म, रात र ताला
डिल्लिराम रेग्मी
ओहायो, अमेरिका
ओहायो, अमेरिका
सबै तिर सुनसान छ
या यसो भनौँ – यस्तो भान हुन्छ मलाई
अनि म कोठा भित्र एक्लै छु
नितान्त एक्लो
सबै बत्ती निभाएको छु
निदाउन चाहन्छु तर सकेको छैन
सुनसान र शान्त भने पक्कै छ
रात कालो छ, गहिरो पनि
अनि यो कालो रात मेरो साथमा छ।
अरू कोठाकाहरु निदाएछन् सायद
अलि अलि कोलाहल पनि सुन्छु मेरो कोठाबाहिर
तर कोठा भित्र म यति एक्लो छु कि
मसँग गफ गर्ने म मात्रै छु
अनि म हुनुले म आफैँलाई प्रभावित भने गरेको छैन, पटक्कै छैन
खिड्की, झ्याल भित्ता सबैको अर्थ बद्लिएको छ।
यो रात मलाई आत्मीय लागेको छ
रातले मान्छेलाई कति धेरै साथ दिएको हुन्छ
सबै आँसु लुकाइदिन्छ
सबै दुख मिटाइदिन्छ
अनि दिन्छ गहिरो निन्द्रा र मीठो सपना।
दिन भरिको हड्डी – हड्डी दुख्ने तनावदेखि
फुर्सत हुने समय दिने गर्छ
र आफैसँग मिल्ने मौका दिने गर्छ।
यस्तैमा दिन भयङ्करको हत्यारा हो जस्तो लाग्छ
ख्वाप्पै निल्ने गर्छ
जुन र ताराहरू
अनि दिन्छ, मात्र छाया।
रातको अँध्यारोमा त म
आफ्नो अनुहार दुरुस्त आफैँ जस्तो देख्छु
दिनको उज्यालोमा अनुहारले धेरै रङ्ग फेरिसक्छ
रङ्ग फेरिरहनु राम्रो होइन।
उज्यालो आँखामा तिर जस्तै भासिन्छ
त्यसैले रात मलाई प्रिय लाग्छ।
अनि यो रातमा यस्तो लाग्छ कि
केही लेखूँ
केही तिमीलाई लेखूँ
केही मेरै लेखूँ
तिमीलाई केही पूरा लेखूँ
अनि केही अधुरो
म रातमा बसेर तिमीलाई बिहान लेखूँ
तर बस यति लेखूँ
म तिम्रो र तिमी मेरो लेखूँ
तर,
यो रातमा, यस बेला
एउटा सोचले निचोरिरहेको छ मलाई
कि म कुनै बस्तु हुनु भने के हुन्थेँ होला?
कोठामा भएका एक एक चिजसँग
आफूलाई दाँज्न थाल्छु
अनि अन्त्यमा आफूलाई तालासँग दाँज्न पुग्छु
जसलाई कसैले बन्द गरिदिएको छ।
म ताला,
यो मेरो मजबुरी हो कि
म आफ्नै चाबीले मात्र खोलिने छु
चाबी नभेटे मलाई तोडिने छ!
तोडिएको तालाको बारेमा सोच्छु
र धेरै बेर खालि पन्नालाई नियाल्छु
सायद कुनै कवितामा मिल्न सक्छ मेरो चाबी
या कुनै कविता नै मेरो चाबी बन्न सक्छ।
ताला आफ्नै इच्छाले बन्द भएको हुँदैन
कसरी सम्झाऊँ यो कुरा।
बन्द तालालाई देखेर मान्छे किन यस्तो सोच्दैन?
कि ताला आफै बन्द भएको हुँदैन।
बन्द तालाको दु:ख कसले कहिले बुझ्देला??