Notice – Fifteenth Anniversary Special Issue

आदरणीय स्रष्टा/लेखकज्यू (हरू),

सर्वप्रथम आगामी नेपाली नववर्ष २०८१ को अग्रिम शुभकामना । हामी बेलाबेला हाम्रा लेखकहरूसँग संवाद र छलफल होस् भन्ने चाहन्छौँ । त्यसले गर्दा हामीबिच सद्भाव बढ्नुका साथै विचारहरूको आदानप्रदान पनि हुनसक्छ ।

यहाँहरूलाई अवगत भएकै कुरा हो, विगत ३१ वर्षदेखि साहित्य परिषद्-भूटान भाषा र साहित्यको संरक्षण, संवर्द्धन तथा प्रवर्धनमा यथाशक्य योगदान पुऱ्याउँदै आएको छ । शिविरको सङ्कटग्रस्त जीवनशैली भोग्दै  विगत ३१ वर्षदेखि आजसम्म आउँदा हामीसित दर्जनौँ स्रष्टा/लेखकहरूको जन्म भएको छ । पुनर्वास कार्यक्रमको थालनीकै हाराहारीमा सुरु भएको Bhutaneseliterature.com ले प्रस्फुटित हुन चाहने हाम्रा नवोदित स्रष्टाहरूलाई एउटा मञ्च उपलब्ध गराएको छ । Bhutaneseliterature.com भनेको साहित्य परिषद्-भूटानको प्रकाशन हो जसमा भूटानको पृष्ठभूमि बोकेर संसारभरि छरिएका जो-कसैले पनि आफ्ना सृजनाहरू प्रकाशित गराउँदै आउनुभएको छ र गराउन सक्नुहुनेछ । यसमा भूटानी पृष्ठभूमि नभएका अतिथि साहित्य-साधकहरूको समेत बहुमूल्य योगदान छ जुन लेख/सृजनाहरू पढेर हाम्रा पाठकहरूले प्रशंसा गर्नुभएको छ ।

Bhutaneseliterature.com स्थापना भएको पन्ध्र वर्ष पुगेको उपलक्ष्यमा हामी आगामी मई महिनाको पहिलो साता एउटा बृहत् विशेषाङ्क प्रकाशन गर्दैछौँ । कागजमा लेखेर, छापामा छपाएर पत्रिका पढ्ने जमानालाई प्रविधिले कायापलट गरिदिएको आजको परिवेशमा Bhutaneseliterature.com ले डिजिटल प्रविधिमा प्रकाशन सुरु गरी भूटानको नेपाली साहित्यिक धरातललाई नयाँ उचाइमा पुऱ्याएको छ ।

भूटानबाट विस्थापनको अवस्था भोग्दै समाजको इतिहासलाई क्रियाशील राख्न भाषा-साहित्यको खेती गर्ने क्रममा हामीले बिताएको ३१ वर्ष एउटा निकै लामो कालखण्ड हो । यो समयमा हामीले धेरै किसिमका उतारचढावहरू भोगेका मात्रै छैनौँ अपितु विश्व-भूगोलका अनेक भूभागमा पुगेर जीविकोपार्जनका निमित्त सङ्घर्ष गरिरहेका छौँ । एउटा कालखण्डमा हामी देशबाट भागेर भारत र नेपालका विभिन्न ठाउँहरूमा आश्रय खोजी गरिरहेका थियौँ, अर्कोमा शरणार्थी शिविरमा अनेक किसिमका अभाव, दुःख-दर्द र अन्योलका बिच बाँचेका थियौँ (अझै पनि शरणार्थी शिविरहरूमा  यही परिस्थिति कायम छ) र पछिल्लो समयमा हामी पाश्चात्य तथा अस्ट्रेलियन मुलुकहरूमा पुनवार्सित भएर जीवनलाई सहज बनाउने बाटो खोजिरहेका छौँ ।  यसभित्र हामी प्रत्येकका आ-आफ्ना सङ्घर्ष, दुखेसा, सफलता र असफलताका कथा छन्; प्रेम र वितृष्णाका कहानी छन् । ती अलिखित कथाहरू काल्पनिक विषयवस्तु होइन, हाम्रै जीवन भोगाइका यथार्थ फेहरिस्त हुन् ।

अहिलेसम्म भूटानबाट लखेटिँदै गर्दाका क्षण र शिविरमा बिताएका अभावग्रस्त घडीका कुरामा धेरै सृजनाहरू लेखिएका छन् । तर, पुनर्वासपछि भएका उन्नति र सफलता, व्यथा र दुर्दशाका कुरा साहित्यमा कमै आएका छन् । यसर्थ यसपालि हामीलाई सिर्जना मार्फत  पुनर्वासपछिको कालखण्डतिर फर्किएर हेर्न मन लागेको छ । एक पटक कल्पना गर्नुहोस् त झापाबाट हवाई जहाज चढेर काठमाडौँ, आइओएमको ट्रान्जिट क्याम्प हुँदै संसारभरि फैलिएका हामी आजसम्म कहाँ कहाँ के गरिरहेका छौँ ? शिविरबाट हिँडेपछिको जिन्दगी, बसाइ, भोगाइ ! आ-आफ्ना नयाँ मुलुकमा भएका सामाजिक, सांस्कृतिक, कार्यक्रमहरू, खेलकुद, चाडपर्व-उत्सव आदि ! स्थानीयहरूले अन्य महादेशबाट आउने आगन्तुकहरूलाई हेर्ने दृष्टिकोण, अवधारणाहरू, कानुन र सहुलियत-सुविधाहरू ! इतिहास संरक्षणका नयाँ सरोकारहरू । आफ्नो कुनै पुस्ताले परिकल्पना नगरेका मुलुकहरूमा पुगेर गरिएका सङ्घर्षहरू पक्कै पनि सजिला थिएनन् । हाम्रो प्रौढ पुस्ताले भोगेको भाषाको समस्या । बेरोजगारी तथा दुर्व्यसनीका कुरा । अनि ती सबै बाधाहरू चिरेर नयाँ पुस्ताले गरिरहेको प्रगति आदि ! कति छन् कति लेख्न थालेपछि आउने कुरा ।

माथि उल्लेख गरेका कुराहरूबाट यहाँहरूले पक्कै पनि लेखनको विषयमा थाहा पाइसक्नु भयो होला । यस पटक हामीले तय गरेको लेखनको थिम हो ‘पुनर्वासपछिको जीवन’ । यसै विषयवस्तुको केन्द्रीयतामा रहेर यहाँहरूले कथा, निबन्ध, संस्मरण, कविता, गजल आदि जुन सुकै विधामा स्वतन्त्र र उन्मुक्त भएर लेख्न सक्नुहुनेछ । ‘पुनर्वास पछिको जीवन’ शीर्षकमा लेख्नु पर्छ भन्न खोजिएको होइन; त्यसलाई केन्द्रीय भावभूमि मानेर लेख्नका लागि अनुरोध छ । माथिको छलफलमा हामीले  केही कुराहरू खोतल्ने प्रयत्न मात्र गरेका हौँ । त्यसलाई विस्तार गरी सुन्दर सिर्जना पस्किने काम हामीले तपाईँहरूलाई सुम्पेका छौँ ।

रचना स्वयम सिर्जना गरेको र अन्यत्र कतै पनि प्रकाशन नगरिएको हुनुपर्नेछ । रचना छनोटको अन्तिम निर्णय अधिकार सम्पादन मण्डलीमा रहनेछ । विस्तृत जानकारीको लागि हाम्रो सम्प्रेषण निर्देशिका हेर्नु होला।

रचना सम्प्रेषण गर्ने ठेगाना: editor.bhutaneseliterature@gmail.com

रचना सम्प्रेषण गर्ने अन्तिम मिति:  मे १, २०२४

भवदीय,
सम्पादन समिति
Bhutaneseliterature.com  
अप्रिल २, २०२४

One Reply to “Notice – Fifteenth Anniversary Special Issue”

  1. Ganga R Adhikari

    अादरणीय लेखक तथा स्रष्टाज्यूहरू
    कृपया प्रकाशनका लागि लेख रचना पठाएर साहित्यक महोत्सवमा सहभागी भइदिनहुन विशेष अनुरोध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *