श्रद्धाञ्जली: भुटानी नेता स्वर्गीय डा गोविन्द रिजालको मायालु सम्झनामा
राम कार्की
नेदरलेन्ड्स
मेरा प्रिय मित्र तथा सहकर्मी डा गोविन्द रिजालको दुखद निधन भएको पनि आज १५ औँ दिन भई सकेछ।
स्वर्गीय रिजाल ५२ वर्षका भुटानी विद्वान तथा नेपालमा रहेका भुटानी शरणार्थीहरूको नेता हुनुहुन्थ्यो र ५ मे २०२४ मा काठमाडौँमा दुर्घटनामा निधन भएको थियो । उहाँ एक वैज्ञानिक, शिक्षक, भुटानी मानवअधिकार नेता, लेखक, विचारक, प्रेस स्वतन्त्रता कार्यकर्ता, विद्वान, सम्पादक, संरक्षक र कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका वरिष्ठ प्राध्यापक हुनुहुन्थ्यो।
मैले सन् २००७ देखि स्वर्गीय रिजालसँग काम गर्ने सुअवसर पाएको थिएँ, तर २०१७ मा उहाँले मलाई नेदरलेन्ड्समा बेच्नको लागि आफ्नो पुस्तक परदेशी इन प्याराडाइजको ठुलो सङ्ख्या पठाउँदा हामी झनै नजिक भयौँ । मैले भुटानमा मानवअधिकार र लोकतन्त्रको वकालत गर्न उहाँको पुस्तकलाई हतियारको रूपमा प्रयोग गरेँ, जसको कारणले उहाँको पुस्तक यहाँका भूटानबारे जानकारहरू बिच प्रसिद्ध बन्न पुग्यो। मैले भुटानी शरणार्थीहरू र भुटानमा प्रजातन्त्र र मानवअधिकारका लागि उनीहरूको आन्दोलनको बारेमा ती मानिसहरूलाई बुझाएपछि उहाँको पुस्तक बेच्न सजिलो भएको देखेर डा. रिजालले मेरो प्रशंसा गर्दै बारम्बार फेसबुक पोस्टहरू लेख्नुभएको थियो।
२०१९ मा डा. गोविन्द रिजाल, इन्द्र अधिकारी, म र अन्य केही साथीहरू भुटान वाचको टोली सदस्य बन्न पुग्यौँ । पछि, उहाँ द भुटान जर्नलका सह-सम्पादक हुनुभयो। अर्का सम्पादक इन्द्र अधिकारी थिए र भुटान वाचले २०२० मा जर्नल प्रकाशन गर्न थाल्यो। संयोजकको हैसियतमा मैले भुटान वाचको सुचारु कामका बारेमा छलफल गर्न र भुटान वाचलाई सुनिश्चित गर्न नियमित बैठकहरू आयोजना गरेँ। जर्नलमा विभिन्न अनुसन्धानकर्ताहरूबाट पर्याप्त लेखहरू आउन सकेको थिएन। त्यसै कारणले स्वर्गीय गोविन्द रिजालले भुटानी विद्वान र लेखकहरूको सूची बनाउनुभयो र भुटान जर्नलका लागि लेख लेख्न प्रोत्साहित गर्न प्लेटफर्म सिर्जना गर्नुभयो। गोविन्द रिजाल र इन्द्र अधिकारीको अथक प्रयासले निकै चुनौतीका बाबजुद भुटान वाचले आफ्नो वार्षिक द भुटान जर्नल २०२० देखि २०२४ सम्म निरन्तर प्रकाशित गरेको छ।
स्वर्गीय गोविन्द रिजाल र मैले भुटान सम्बन्धी मुद्दाहरूमा छलफल गर्न, तटस्थ विज्ञहरू ल्याउन र भुटानभित्र बहस गर्न निषेधित मानिएका मुद्दाहरूमा भुटानीहरूलाई जानकारी गराउन २०२४ मा भुटान वाच बहस शृङ्खला सुरु गरेका थियौँ। स्वर्गीय डा गोविन्द रिजालले छलफल कार्यक्रमका लागि सम्भावित विज्ञहरूको सूची तयार गर्नुभएको छ । ती विज्ञहरूसम्मको सहज पहुँचका कारण डा रिजालले विज्ञहरूलाई प्यानलमा रहन मनाउनुभएको थियो। म अमेरिकास्थित युवा स्कलर आशिका धौरालीको सहयोगमा आयोजक थिएँ ।
उहाँले इच्छुक भुटानी लेखक र बुद्धिजीवीहरूलाई प्राविधिक लेखन सीप प्रदान गर्न कार्यशाला आयोजना गर्ने योजना बनाउनु भएको थियो। लेख्न सक्ने सबैले आ–आफ्नो कथा लेख्न थाल्नुपर्छ भन्ने डा रिजालको विश्वास थियो र त्यसका लागि उहाँ लेख्ने सीप सिकाउन चाहनुहुन्थ्यो । उहाँको देहावसान हुनुभन्दा एक दिनअघि उहाँले मलाई भुटानमा प्रेस स्वतन्त्रताको मुद्दामा छलफल कार्यक्रम आयोजना गर्न सल्लाह दिनुभयो। पेरिसस्थित रिपोर्टर विदाउट बोर्डर्सले ३ मे २०२४ मा प्रकाशित गरेको प्रेस स्वतन्त्रता सूचकाङ्कमा भुटान ९० बाट १४७ औँ स्थानमा झरेको छ। डा रिजाल र म त्यो कार्यक्रमको योजना बनाउन नेदरल्यान्ड्सको समय दिउँसो ३ बजे भेट्दै थियौँ, तर दुर्भाग्य! उहाँको दुखद मृत्युको खबर मलाई हाम्रो निर्धारित भर्चुअल बैठकको १५ मिनेट अघि आइपुग्यो। उक्त बैठकको लागि म तयारी गरिरहेको थिएँ। डा रिजाल भुटानी शरणार्थी समुदायले लिएका लगभग सबै आवश्यक पहलहरूको एक हिस्सा हुनुहुन्थ्यो । उहाँले भुटानी बौद्धिक समुदाय र विश्वभरका विज्ञ र विद्वानहरूसँग सुमधुर सम्बन्ध बनाउनु भएको थियो ।
उहाँको मृत्युको अन्तिम घडीसम्म उहाँसँग नजिकबाट काम गर्ने व्यक्तिको रूपमा मैले डा गोविन्द रिजाललाई धेरै राम्ररी चिन्ने मौका पाएको छु। उहाँ उचित गृहकार्य र ठोस डेटाको साथ छलफलमा बस्नु हुन्थ्यो। उहाँ प्राय जसो फरक दृष्टिकोण भएका साथीहरूसँग पनि सजिलै हेलमेल हुनुहुन्थ्यो र उनिहरूबाट फरक बिचारहरू सिक्न खोज्नुहुन्थ्यो । उहाँ कुनै पनि कुरालाई प्रत्यक्ष रूपमा अस्वीकार गर्नु हुन्नथ्यो। केही कुरा मन नपरेको भए ता पनि त्यसलाई ठाडै नकार्नु हुन्नथ्यो तर नरम शब्द प्रयोग गरी असहमति जनाउनु हुन्थ्यो । मेरा अनगिन्ती भिडियो कलको क्रममा डा गोविन्द रिजाल आफ्नो कार्यालयमा बसेको हुनुहुहुन्थ्यो । उहाँ हाम्रो वार्तालापका महत्त्वपूर्ण बुँदाहरू लेख्नु हुन्थ्यो । उहाँ ज्ञानको एक ठुलो भण्डार हुनुहुन्थ्यो।
एक दिन भुटान फर्कन सकिनेमा उहाँ विश्वस्त हुनुहुन्थ्यो । उहाँको कामको नैतिकता अतुलनीय थियो; उहाँले कहिल्यै आराम गर्नु भएन, कहिल्यै थकान महसुस गर्नु भएन। उहाँसँग कुनै पनि मस्यौदामा सुझाव माग्दा छोटो अवधिमा उहाँको प्रतिक्रिया पाउन सकिन्थ्यो । डा. रिजालका शब्दहरूको कस वजन हुन्थ्यो। भुटानी जनताका लागि मैले गर्ने वकालतको काममा वहाँले गहिरो प्रभाव पर्नु भएको थियो। “राम कार्कीजस्ता दश जना कार्यकर्ता हाम्रो आन्दोलनलाई हुनु थियो भने हाम्रो आन्दोलनले सही दिशा पाउन सक्थ्यो” भनी उल्लेख गरिएका उहाँका फेसबुक पोस्टले मेरो प्रयासलाई समुदायले नजिकबाट नियालिरहेको महसुस गरेको थिए। उहाँका शब्दहरू मेरो लागि निरन्तर प्रेरणा र ऊर्जाको स्रोत थिए।
डा रिजाल भुटानको राष्ट्रिय हित र क्षेत्रीय सार्वभौमसत्ताको विषयमा निकै सचेत हुनुहुन्थ्यो र हरेक पटक हामी हाम्रो देश भुटानको विरुद्धमा नभई मानवअधिकार उल्लङ्घन र भुटानी जनतामाथि हुने अन्यायका विरुद्धमा मात्रै रहेको भनी दोहोर्याउनुहुन्थ्यो । छलफलमा शब्द छनोट गर्दा उहाँ निकै सचेत भएर गर्नुहुन्थ्यो । यसरी मैले उहाँलाई निर्वासनमा रहेका राष्ट्रवादी र देशभक्त भुटानी नेताहरूमध्ये एक पाएको थिएँ । आफू लगायत इच्छुक भुटानी शरणार्थीहरूको सम्मानजनक स्वदेश फिर्ताको लागि उहाँ धेरै आशावादी हुनुहुन्थ्यो।
उहाँको निधनले भुटानले एक देशभक्त गुमाएको छ र निर्वासनमा रहेका हामीले हाम्रो आन्दोलनको एउटा बलियो स्तम्भ गुमाएका छौँ । अहिले उहाँ यदि उदारवादी लोकतान्त्रिक देशको नागरिक भएको भए उहाँको निधनमा राष्ट्रिय शोक हुने थियो तर दुर्भाग्यवश उहाँ नेपालमा शरणार्थी हुनुहुन्थ्यो। तरै पनि वैज्ञानिक र त्रिभुवन विश्वविद्यालयको सहप्राध्यापकको हैसियतमा उहाँले प्राज्ञ तथा बुद्धिजीवीहरू बीच ख्याति कमाउनु भएको थियो । उहाँको अन्त्येष्टिमा त्यस्ता मानिसहरूको ठुलो सङ्ख्यामा सहभागिता देख्न सकिन्थ्यो। हामीले डा रिजालको अधुरो मिसन पूरा गर्नको लागि हाम्रो क्षमतालाई बलियो बनाउन आवश्यक छ, र हाम्रा प्रिय डा रिजालको विरासत जोगाउनु हामीले उहाँप्रति गर्ने सबैभन्दा राम्रो र उपयुक्त सम्मान हुनेछ।
अन्त्यमा डा रिजालको दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्न चाहन्छु । हाम्रा अति प्यारा डा रिजालको आत्मालाई शान्ति मिलोस्।
राम कार्की
गोविन्द रिजालका नजिकका साथी
हेग, नेदरलेन्ड्स