नफर्किउन् गाउँ  

 मिन्जाई 
हाल : कोरिया
जानेहरू जाउन् चुपचाप गाउँ छोडी
भालेको डाँकमा भेटुन् देउराली
चढाउन् केही थुङ्गा फूलहरू त्यहाँ
बाचा गरून् कहिल्यै नछुट्ने भनी
तर नफर्किउन् गाउँ
जहाँ छन्  –
यसै उसै भड्किएका हुलदङ्गाजस्तै भावनाहरू
सिरेटो जस्तै चिसिएका हार्दिकताहरू
जहाँ छन् –
कुहिरोको काग जस्तै हराउँदै गएका सम्बन्धहरू
बिस्तारै ढुल्मुलिएका सम्पर्कहरू
जहाँ छन् –
मेलामा राखिएको सर्कस जस्तै घुम्दै फिर्दै
केटाकेटी जस्तै यताउता -उतायता
आफै सित रिसाउँदै
त्यसै- त्यसै दिन बिताइरहेका मान्छेहरू
अफसोस !
फर्कनै परे फर्किउन्
गाउँ छोड्दा जसरी मिलेका थिए उनीहरूको हात
जसरी मिलेका थिए मन  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *