जन्म भूमि

खेम खनाल
ओहायो,अमेरिका

आफ्नै माटो मृदु हृदयमा बासना मन्द मन्द
भर्दै ल्यायो रस पवनले मग्मगायो सुगन्ध
डाँडा पाखा मनमगजमा सम्झना यो गढेको
प्यारो लाग्ने विपुल धरणी जन्मिएको बढेको।

पाखा बारी मलजल गरे याममा अन्न झुल्ने
रोपे राम्रो सहजसितले खेतमा धान फल्ने
खोला नाला मधुर लयमा गीत गाई बगेको
प्यारो लाग्ने विपुल धरणी जन्मिएको बढेको।

फुल्दै फल्दै रमझम अहो झुम्मिएको बगान
जैले तैल्यै रुचिकर मिठो पाइने हो समान
कान्ला कुन्ली हरित वनले दिव्य शोभा छरेको
प्यारो लाग्ने विपुल धरणी जन्मिएको बढेको ।

खोल्साखाल्सी सुरुङ पहरा सृष्टिमै भो तयार
हेर्दै जाँदा रनवन भरी दिव्यताको वहार
अग्ला अग्ला हिम शिखरले प्रीत लाई रहेको
प्यारो लाग्ने विपुल धरणी जन्मिएको बढेको ।

पानी खाँदा सुमधुर मिठो शुद्ध हावा मिलेर
बालीनाली लहलह हुने बोट हाँगा नुहेर
झर्ना झर्दा छङछङ गरी शीत छर्की रहेको
प्यारो लाग्ने विपुल धरणी जन्मिएको बढेको ।

जोत्स्ना भर्दै सुरभि तलमा सूर्यको राप झर्ने
थोपा जस्तै सरस रसिलो रातमा शीत पर्ने
सानोसानो गजबसितको गाउँ साँच्चै मिलेको
प्यारो लाग्ने विपुल धरणी जन्मिएको बढेको ।

मिल्ने साथी वरपर सबै एक हुन्थ्ये अनेक
कामार्थी भै दिनदिन जुटी पौरखी थ्ये हरेक
आफ्नै बस्ती हर प्रहरमा पूर्णता झल्किएको
प्यारो लाग्ने विपुल धरणी जन्मिएको बढेको ।

छन्द- मन्दाक्रान्ता

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *