लौरो जीवन
ओम पोख्रेल
जन्मे बढेँ हुर्केँ जवानी भो तन
हिँड्थेँ अहम् बोकी घमन्ड लिइकन
शक्ति छ भन्थे नि हिमाल छुने
सोचिन पैले म पनि बुढो हुने
छैनन् अरू कोही समान मेरा
भन्थे मलिन भई सकिएछ चेहरा
हेर्दा गई दर्पण सामु महा
त्यो रूप अहिले नि गएछ कहाँ
बुढो भए चाउरी परेछ गालो
फुल्यो सबै केश रहेन कालो
आँखा भरी बादल ढम्म छायो
वैरा भए कान नसुन्न पायो
थोते भयो मुख झरेछ दाँत
खानै कठिन हुन्छ निलिन्न भात
थरथर गरी काँप्छ शरीर गोडा
बसिन्न झट्टै खुम्चिँदैन घुँडा
कुप्रो परि भित्तो समाई राती
जान्छु सउच लौरो लिएर साथी
यस्तै भयो जीवन व्यर्थै नै छ
घमन्ड गर्नु नहुँदो रहेछ
उस्दीनको हिम्मत बल कता गो ?
छैनन् कुनै साथ मलाई के भो ?
टाढा भए बन्धु छिमेकी भाइ
हुने भए धर्ती बाटै बिदाइ