उज्यालोको अभिलाषा

द्रौपदी प्रधान
अमेरिका
धर्तीमा बसी आकाशसँग,
 किरण माग्ने मान्छे म,
पाएको प्रकाश अरूलाई बाँडी,
ओझेल ताप्ने जान्ने मान्छे म।
लुटिई सबैका दुःखहरू,
खुसी भई हाँस्न चाहने मान्छे म,
फल्ने भए
प्रेम र शान्ति,
बाँझो खेत जोत्न मान्ने मान्छे म।
कहिलेकाहीँ समयको चक्रमा,
 ग्रहणको छाया पर्छ यहाँ सूर्यले ओठ टोक्दा खेरि,
चन्द्रले आँखा चिम्लिन्छ जहाँ।
प्रकृति निस्तब्ध हुन्छ अनि,
पन्छीहरू आकाश चिर्छन् विचलित ती प्राणीहरू,
 शून्यताको गहिराइमा झर्छन्।
बोल्दैनन् पञ्चत्वहरू,
हावामा विनाशको गीत चल्छ आँसु बन्छ पानी यहाँ,
 अनि ज्वाला भई अग्नि बल्छ।
धैर्यको मूर्ति बनी माटो,
मौनतामा हराउँछ तर अन्धकारको त्यो पर्दाभित्र,
 उज्यालो नै मुस्कुराउँछ।
ग्रहणको त्यो कालो छाया,
सधैँ कहाँ रहन्छ र? अँध्यारोलाई नचिरीकन,
भोलि कहाँ झुल्किन्छ र?
अश्रुपछि मुस्कान आउँछ,
सूर्यमा फेरि ज्योति टल्कन्छ विचलित भएको जीवन फेरि,
 आफ्नै लयमा फर्कन्छ।
शिशिरको त्यो ठिहीपछि,
वसन्तको पालुवा पलाउँछ निराश भएको मन पनि,
फेरि प्रेममा नै प्रफुल्लित हुन्छ।
ग्रहणको काल बिते पछि,
चन्द्र-सूर्य पुन पुण रम्छ ।
सुख र दुःखको सङ्गम हो जीवन,
हाँसो र आँसु सँगै दिव्य बन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *