नर्वेको जङ्गलमा मेरी छोरी ‘क’ देख्दिन
𝕴𝖓𝖛𝖎𝖙𝖊𝖉 𝕮𝖔𝖓𝖙𝖗𝖎𝖇𝖚𝖙𝖎𝖔𝖓
खेम गौतम
नर्वे
मेरी ७ वर्षकी छोरी ठिकै नेपाली बोल्छे। हजुरआमा–बुबासँग नबसेकी छोरीले कसरी यस्तो राम्रो नेपाली बोल्न सकेकी भनेर आफन्तहरू छक्क पनि पर्छन्। खासमा ऊ सजिलोसँग भाषा सिक्छे जस्तो लग्छ।
चार वर्षसम्म स्कुलमा डेनिस बोल्थी, घरमा नेपाली। अंग्रेजीको एउटा शब्द पनि जान्दिनथी। उसका मामाका छोरीहरू ऊसँग अंग्रेजी बोल्न नपाउँदा उसले अंग्रेजी किन नजानेको भनेर प्रश्न गर्थे । ऊ चार वर्षकी हुँदा हामी भारत सर्ने कुरा सुरु भयो; अंग्रेजी सिकाउनुपर्ने भयो। भारत जाँदा उसलाई अंग्रेजीका दुई–चारवटा वाक्य मात्र आउँथ्यो। तीन वर्षपछि हामी नर्वे आउँदा ऊ पूरै अमेरिकी लवजमा अंग्रेजी बोल्ने भइसकेकी थिई। डेनिस सबै बिर्सिसकेकी थिई; शब्द पनि जान्न छोडेकी थिई।
अब नर्वेजियन सिक्नु थियो। स्कुल जान पनि मन गरिन एक–दुई दिन त। लगभग छ महिनापछि अहिले ऊ नर्वेजियन र अंग्रेजी बराबरी बोल्छे। साथै डेनिस पनि बुझ्न थालेकी छे। हिन्दी पनि अलिकति बुझ्छे, बोल्न सक्दिन! म र मेरी श्रीमती ऊसँग नेपालीमै बोल्न खोज्छौँ। छोरी ठूली हुँदैछे। “नानी, पानी ले”, “यसो गर्” भन्ने मात्र नभएर अब ठूला गफ पनि हुन थालेका छन्।
नेपालमा बाढी गएको कुरा बुझाउन जलवायु परिवर्तनका कुरा भन्नुपर्ने भयो तर त्यो त म नेपालीमा भन्न सक्दिनँ! जब जब छलफलहरू विज्ञान, वाणिज्य र बौद्धिक विषयतिर जान्छन् म पनि अंग्रेजी बोल्दो रहेछु र ऊ पनि। “त्यस्ता कुरा नेपालीमा भन्न गाह्रो हुन्छ; कि अंग्रेजी कि नर्वेजियन” ऊ मलाई भन्छे!
मेरो क्याम्पको स्कुलमा नेपाली बोल्दा सजाय पाइन्थ्यो; कान समाएर उठबस गर्नुपर्थ्यो। नेपाली कम्जोरहरूले बोल्ने भाषा जस्तो थियो। अझ बोर्डिङ स्कुलमा हुँदा त नेपाली बोलेबापत पैसा नै तिर्नुपर्थ्यो। त्यति राम्रो अंग्रेजी बोल्ने पनि होइन रहेछु अहिले सम्झिँदा। त्यस्तो स्वाङ पारेर १२ वर्ष पढेको अंग्रेजी त खासमा एक–दुई वर्षमै सिक्नुपर्ने कुरा रहेछ!
क्याम्पमा हुँदा म खुब बीबीसी सुन्थेँ। क्याम्पमा “बीबीसी भाइ” भनेर बोलाउँथे। राम्रो अंग्रेजी बोलेको कारणले धेरै प्रशंसा पनि पाएको छु। आज पनि मेरो कामको भाषा अंग्रेजी नै हो। नर्वे–डेनमार्कमा बसे पनि अंग्रेजी मेरो लागि राम्रैसँग काम लागेको छ। यस्तो विश्वभाषाको अगाडि नेपाली के?
मेरो घरको हरेक पुस्ताले भाषाको लडाइँ लडेको छ। बाबाले नेपाली जोगाउन देश छोड्नुभयो, मैले भविष्य जोगाउन अंग्रेजी रोजेँ। आज म ग्लानि र भाषा मर्न नदिने इच्छाशक्तिले अर्को लडाइँ लड्दै छु; बिना देश, बिना समाज, बिना रेडियो। मलाई थाहा छैन यो मेरो बाबाप्रतिको बफादारिता हो कि क्षमायाचना!
युरोपमा बसेको भएर होला भाषाको महत्त्व मैले राम्ररी बुझें। आफ्नो भाषा जति सजिलो अर्को भाषा हुन गाह्रो हुँदो रहेछ। त्यसो भन्दैमा म आफैं नेपालीमा राम्रोसँग लेख्न सक्छु भन्न सक्दिनँ। आधुनिक प्रविधि नहुँदो हो त तपाईं अहिले यो आलेख अंग्रेजीमा पढिरहनु भएको हुन्थ्यो! नेपालमै हुँदा त नेपाली पढाइलेखाइको भाषा थिएन, मेरी छोरीको संसारमा त्यो कहाँ हुन सक्ला ?
भाषा समाजले, वातावरणले पढाउने कुरा रहेछ। मेरो वातावरणमा नेपाली बोलिन्थ्यो, रेडियोमा नेपाली नै आउँथ्यो। हरिबहादुर, राजेश दाइ र धुर्मुससुन्तली नेपालीमै बोल्थे। मेरी छोरीको संसारमा ती कोही छैनन्!
छोरी तीन वर्षकी हुँदा उसलाई अङ्ग्रेजी अक्षर सिकाउँदाको कुरा याद आउँछ। साइकलको पछाडि राखेर जंगल जाँदा छोरी “X” भनेर कराई। के रहेछ भनेर हेर्दा उसले रुखमा “X” जस्तो आकार देखेकी रहिछे। अहिले भर्खर शब्दहरू सिक्न थालेकी छे। साइनबोर्डका ठूला–ठूला अक्षर पढ्छे। सिक्ने त त्यसरी नै त हो रहेछ।
विदेशको जंगलमा भएको ‘क’ ऊ चिन्दिन, साइनबोर्डमा बाटोको नाम नेपालीमा लेखिएको छैन, पसलेहरूले “यता आउनू” भनेर कराउँदैनन्। यहाँ त गाईले पनि “मू” भन्छ रे!
मलाई म को हुँ र म कहाँको हुनु पर्छ भन्ने प्रश्नहरू धेरै आउँछन्। मेरी छोरी ठूली भएर के हुन्छे होला भन्ने प्रश्न पनि आउँछ। उसलाई नर्वेजियन, डेनिस, अमेरिकी, नेपाली, भुटानी वा ठिमाहा, जे हुन मन लाग्छ, त्यही हुन सक्छे। तर मैले उसलाई सबै सम्भावना र अवसरहरू दिनुपर्छ भन्ने म ठान्छु।
भविष्यमा उसले म नर्वेजियन हुँ भन्दा कसैले “तेरो कपाल खैरो छैन त !” भन्यो भने, “मेरा बुबाआमाले आफ्नो अस्तित्व त्यागे र मलाई पहिचानविहीन बनाए” भनेर मेरी छोरीले सोच्न नपरोस्। जरा नभएको रूख धेरै माथिसम्म जान सक्दैन भन्ने कुरामा म विश्वास गर्छु।
त्यही भएर भारत सर्नु मेरो लागि एक प्रकारले सन्तोषको कुरा थियो। खासमा छोरीलाई किन्डरगार्टनमा एक दिन एउटा बच्चाले “तेरो कालो कपाल छ, तँ यहाँकी होइनस्” भनेर जिस्क्याए छ। ऊ मन दुखाएर घर आएको दिन नै मैले उता सर्ने सोच बनाएको थिएँ।
भारतमा उसले धेरै कुरा देखी। होली मनाई, चित्र र मूर्तिहरूमा बसेका भगवानहरू चिनी। उसलाई मैले म हुर्किएको शिविर पनि लगेको छु। अरू साना बच्चाहरूबाट नेपाली सिकोस् भनेर दार्जीलिङ्गका दुर्गम नेपाली बस्तीहरूमा हप्तौँ बिताएका छौँ। हामी नर्वेका पहाडमा हाइकिङ्ग गर्दा म उसलाई सधैँ शिविरका कथाहरू सुनाउँछु । शिविरका मेरा सबै साथीहरू उसले भेटेकी छैन तर धेरैलाई चिन्छे। मेरा छिमेकीहरूका बारेमा पनि उसले राम्रैसँग सुनेकी छे । मेरा शिक्षकहरू, स्कुलका चौकीदार दाइदेखि सेक्टर प्रतिनिधिहरूसम्म, धेरैको नाम उसलाई कण्ठ छ।
उसैका लागि मैले मेरो बाल्यकालसँग मिल्दो-जुल्दो किताब पनि लेखेको छु । रमेश दाइको सहयोगमा यसको नर्वेजियन संस्करण पनि तयार भएको छ । उसले आफैंले “मेरो बाबाले लेखेको किताब” भनेर आफ्नी शिक्षिकासँग कुरा मिलाएर कक्षाको “रिडिङ आवर”मा त्यो किताब पढिदैछ रे । उसका साथीहरूलाई पनि कथा मन परेको छ रे। यो साता एरिकले भुटानको झन्डा बनायो अरे। नुराले शिक्षकलाई “आज किन नपढेको?” भनेर सोधी अरे। अनि एलिजाबेथले “उसको चप्पल भेटियो” भनेर सोध्दै थिई अरे!
छोरीलाई नेपाली सिकाउन नचाहेको पनि होइन। नेपाली किताब पनि किनेर ल्याएको छु। किसानले हलो जोतेको कथा छोरीका लागि असान्दर्भिक हुँदो रहेछ। नेपाली बालकथामा अर्ती-उपदेश धेरै हुँदा रहेछन्। उसको संसार झल्कने नेपाली चित्रकथा भइदिएको भए सजिलो हुने थियो होला ! उसलाई पढ्नका लागि अरू कत्ति धेरै किताबहरू छन्। Pipi, Wimpy Kid जस्ता कथाहरू किसानका कथाभन्दा धेरै मनोरन्जनात्मक हुँदा रहेछन्। उसले बाबाको करले किसानको कथा किन पढोस् ? सामुयल दशैँमा टीका लगाउन ओहायोबाट पेन्सिलभेनियाको आफ्नो मामाघर गएको कथा भएको भए खुबै खुसी हुने थिई होली मेरी छोरी! म बनाएर त भन्छु, ऊ सुनेर खुसी पनि हुन्छे, तर आफैं चाहिँ पढ्न सक्दिन।
मेरी छोरीले पढ्नलाई मैले जसरी दुःख पाउनु हुँदैन भन्ने मेरो चाहना छ। त्यही भएर पलेंटी मारेर नेपाली पढ् भनेर चाहिँ मैले कर गरेको छैन।
हामी हुर्केको संसारमा छिमेक थियो, समाज थियो। शिक्षकहरूले मेरा बुबालाई चिन्नुहुन्थ्यो; बुवाले मलाई काखमा राखेर नपढाउँदा पनि हुन्थ्यो। इन्चार्ज सरलाई मेरो ह्यान्डराइटिङ राम्रो छैन भन्नेसम्म मतलब थियो किनभने उहाँ मेरो बुवाको साथी हुनुहुन्थ्यो।
मैले मेरो बुवाले धेरै ख्याल नगर्दा पनि राम्रै गरेँ तर मेरी छोरीले आफ्ना आमा-बाबाको सहयोगबिना स्कुलमा राम्रो गर्न गाह्रो छ । म मेरो कारणले यहाँ छु र म नै राम्रो हुँ भन्नु अहंकारभन्दा अरू केही होइन। बच्चा हुर्काउन एउटा खास गाउँ चाहिन्छ। हामी आज बसेको समाजमा त्यस्तो गाउँ छैन! हामी सतर्क भएनौं र बच्चासँग समय बिताएनौं भने उनीहरू र हामीबीचको पुस्त्यौनी खाडल बढ्दै जानेछ, सोचहरू च्यातिँदै जानेछन् अनि हाम्रा संसार अलग-अलग हुनेछन् !
मलाई थाहा छैन मैले मेरी छोरीलाई के दिन खोज्दैछु – भाषा, संस्कृति कि आफ्नोपन । हुन सक्छ यो मेरो आफ्नै स्वार्थ हो र मेरी छोरी मबाट टाढा नहोस् भन्ने चाहनाले म उसमा यी सबै कुराहरू आरोपण गर्दैछु! के उसले नेपाली लेख्न जान्नै पर्छ? सायद पर्दैन। ऊ ठूली भएर आफैँ निर्णय गर्न सक्छे तर यो निर्णय गर्ने विकल्प दिने कर्तव्य मेरो हो।
उसले नेपाली पढिन भने म दुःखी हुने छैन। तर कुनै दिन ‘हाम्रो यस्तो राम्रो भाषा तपाईंले मलाई किन सिकाउनु भएन’ भनेर सोधी भने मैंले के उत्तर दिनु ? अंग्रेजीमा ऊ झर्याम्म सिसा फुटेको कथा जिउ सिरिङ्ग पार्दै पढ्न सक्दिन होला !
मसँग कुनै समाधान छैन, न त म यसो गरौँ, यसो गर्नुपर्छ भनेर भन्न नै सक्छु । हाम्रा बच्चाहरूले नेपाली भाषा नसिके पनि हुन्छ भन्ने विचारलाई पनि म सम्मान गर्न सक्छु। तर नेपाली भाषा विरासत महिना मनाइरहँदा कम्तिमा आफैँलाई यति चाहिँ सोधौँ – के हामी आफ्ना बच्चाहरूका लागि नेपाली संस्कृति र हाम्रो पुरानो संसारभित्र छिर्ने अवसर सिर्जना गर्दै छौँ?

