म कति भन्नु ….

बी.पी. शर्मा
नेदरल्यान्ड्स
म कति भन्नु
म कति भन्दै हिँड्नु
म, म होइन भनेर
म त म स्वयंको म होइन भनेर भनेकै छु त !
कुन मान्छेको साइनो गाँस्दै
आफ्नो परिभाषाको माला जप्छौ तिमी !
म ब्रह्म होइन किताबमा पढिने
शून्य पनि होइन हिसाबमा जोडिने
म ॐ पनि होइन मनमन जपिने
म जति पनि होइन आकाशमा खोजिने
के देख्यौ मलाई?
म त्यही हुँ जहाँ हिँड्छु म
त्यही मेरो बाटो हो
म जे सोच्छु त्यही नै म हुँ
एउटा सूक्ष्म सोचाइ हुँ म।
तिमी हुनुको आयामबाहिर उभिएर
मलाई कालो भन्छौ, सेतो भन्छौ,
पहेंलो र फुस्रे भन्छौ
भगवान् भक्त भन्छौ आफूलाई
मन्दिर अगाडि
मान्छेको माया ईश्वरको माया
भन्छौ,
र त मान्छेको रगत मीठो हुँदोरहेछ भन्छु म
प्राचीन इतिहासका पानाहरूमा
अनि
बरु आऊ मतिर, अङ्कमाल गरौं
मान्छे हुनुको अर्थ स्वर्ग र नरकमा होइन
तिम्रो आँगनमा, मेरो आँगनमा खोजौं,
हामीलाई उभिन ठाउँ दिने
यही धर्तीमा खोजौं, हुन्न?
होलान् यहाँ काँडा फुल्ने मनबारीहरू
रगतका कणकणमा बम राख्ने मुटुहरू
एउटा गरिब मान्छेका आँसुहरू बटुली
सुनका बटुवाबाट पिउनेहरू!
होलान् कहीँ कतै अझै बगिरहेका ईश्वरका
रगत तर्ने खोलाहरू
कति भन्नु म तिमीलाई
म, म होइन भनेर !
मेरो मृत्यु म आफैं हुँ, मेरो अस्तित्व
मेरो हो, यस धर्तीका ताता सडकहरूले पोलिएका
मेरा पाइलाहरू

