्रो
लेखन क्रियाका ढाडसले
पोडियम ओेगटन आँट र ठाँट उर्लँदो छ,
भावना अनुभव भोगाइ देखाइ उर्लँदो छ,
खहरेको भेल झैँ शीर्षक जुर्दा छ।
के साँच्चै यिनै साँवा अक्षर बाह्रखरी र अ आ इ ईकको
सङ्गम मात्र हो कि
पुज्नु पर्ने बुझ्नु पर्ने गुन्नु पर्ने छेउ कुना छ कुनै ?
अस्ति भद्र – पुरिस् भनेर वाचन गर्न झन्नै नभ्याएको?
भद्रले कसो कसो अभद्रता दबाएको,
उकाली चढ्ने बैसाखी लौराले नटेकुन्जेल त बिद्वत् गुरुजन ज्यू!
कृपया एक दुई भन्ज्याङ चौतारीसम्म त चढ्न दिनुस् ,
सुसेली र थकाई मारेर पनि साथी गलेछ भने एक दुई ग्लास जल पी भाइ भन्नुस्।
उमेर होला माथि तर अनुभवलाई सँगालेर
कवि भाषामै भन्नुपर्दा “बाल लेख” नै मानिदिएर ,
चोरी ओैँला दिनुस् गुरु सँगसँगै हिँडाउन!
केही थान अघि लेख्दैमा अरूलाई नघिनाउनु।
हिजो मेरा बाको शिक्षा दीक्षा बोकेकाले डोरी दाम्ला बनाउन सिकेँ,
आज गुरुजनका सिकाइले अक्षर कुँद्न सिक्दै छु,
सिक्नु र सिकाउनु जीवनको अन्तिम श्वास प्रश्वास सम्म हुन्छ भन्छन् ,
मेरो रहर पूरा होला नहोला
सिद्धान्तलाई पालनामा विचलित नबनाऊ
विचलित नबनाऊ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *