सम्बन्ध र जिन्दगी

मधु घिमिरे
पेन्सिलभेनिया,अमेरिका

दिनु परे खुसी छैन लिन पाए सधैं खुसी
हेप्ने ठग्ने खुसी हुन्छ हेपिने ठगिने दुखी
अति राम्रो कसैसाथ काटोछिनो कतैतिर
सम्बन्ध जिन्दगी नाता यसरी चल्छ आखिर १

सधैं झुकेर सम्बन्ध चलोस् भन्छ कुनै मन
बरू मर्नु परोस् मर्छु अर्को भन्छ म झुक्दिन
“गल्ती मेरो छँदैछैन” देखाएर उतैतिर
यसरी चोखिन खोज्छ नाता सम्बन्ध आखिर २

कसैलाई सधै काख च्यापेर राख्न खोज्दछ
कसैलाई सधैं पाखा तँ खा खोस्रेर भन्दछ
बराबर कतै छैन नाता सम्बन्धको घर
भित्री खोक्रो परोस् किन्तु स्वाङ पार्दछ बाहिर ३

पैसाको मोहमा टुक्रा टुक्रा सम्बन्धमा कतै
भाइ भाइ फुटे सग्ला अहङ्कार बढी कतै
मीठो बोली सफा सादा कर्म कर्तव्यको भर
राम्रा आदत बानीले बढ्छ सम्बन्ध आखिर ४

धोका दिनेहरू झर्छन् जिन्दगी अग्लिए पनि
खासै खुसी कतै छैनन् करोडौं द्रव्यका धनी
सत्य सद्भाव सम्बन्ध मिलेरै पुग्दछन् पर
“फुलोस् सम्बन्धको फूल”यसरी प्रार्थना गर ५

अनुष्टुप छन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *