म ज्युँदो मुर्दा होइन

भानु ढुङ्गाना
क्यानाडा

ए, अङ्कुश !
म तिम्रोलागि ज्युँदो मर्द हुँ
तर तिमी मलाई मरेको सम्झिँदै छौ
मैले भनिसकेको छु अस्ति नै
मैले भन्नु नपरोस्
‘निरङ्कुश  होस् तँ’ भनेर।

अब आफैँ भाँच तिम्रो अङ्कुसे टुँडो
नत्र मैले उठेर भाँच्नु नपरोस् निरङ्कुश डुँडो
म तिम्रोलागि ज्युँदो मर्द हुँ
नसम्झ तिमी मलाई मरेको मुर्दा हो
यदि मैले मर्ने दिन आएको हो भन्छौ भने
अब केही त बाध्यताले नै गरेर मर्छु म
ए ,निरङ्कुश  ?
भन्न मन छैन अझै पनि मलाई
बाको बिँडो किन थाम्ने र आफैँ खाल्डोमा पर्ने
तिमी अब युग पुरुष हुनुपर्छ
श्रमजीवीलाई सम्झ र आँखा खोल अब
परिश्रमी किसानहरूको आँसुबाट आशीर्वाद लिनुपर्छ।

म राष्ट्रको लागि उभिने ज्युँदो मर्द हुँ
तिमीले सम्झेझैँ मरेको छैन यो धड्कन
अङ्कुश बन्द गर
निरङ्कुशताको प्रायश्चित गर अब
किन कि म
देशको लागि मर्न तयार ज्युँदो मर्द हुँ।

यहाँ केवल यति मात्र गर्नुपर्नेछ हामीले,
मान्नुपर्छ हामी दुवैले सदाचार सद् विचार
बराबर हात उठाएर देशको विकास गर्नलाई
जुट्नुपर्छ हामी सबैले राष्ट्र सिङ्गो जोगाउनलाई

बस , यति मात्र गर्न किन आनाकानी र आपत्ति ?
पर्दैन तिमीले सहनु वैरीबाट कहिल्यै विपत्ति
हामीलाई थाहा छ हामी बिना वर्दीका सैनिक हौँ
यथार्थमा तिमीलाई पनि बोध छ त्यो त्याग-बलिदान
सदैव हामी माटो खेलाउने श्रमजीवी किसान हौँ
माटो बुर्बुराउँदो बनाएर रसिलो अन्न फलाउने छौँ

तर तिमी यथार्थ मान्दैनौ किन ?
अझ पनि बुबाकै निशा चल्दो हो
छोड अब त्यो पोचिएको दुष्ट घमन्ड
व्यभिचारले डढेको  भाँडो ,
अङ्कुश !
वैरी कमाउने निरङ्कुश विचार छोड
अब बुद्धिले सारा जोड
म ज्यूँदो प्रतिनिधि पात्र हुँ
नसम्झ अझै मरेको मुर्दा
म जनयुद्धको बिगुल पनि हुँ
चेतनाको शक्ति क्षय भएको छैन
यो पूर्वाग्रह हैन
शान्ति र विकासलाई आग्रह हो
हुन्छ भने विनाश नगरी विकास गरौँ
म मरेको मुर्दा होइन
देशको हितमा खडा उभिने
ज्यूँदो चेतनाको अग्राख हुँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *