नेपालीभाषी भुटानीहरूको एउटा हार्दिक निवेदन सुनौँ
नेपालीभाषीहरू आज विश्वको पचासभन्दा बढी देशमा पुगिसके, कसैले ५०० वर्ष अघि नेपाल छोडेर (छोडाइएर) अन्य भूमिमा पुगे अनि आसाम, बर्मा, भूटानजस्ता भूमिलाई आफ्नो बनाए । कति पाँचवर्ष अघि मात्र कुनै नयाँ प्रदेशमा पुगेका छन् जस्तै फ्रान्समा, पोर्चुगलमा नेपाली समुदाय बन्दैछन् । अरू प्रतीक्षामा छन् । सबै नेपालीभाषीको उद्गम भूमि नेपाल नै हो ।
त्यसो भएता पनि प्रत्येक भूमिमा नेपली भाषा साहित्यको स्थिति बेग्ला बेग्लै छ । सबैभन्दा दयनीय स्थितिचाहिँ बर्मा र भूटानको छ ।
नेपाली भाषा साहित्यको वर्तमान र भविष्यको आकलन गर्न बेग्लाबेग्लै समयमा/ठाउँमा अनेक सम्मेलन गोष्ठी भइरहेका छन् । यसपालि गत अगष्टमा भएको लन्डनमा सम्पनन भएको तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन एक ऐतिहाकि अवसर थियो । यो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन हो । यसअघि सन् २००९ को अगष्टमा अमेरिकाको न्यूयोर्कमा प्रथम सम्मेलन भएको थियो । यी दुवै सम्मेलनमा आतिथ्य गर्ने अवसर प्राप्त गर्ने मैले आफूलाई धन्य ठानेको छु । किनभने अनेक प्रकृतिका डायास्पोरिक नेपाली साहित्यका स्वरूपको अध्ययनमा मैले आफूलाई समर्पित गरेको छु ।
यसपालिको महासम्मेलन अघिल्लो भन्दा दुई कुरामा अझ महत्वपूर्ण भयो । पहिलो कुरा थियो संस्कृत वाङ्मयको अध्ययन अध्यापनको विषयमा नेपालीभाषीहरूको ध्यान आकृष्ट भएको कुरा; दोश्रो थियो भूटान–नेपाली साहित्यको संरक्षणतिर गुहार माग गरिएको कुरा । पहिलो (संस्कृत विषयको) कार्यपत्र फ्रान्सका हरिहर अर्यालले प्रस्तुत गरेका थिए भने दोश्रो विचारपत्र थियो अष्टेलियाका आइपी अधिकारीको ।
गोरखाबाट गएका हरिहर अर्यालले फ्रान्समा नेपाली भाषा संस्कृतिको परिचयमा गर्नुभएको योगदान बिर्सिनसक्नु छ, । यतिखेर विश्वभरि नै ‘नेपाली भाषा’ संरक्षण र प्रबर्द्धन गर्नेहरूको सङ्ख्या दिनानुदिन बढिरहेको छ । अनगिन्ति छ । नेपाल रहिन्जेल नेपाली भाषा रहन्छ भन्ने विश्वास छ, एक नेपालीलाई नेपाली भाषा सम्झिँदा ढुक्क, आनन्द र गर्व लाग्छ कनिभने अर्काअर्का पुस्तामा पनि अब नेपाली भाषा हस्तान्तरण हुँदै जानेछ ।
उक्त सम्मेलनमा अर्का प्रस्तोता श्री आइपी अधिकारी पनि नेपाली भाषाकै चिन्ताले आएका थिए, तर उनी राजनीतिकरूपले भिन्न नेपाली हुन्— भूटानी नेपाली अर्थात् नेपालीभाषी भूटानी । श्री अधिकारी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज भुटान च्याप्टरका अध्यक्ष; हाल अष्ट्रेलियाको एडिलेडमा विस्थापित छन् ।
आइपीको चिन्ता अलग्गै थियो । उनको विचारपत्र छोटो भएता पनि चोटिलो छ । जसको शीर्षक छ— लन्डन सम्मेलनमा आएका विद्वान्हरूमा विशेष अनुरोध । वास्तवमा यो कार्यपत्र, गोष्ठीपत्र नभएर एक अनुरोध पत्र अथवा अपिल हो ।
त्यस अपिलले मलाई ज्यादै छोएकोले यहाँ अलिकति त्यसको प्रशङ्ग उठाएको छु । आइपीको चिन्ता भुटानको छ, भूटानमा नेपाली भाषाको । त्यहाँ जातीय सफाया (एथ्निक क्लिन्जिङ) मा परेर धेरै नेपाली शरणार्थी भएको कुरा जगत्लाई थाहा छ । त्यहाँका साशकहरू नेपाली भाषालाई नै समाप्त गर्ने काममा लागेका छन् । । परिणामस्वरूप औपचारिकरूपले नेपालीको पठनपाठन र प्रयोग प्रतिबन्धित छ । यो महासम्मेलनले नेपाली भाषालाई अति उन्नत अवस्थामा चारैतिर पु-याउनु थियो भने त्यस सन्दर्भमा आइपीको उद्देश्य भूटानमा नेपाली वाङ्मय र संस्कृतिको सम्पत्तिलाई सुनिश्चित गर्नु थियो । यस्तो विडम्वनापूर्ण स्थितिको चित्र प्रस्तुत गर्दै आइपीले त्यो मर्म प्रकट गरेका छन्ः भूटान विश्वको एउटामात्र त्यस्तो राष्ट्र हो जाहाँ नेपाली भाषा र संस्कृतिमाथि हमला गरिँदैछ ।
यतिखेर परिषदका अध्यक्ष भक्त घिमिरे अमेरिकामा छन् पुराना त्यागी अभियन्ता गंगाराम लामिटारे उतै छन् । स्वभावैले भुटानी–नेपालीहरूसमक्ष आफ्नो परिचयको प्रश्न र त्यसप्रतिको सचेतता अतिनै महत्वपूर्ण कुरा रहेका छन् ।
विगतका वर्षहरूदेखि नेपालका शरणार्थी शिविरबाट उठाएर युरोप अमेरिका र अष्ट्रेलियाका अनेक भूभागमा छरिएका छन् । यो चिन्ता आइवीले त्यसरी पोखेका छन्— अनेसास भुटान च्याप्टरका सबै सदस्यहरू विश्वभर छरिएका छन् । को कहाँ पुग्यो सम्पर्क स्थापित हुन सकेको छैन ।
उनीहरू नेपली भाषा त्याग्ने छैनन् । भाषा प्रेम नै उनीहरूको देश निष्कासनको कारण र भविष्यको परिचयआधार पनि हो । त्यस कारणले गर्दा नेपाली भाषा साहित्यका आन्दोलनमा वा अभियानमा जहाँबाट भए पनि भूटानी–नेपलीहरू आवाज उठाइरहेका छन् ।
यसै अभियानमा लाग्नेहरूले शरणार्थी शिविरमा कुनै प्रकारका साहित्यिक कर्महरू जीवन्त राखेका छन् भने देशबिहीन भएर छरिएकाहरूले पनि इलेक्ट्रोनिक माध्यमद्वारा संगठित हुने र साहित्य सेवा सञ्जाल फैलाउने कार्य गरिरहेका छन् ।
यस सन्दर्भमा यसपल्ट आइपीले गरेको एउटा अपीलले हामी सबैलाई छोएको छ । उनले भनेका छन्— अब उप्रान्त हुने अनेसास सम्मेलनले एउटा कार्यपत्र विशेषगरी विस्थापित भूटानीकातर्फबाट हओस्, उनीहरूको नेपाली भाषाको स्थितिबारे हओस् । त्यसबारे उनीहरूले राखेको चिन्ता र गरेका प्रयत्नबारे होस् ।
आइपीको यस प्रस्तावको ठूलो अर्थ छ । त्यसो त उता पुरानाघरे एउटा अन्तर्राष्ट्रिय संस्थाभित्रै पसेर काम गर्दैछन् । रमेश गौतम अर्कातिर गर्दैछन्, आइपीको प्रस्ताव ती भन्दा भिन्न सामयिक अति महत्वपूर्ण देखिन्छ । त्यसकारण प्रस्तुत आइपीको सङ्क्षेप विचारपत्र तल प्रस्तुत गरेको छु :
लन्डन सम्मेलनमा आएका विद्वानहरुमा विशेष अनुरोध
अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), बेलायत च्याप्टरद्वारा आयोजित नेपाली साहित्यको दोस्रो अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन आउनु भएका सम्पूर्ण साहित्य प्रेमी विद्वतवर्गमा मेरो न्यानो अभिवादन । साथै सम्मेलनको सफलताको लागि शुभाकामना टक्र्याउन चाहान्छु । यो सम्मेलन डायस्पोरामा नेपाली साहित्यको प्रवर्द्धन तथा उत्थानका निम्ति कोषे ढुंगा साबित हुनेछ भन्ने विश्वास लिएको छ ।
लण्डन सम्मेलनमा हामी नेपाली भाषा विकास, प्रचार र प्रवर्द्धनको मन्थन गरिरहदा एशियाकै एउटा मुलुकमा नेपाली भाषा मर्दैछ । त्यहाँको एउटा सिंगो नयाँ पुस्ता नेपाली बोल्न, पढ्न र लेख्न जान्दैन । नेपाली सावा अक्षर चिन्दैन । त्यहाँ घर परिवार भन्दा बाहिर नेपाली बोल्न सक्ने वातावरण छैन । भुटान विश्वको एउटा मात्र त्यस्तो राष्ट्र हो जहा नेपाली भाषा र संस्कृति माथि हमला बोलिदैछ ।
६ बर्ष अघि भुटानको नेपाली साहित्यमा टेवा पुर्याहउने विशुद्ध लक्ष्यका साथ हामीले अनेसास भुटान च्याप्टर खोलेका थियौं । शरणार्थी जीवन जस्तो दयनीय अवस्थामा पनि सयौंको संख्यामा नेपाली साहित्य प्रेमीहरु थिए, कर्मठ र सृजनशील साहित्यकारहरु जन्मिएका थिए । आज त्यो क्रम जारी छ ।
गएको तीन वर्षमा यी अधिकांश साहित्य अनुरागी स्रष्टाहरु पुनर्वास अन्तर्गत पश्चिमा मुलुक आइपुगेका छन् । अरु कैयौं आउने तरखरमा छन् । नेपाली साहित्यको भुटानी भंगालो तिनीहरुसंगै यतै तानिएको छ । यतै आएर पनि तिनको साहित्य प्रतिको लगाव चुडिएन, साहित्य प्रतिको मोह टुटेन । यसको फलस्वरुप साहित्य परिषद भुटान गठन भएको छ । परिषद भुटानको नेपाली साहित्यमा नयाँ आयाम थप्ने जमर्कोमा जुटेको छ – जोडतोडका साथ ।
अनेसास होस या साहित्य परिषद भुटान, हाम्रो लक्ष्य एउटै छ – नेपाली साहित्यको श्रीबृद्धिमा जुट्नु । एउटै भाषा र संकृति बोकेका यी दुइ समुदाय – नेपाली र नेपाली-भाषी भुटानी – का यी दुइ संगठनले केन्द्रीय र क्षेत्रीय स्तरमा पनि संगै मिलेर काम गरे भाषिक आन्दोलनको उचाइ अझ अग्लिने थियो । अनेसासका अध्यक्ष ज्ञानेन्द्र गदाल र परिषदका अध्यक्ष भक्त घिमिरेले यस दिशामा कुनै ठोस र सकरात्मक पाइला चालुन भन्ने मैले आशा बोकेको छु । यसका निम्ति मैले खेलिदिनु पर्ने भुमिका र जिम्मेवारीका लागि सदैव तयार छु ।
अनेसास भुटान च्याप्टरका सबै सदस्यहरु विश्वभर छरिएका छन् । को कहाँ पुग्यो सम्पर्क स्थापित हुन सकेको छैन । म अष्ट्रेलिया आइपुगे भने उपाध्यक्ष डिल्लिराम शर्मा आचार्य नर्वे पुग्नु भएको छ । यसरी छिन्न भिन्न अवस्थामा रहेको अनेसास भुटान च्याप्टरलाई कसरी अघि बढाउन सकिन्छ, यहाँहरुको उपयुक्त सुझावको अपेक्षामा छु ।
नेपालमा रहदा र अष्ट्रेलिया आए पछि पनि मैले व्यक्तिगत रुपमा र संस्थागत रुपमा अनेसासलाई सकेसम्म भुटान भित्रै पुर्याउने सक्दो प्रयास गरेको छु । भुटानमा भएका नयाँ पुस्ताका कैयौ मित्रहरु जो मेरो सम्पर्कमा छन्, तिनीहरु नेपाली भाषा साहित्यको महत्व र अर्थ नबुझ्ने अवस्थामा छन् । पुरानो पुस्ता हिजोको दमनको धङधङीका कारण ‘नपाली; विषयमा केही गर्न चाहादैन । तै पनि भुटान अहिले विस्तारै खुल्दै जादा अनेसास, साहित्य परिषद भुटान र नेपाली साहित्य आन्दोलनमा लागेका विद्वानवर्गले भुटानमा नेपाली भाषा साहित्यको विज मर्न नदिनका लागि यस आन्दोलनलाई त्यहा छिराउनु पर्ने आवश्यक देखिन्छ ।
साच्चिकै भाषा साहित्यको प्रवर्द्धनको आन्दोलनमा हामी होमिएका हौ भने नेपाली भाषा मर्दै गरेको दृश्यलाई हामी टुलुटुलु हेरिरहन मात्र सक्दैनौं । साहित्यको आन्दोलन हिड्दैछ, पाइला मेट्दैछ हुने छैन भन्ने विश्वास लिएको छु । भुटानमा मृत अवस्थामा रहेको नेपाली भाषा साहित्यलाई पुनर्जीवन दिन यस सम्मेलनले ठोस निर्णय लेओस भन्ने अपेक्षा गर्दै फेरी पनि सम्मेलनको सफलताको विशेष शुभकामना ।
आइ पी अधिकारी
अध्यक्ष
अनेसास, भुटान च्याप्टर
हाल अष्ट्रेलियाको एडिलेड
२१ पुस २०६८ प्राध्यापक (अङ्ग्रेजी)
ट्याङ्लाफाँट, कीर्तिपुर त्रिभुवन विश्वविद्यालय
tu.govinda@gmail.com
काठमाडौँ, नेपाल


i lov this
नमस्ते नेपाल
हजुर को विचार र भाव आती राम्रो लागो
हजुर लाइ सुवो कामना
मा पशु पति आचार्य अमेरिका