जिउँदो लास

टेक भण्डारी
एडिलेड, साउथ अस्ट्रेलिया

जिउँदो लास, म जीवित छु तर मर्दै छु,
मेरो हृदयमा धड्कन छ तर भावना मरेका छन्,
यो शरीर चल्दै छ, तर आत्मा थाकेको छ,
जिउँदो लासको जिन्दगी,
कस्तो दुर्भाग्यले भरिएको छ।

आँखाहरू खुला छन्, तर दृष्टि धुवाँ छ,
कानहरूले सुन्छन्, तर सङ्गीत छैन,
मुख बोल्छ, तर शब्दहरू सजीव छैनन्,
जीवनको यो यात्रा,
कस्तो यातनाले भरिएको छ।

दिनहरू बित्छन्, रातहरू आउँछन्,
तर प्रत्येक क्षण बाँच्न लायक छैन,
मुस्कानहरू नक्कली, हाँसोहरू झूटा,
जिउँदो लासको कथा,
कस्तो विरहले भरिएको छ।

हातहरू चल्छन्, कामहरू गर्छन्,
तर आत्मा थाकेर यो हृदय रोएको छ,
सपना देख्छु, तर छ पुरै धमिलो
जीवनको यो सङ्घर्ष,
कस्तो पीडाले भरिएको छ।

मित्रहरू छन्, परिवार छ,
तर एक्लोपनाले घेरिरहन्छ,
यो मन रित्तो छ खाली बोतल जस्तो,
आशाहरू छन्, तर विश्वास गुमेको राज्य जस्तो,
जिउँदो लासको जीवन,
हरे ! कस्तो तड्पनले भरिएको छ।

मेरो आत्मा, तिमी कहाँ छौ?
कुन कुनामा हरायौ?
कुन अँध्यारोमा बिलायौ?
म खोज्दै छु तिमीलाई,
प्रत्येक क्षण, प्रत्येक पाइलामा,
तिमीलाई भेट्ने आशामा,
कस्तो भुलभुलैयामा परिएको छ।

जीवनको यो अन्धकारमा,
केही सुन्दर उज्यालो खोज्दै छु,
कसले जलाउने मेरो हृदयको दीप,
केवल तिम्रो प्रतीक्षामा छु,
तिमी आउँछौ भने आऊ चाँडै,
यो जिउँदो लासलाई जीवन दिन,
त्यो दिनको प्रतीक्षामा छु,
मेरो आत्मा जलिरहेको छ।

तर म बाँच्नेछु, तिम्रो आशामा,
तिमीले मलाई दिएको प्रेम र साहसमा,
यो जिउँदो लासलाई जिउँदो बनाउन,
तिम्रो माया, तिम्रो साथ,
यही मेरो जीवनको सार हो।

त्यो दिन आउँछ, जब म फेरि जन्मन्छु,
तिम्रो प्रेमले सजीव भएर, म फेरि बाँच्छु,
जिउँदो लासलाई जीवन दिने तिमी नै हौ,
तिमीले दिने नयाँ जीवन, यही मेरो सत्य हो।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *