मानिस बनौँ
नारदप्रसाद आचार्य ‘सुदामा’
पेन्सिलभेनिया अमेरिका
टुप्पोमै जन्मिएका
चिसा कुहिराहरू
आफ्नै सन्तानको
घाँटी कसिरहेका छन्।
उनीहरूका
आँखामा नपाएका
सपनाहरूमा
विष भरिदिन्छन्
फुल्न नपाउँदै
थाकेका युवा
आफ्नो भविष्य होइन
अन्तिम यात्रा रोज्दै छन्
साँझको घामझैँ
चुपचाप हराउँदै छन्।
आज
हिमाल र पहाड
देउराली र भन्ज्याङ
मन्दिरमा उभिएर
भगवान् खोजिरहेका छन्
तर
घर समाज मै
मानवता हराउँदै छ।
जरामा
विश्वास, माया र संवादको
मल हाल्न सकेको भए
सायद
यो मन
भत्किने थिएन।
तर
प्रार्थना बिम्बहरू
काँचझैँ फुट्छन् ।
जब
मनको मन्दिर भत्किन्छ
आस्थाको ढोका बन्द हुन्छ
अनि
एउटा जीवन
समाज कै लापरबाहीले
हार्छ।
अब भगवान् खोज्नु अघि
मानिस बनौँ
सुन्न जानौँ
सम्झन सिकौँ
किनकि
एक शब्द,
एक साथ,
एक विश्वासले
कसैको जीवन बचाउन सक्छ।
