उज्यालो खोजिरहेको एउटा ल्यामपोस्ट
विश्वास लामा
क्यानडा
सपनाहरू कुनै बेला
घरका भित्ताहरूमा
पोतिएका रङहरू झैँ
म सुन्दर बनाउन खोज्थेँ
जहाँ उदास भएर
आँसु खसाइरहेकाे हुन्थ्यो मेरो घरको धुरी
जहाँ
घर आँगनै भरि फुलिरहेका हुन्थे आशाका फूलहरू
जहाँ
बच्चाको रोएको आवाज
छरछिमेकको झगडा
अनि,
एक हुल मान्छेहरूको भिड
यो एउटा दैनिक दृश्य
बर्षौँ भएछ
केही आशा
केही सपना
अनि
केही रहर बोकेर
म समुन्द्र पारिको देशमा आएको
म खुसी खोज्ने बाहाना
आफ्नै रहरको दासी भएछु
म सपना सुन्दर बनाउने बाहानामा
कयौँ सपनाहरू कता छुटाएँछु
म चरा बनेर उड्ने सोचमा थिएँ
तर,
थाहा नपाई चङ्गा बनेर उड्न बाध्य भएँछु
म
यो झिलिमिली सहरमा पनि
कुनै एउटा सहरको गल्लीमा
उज्यालो खोजिरहेको ल्यामपोस्ट भएँछु !