सेन्ट्रल पेन्सिलभेनियामा बसोबास गर्ने भुटानी-अमेरिकी समुदायका सदस्यहरूद्वारा जारी प्रेस विज्ञप्ति

सेन्ट्रल पेन्सिलभेनियामा बसोबास गर्ने भुटानी-अमेरिकी समुदायका सदस्यहरूद्वारा BCCPA ले आफ्नै अध्यक्षमाथि गरेको भनिएको इन्भेस्टिगेशनप्रति गम्भीर चिन्ता व्यक्त

[ह्यारिसबर्ग, पेन्सिलभेनिया, अमेरिका] — अगस्ट २4, २०२६

भुटानी कम्युनिटी अफ सेन्ट्रल पेन्सिलभेनिया (BCCPA) को उद्देश्य भुटानी-अमेरिकी परिवारहरूलाई कठिन परिस्थितिको सामना गर्न सहयोग पुर्‍याउनु हो—जसमा मानसिक स्वास्थ्यसम्बन्धी कठिनाइहरू समेत पर्छन्—आवश्यक परेकाहरूको पक्षमा, प्रायः अत्यन्त जरुरी अवस्थामा, आवाज उठाउनु तथा यस समुदायलाई एकताबद्ध राख्ने अर्थपूर्ण परियोजना र कार्यक्रमहरू सञ्चालन गर्नु हो। यी उद्देश्यहरू पूरा गर्न समुदायले इमानदार र आफ्नै नियमको पालना गर्ने नेतृत्वमाथि विश्वास गर्न सक्नुपर्छ।

यो प्रेस बिज्ञप्ति समुदायसमक्ष यो स्पष्ट गर्न जारी गरिएको हो कि तल हस्ताक्षर गर्ने समुदायका सदस्यहरू तथा संस्थाका अगुवाहरूले यस संस्थाले गरेका सबैभन्दा गम्भीर निर्णयहरूमध्ये एक—अध्यक्ष युवराज कोइरालालाई पदबाट हटाउने निर्णय पछाडिको प्रक्रियामाथि अब विश्वास गर्न नसकिने निष्कर्ष निकालेका छन्। उक्त निर्णय एउटा कथित छानबिनका आधारमा गरिएको भनिएको छ, तर त्यस छानबिनको कार्यक्षेत्र, निष्कर्ष वा समयसीमा अहिलेसम्म पनि  प्रस्तुत गरिएको छैन।

संक्षिप्त घटनाक्रम

  •  जुलाई २५, २०२६: बोर्ड सदस्यहरूलाई समेत सहभागी हुन निमन्त्रणा गरिएको कर्मचारी रिट्रिट कार्यक्रमका क्रममा एउटा निजी विषय उत्पन्न भयो। उक्त परिस्थितिबाट सबैभन्दा बढी प्रभावित व्यक्तिको इच्छाअनुसार श्री कोइरालाले त्यस विषयलाई त्यही समयमा सम्बोधन गर्नुभयो। त्यस विषयको विस्तृत विवरण यस वक्तव्यको विषय होइन र गोप्य रहनेछ।
  • जुलाई ३१, २०२६: BCCPA को विधानअनुसार बोर्ड अध्यक्षले बोलाउनुपर्ने आकस्मिक बोर्ड बैठक अध्यक्षको पूर्वस्वीकृतिबिना उपाध्यक्षले बोलाए। कार्यकारी निर्देशकले पठाएको बैठकको निमन्त्रणामा बोर्डका अन्य सबै सदस्यलाई समावेश गरिए पनि कम्तीमा एक जना बोर्ड सदस्यलाई पूर्ण रूपमा छुटाइएको थियो। साथै, सबैलाई बैठकको उद्देश्यबारे जानकारी दिइएको थिएन। श्री कोइरालाले समेत बैठक सुरु भइसकेपछि मात्र त्यसको उद्देश्य आफूलाई अध्यक्ष पदबाट हटाउनु रहेको थाहा पाउनुभयो। त्यही बैठकमा कार्यकारी निर्देशक र कर्मचारीहरूले उहाँ अध्यक्ष पदमा कायम रहे आफूहरूले राजीनामा दिने र BCCPA का परियोजनाका सम्बन्धमा आर्थिक सहयोगदाताहरूलाई रिपोर्ट गर्ने चेतावनीसहितको दबाब दिए।

उक्त दबाबमा श्री कोइरालाले बैठकमै मौखिक रूपमा राजीनामा दिने प्रस्ताव गर्नुभयो, तर बोर्डले त्यसलाई स्वीकार गरेन। त्यसलगत्तै उहाँले बोर्डलाई सीधै सन्देश पठाउँदै आफूले राजीनामा दिएको भए पनि बोर्डले त्यसलाई स्वीकार नगरेको र केही दिनभित्र औपचारिक राजीनामा इमेलमार्फत पठाउने बताउनुभयो। तर उहाँले त्यस्तो इमेल कहिल्यै पठाउनुभएन। त्यसपछि बोर्डले कुनै परिभाषित कार्यक्षेत्र नभएको छानबिनलाई कारण देखाउँदै उहाँलाई आफ्नो जिम्मेवारी निर्वाह गर्नबाट रोकियो ।

  • अगस्ट २, २०२६: श्री कोइरालाकै अनुरोधमा आयोजित बैठकमा, जसमा उपाध्यक्षले उहाँलाई प्रत्यक्ष रूपमा उपस्थित नहुन आग्रह गरेका थिए, उहाँले लिखित वक्तव्य प्रस्तुत गर्दै आफ्नो राजीनामा कहिल्यै वैध नभएको जिकिर गर्नुभयो र बोर्डलाई अगस्ट ९ सम्म यस विषयको समाधान गर्न आग्रह गर्नुभयो।
  • अगस्ट ५, २०२६: बोर्डले श्री कोइरालालाई लिखित रूपमा जानकारी दिँदै छानबिन सम्पन्न भएर त्यसका निष्कर्षहरूको समीक्षा नभएसम्म उहाँको राजीनामा प्रभावकारी नहुने बतायो र छानबिनको परिणाम उहाँसँग साझा गर्ने प्रतिबद्धता जनायो। तर तोकिएको समय बितिसक्दा पनि न कुनै निष्कर्ष आयो, न कार्यक्षेत्र सार्वजनिक भयो, न समयसीमा दिइयो। छानबिन वास्तवमै भइरहेको थियो भन्ने देखाउने कुनै जानकारी आएन।
  • अगस्ट १०, २०२६: कुनै जानकारी प्राप्त नभएपछि श्री कोइरालाले आफू आफ्नो जिम्मेवारीमा पुनः फर्किएको जानकारी बोर्डलाई दिनुभयो।
  • अगस्ट ११, २०२६: त्यसको एक दिनपछि, जुलाई ३१ को बैठककै जस्तो अनियमित परिस्थितिमा अघिल्लो रात फेरि अर्को आकस्मिक बैठक बसेपछि, BCCPA को फेसबुक पेजमार्फत बोर्डले श्री कोइरालाको राजीनामा स्वीकार गरेको र नयाँ नेतृत्व चयन गरेको घोषणा गरियो। यो घोषणा बोर्डले लिखित रूपमा छानबिन पूरा नभएसम्म केही नहुने प्रतिबद्धता जनाएको केवल छ दिनपछि गरिएको थियो।
  • अगस्ट ११, २०२६ (त्यही दिन): फेसबुक पोस्टपछि कमेन्ट सेक्सनमा भुटानी समुदायका सदस्यहरुले धेरै प्रश्न र चिन्ताहरू उठाए, तर तीमध्ये कुनैको पनि जवाफ दिइएन। त्यही साँझ आयोजित सामुदायिक बैठकमा सबै बोर्ड सदस्यलाई निमन्त्रणा गरिएको भए पनि दुई जना मात्र उपस्थित भए। उक्त बैठकमा श्री कोइरालाले समुदायका सदस्यहरूसमक्ष के भएको थियो भन्ने कुरा राख्दै आफ्नो कुरा पनि सुनिनुपर्ने आग्रह गर्नुभयो।

अगस्ट १५ मा BCCPA द्वारा आयोजित सामुदायिक बैठकमा सहभागीहरूले बोर्डसँग पटक-पटक छानबिन के विषयमा थियो, यसको कार्यक्षेत्र के थियो, निष्कर्ष के थियो र छानबिन कसले गरेको थियो भन्ने स्पष्ट पार्न आग्रह गरे। ती प्रश्नहरूको जवाफ दिइएन। श्री कोइरालालाई स्वयं बैठकबाट बाहिर पठाइयो; उहाँलाई साधारण समुदाय सदस्यका रूपमा समेत त्यहाँ बस्न दिइएन। समुदायका सदस्यहरूले उहाँ नबोली र कुनै प्रतिक्रिया नदिई केवल सुन्न मात्र बस्न पाउने कि भनेर अनुरोध गर्दै त्यसको सुनिश्चितता समेत दिएका थिए। त्यसका बाबजुद उहाँलाई बाहिर जान लगाइयो र बैठकको अन्तिम चरणतिर मात्र सुन्न अनुमति दिइयो।

बैठक कुनै समाधानबिना सकिँदै गर्दा उपाध्यक्षले समुदायलाई थप जानकारी उपलब्ध गराउन चाँडै अर्को  विशेष बैठक आयोजना गरिने बताउनुभयो। त्यो प्रतिबद्धता गरिएको झन्डै एक हप्ता भइसकेको छ। पटक-पटक फलो-अप इमेल पठाइए पनि न बैठक तय भएको छ, न कुनै जवाफ आएको छ।

यसको कारण के हो भन्नेबारे हामीसँग प्रत्यक्ष प्रमाण छैन, तर देखिएको क्रमलाई बेवास्ता गर्न कठिन छ: समुदायका प्रश्नहरू स्वयं छानबिनतर्फ केन्द्रित हुन थालेपछि नै ती प्रश्नहरूलाई पन्छाउने, विषयलाई अर्कैतर्फ मोड्ने र अस्पष्ट जवाफ दिने क्रम सुरु भयो। समुदायसमक्ष प्रत्यक्ष रूपमा गरिएको मौखिक प्रतिबद्धतालाई एक हप्तासम्म चुपचाप अनुत्तरित छोड्नु जवाफदेहिता होइन, यो त जिम्मेवारीबाट पन्छिने प्रयास हो।

त्यसकारण, विगत केही हप्ताको घटनाक्रमबाट हामीले निकालेका निम्न निष्कर्षहरूका आधारमा, अध्यक्ष युवराज कोइरालालाई हटाउने औचित्यका रूपमा BCCPA बोर्डले प्रयोग गरेको कथित छानबिनलाई हामी अविश्वसनीय ठहर गर्दछौँ:

१. छानबिनको कार्यक्षेत्र कहिल्यै परिभाषित गरिएन। बोर्डले “छानबिन” भइरहेको उल्लेख गर्‍यो, तर त्यसले के विषय समेटेको थियो भन्ने कहिल्यै स्पष्ट गरेन। उक्त “छानबिन” को कार्यक्षेत्र वा समयसीमा छानबिनको विषय बनाइएका भनिएका व्यक्ति श्री कोइरालासँग समेत कहिल्यै साझा गरिएन।

२. छानबिनको कुनै निष्कर्ष कहिल्यै प्रस्तुत गरिएन। बोर्डले आफैं लिखित रूपमा छानबिन सम्पन्न गर्ने प्रतिबद्धता जनाएको झन्डै दुई हप्ता बितिसक्दा पनि कुनै निष्कर्ष साझा गरिएको छैन।

३. कुनै समयसीमा पालना गरिएन। BCCPA बाट श्री कोइरालाको लामो अनुपस्थितिले पार्न सक्ने प्रभावलाई ध्यानमा राख्दै उहाँले बोर्डलाई अगस्ट ९ सम्म विषय समाधान गर्न आग्रह गर्नुभएको थियो। उचित छानबिन हुन सकोस् भनेर श्री कोइरालाले अगस्ट ९ सम्म आफ्नो जिम्मेवारीबाट अलग रहने प्रस्ताव गर्नुभएको थियो र छानबिनको निष्कर्षपछि आवश्यक परे राजीनामा दिनसमेत तयार रहेको बताउनुभएको थियो। तर उक्त मिति कुनै पनि प्रकारको जानकारीबिना नै बित्यो।

४. “छानबिन” सुरु हुनुअघि नै यसको निष्पक्षतामाथि प्रश्न उठ्ने अवस्था थियो। श्री कोइरालामाथिको छानबिनमा सहभागी व्यक्तिहरू तिनै व्यक्ति थिए, जसलाई जुलाई ३१, २०२६ को बैठकको उद्देश्यबारे सम्पूर्ण बोर्डलाई जानकारी गराइनुअघि नै कार्यकारी निर्देशक र कर्मचारीहरूद्वारा प्रस्तुत गरिएको निवेदनबारे जानकारी थियो र उनीहरूसँग छलफलमा सहभागी भएका थिए। छानबिनको नेतृत्व गरेको भनिएका व्यक्तिहरूले श्री कोइराला जिम्मेवारीबाट अलग रहेको यही अवधिमा बोर्डभित्र माथिल्ला पदहरू सम्हाले—उपाध्यक्ष कार्यवाहक अध्यक्ष वा अध्यक्ष बने र एक साधारण बोर्ड सदस्य कार्यवाहक उपाध्यक्ष वा उपाध्यक्ष बने। थप रूपमा, प्राप्त जानकारी र विश्वासका आधारमा, कम्तीमा एक जना बोर्ड निर्देशकले श्री कोइरालाको स्थानमा नयाँ अध्यक्ष खोज्ने उद्देश्यले समुदायका सदस्यहरूसँग फोन सम्पर्क गरिरहेका थिए।

५. यो प्रक्रिया सुरु गर्ने बैठक विधानअनुसार बोलाइएको थिएन। BCCPA को विधानअनुसार कुनै निर्देशकलाई हटाउने प्रक्रिया त्यसै प्रयोजनका लागि विधिवत् बोलाइएको बैठकमा, बोर्ड अध्यक्षद्वारा अघि बढाइनुपर्छ। तर उक्त बैठक उपाध्यक्ष र कार्यकारी निर्देशकले बोलाएका थिए र बैठक सुरु नहुँदासम्म धेरै बोर्ड सदस्यलाई यसको उद्देश्यसमेत जानकारी दिइएको थिएन।

६. समुदायसमक्ष गरिएको मौखिक प्रतिबद्धता पूरा गरिएन। अगस्ट १५, २०२६ मा समुदाय, BCCPA का बोर्ड निर्देशकहरू र कार्यकारी निर्देशकबीच भएको बैठकपछि बाँकी प्रश्नहरूको जवाफ दिन अर्को बैठक गर्ने प्रतिबद्धता बोर्डले जनाएको थियो। एक हप्ता बितिसक्दा पनि पटक-पटक गरिएका अनुरोधहरू अनुत्तरित छन्। अगस्ट १७, २०२६ समेत गरी सम्पूर्ण बोर्डलाई बैठकका लागि विभिन्न मिति र समय प्रस्ताव गर्दै, वा बोर्डले नै अर्को मिति र समय प्रस्ताव गर्न सक्ने गरी, धेरै इमेल पठाइए। तर BCCPA को बोर्डले ती अनुरोधहरूलाई पटक-पटक बेवास्ता गरेको छ—र सम्भवतः जानाजानी बेवास्ता गरेको देखिन्छ—जसले अगस्ट १५ को बैठकमा उपस्थित समुदायका सदस्यहरूसमक्ष गरिएको प्रतिबद्धताको समेत उल्लङ्घन गरेको छ। 

७. अध्यक्षलाई आफ्नै विषयमा भएका निर्णय प्रक्रियाबाट बाहिर राखियो। यस प्रक्रियाका एकभन्दा बढी चरणमा श्री कोइराला र कम्तीमा अन्य दुई जना बोर्ड सदस्यलाई त्यस्ता बैठक तथा सञ्चारबाट अलग राखियो, जुन बोर्डका अन्य सबै सदस्यले प्राप्त गरेका थिए। 

८. कुनै पनि राजीनामाले विधानमा तोकिएको मापदण्ड पूरा गरेन। BCCPA को विधानअनुसार बोर्ड अध्यक्षले राजीनामा दिन कम्तीमा तीन महिनाअघि लिखित सूचना दिनुपर्छ। कठिन परिस्थितिमा दबाबका बीच बैठकमा जे भनिएको भए पनि, यस घटनाक्रममा त्यस्तो मापदण्ड पूरा गर्ने कुनै राजीनामा देखिँदैन।

यी सबै तथ्यलाई समग्रमा हेर्दा, BCCPA ले “छानबिन” भनेको प्रक्रियालाई हामी वास्तविक, स्वतन्त्र वा विश्वसनीय छानबिनका रूपमा स्वीकार गर्न सक्ने अवस्थामा छैनौँ। उपलब्ध घटनाक्रमले बरु कुनै निष्कर्ष आउनुअघि नै अध्यक्षको नेतृत्वबारे निर्णयहरू भइरहेको अवस्थामा उहाँलाई जिम्मेवारीबाट अलग राख्ने माध्यमका रूपमा उक्त प्रक्रिया प्रयोग भएको संकेत गर्छ।

  • यस अवरोधले BCCPA का चलिरहेका सामुदायिक काममा पर्ने प्रभावलाई ध्यानमा राखिएको स्पष्ट संकेत वा देखिने योजना बिना नै व्यक्तिहरूलाई नयाँ जिम्मेवारीमा पुर्‍यायो। यसको असर सामुदायिक बैठकमै स्पष्ट भयो, जब एक बोर्ड निर्देशकले BCCPA लाई “सिफारिस गर्ने निकाय” का रूपमा व्याख्या गर्दै संकटमा परेका समुदायका सदस्यहरूलाई प्रत्यक्ष सहयोग गरेर श्री कोइरालाले “आवश्यकताभन्दा बढी” गरेको आशय व्यक्त गरे।
  • उक्त अभिव्यक्तिले BCCPA अब कुन दिशातर्फ जाँदैछ भन्ने गम्भीर प्रश्न उठाउँछ। यो समुदायको सेवा र पक्षमा वकालत गर्न स्थापना भएको संस्थाले पूर्वअध्यक्षले असाधारण समर्पणका साथ त्यही उद्देश्य पूरा गरेकै कारण आफ्नो मूल उद्देश्यबाट पछि हट्न मिल्दैन। यदि संकटमा परेका परिवारलाई सहयोग गर्नु नै “आवश्यकताभन्दा बढी” हो भने, वर्तमान बोर्डले समुदायलाई स्पष्ट जवाफ दिनुपर्छ: BCCPA को उद्देश्य के हो, यो संस्था कसको सेवाका लागि हो, र त्यस सेवा गर्ने तरिका के हो?

समुदायको निगरानी र प्रश्न यहीँ समाप्त हुने छैन। यदि बोर्डको जवाफदेहिता यहीँ रोकिन्छ भने, समुदाय यस विषयमा अझ गहिरो रूपमा हेर्न तयार छ—जसमा वर्तमान तथा विगत दुवै नेतृत्वअन्तर्गत संस्थाको आर्थिक कारोबार र हाल सञ्चालनमा रहेका BCCPA का परियोजनाहरूको दायरा समेत समावेश हुन सक्छन। एकपटक गुमेको विश्वास मौनताले पुनः स्थापित हुँदैन।

अन्त्यमा, र सबैभन्दा महत्वपूर्ण कुरा—दायरा स्पष्ट नभएको, निष्कर्ष नभएको र कुनै निश्चित समयसीमा नभएको “इन्भेस्टिगेशनका” आधारमा अध्यक्षलाई समुदायको सेवा गर्नबाट रोकिराख्नु उचित कारण होइन। यो केवल एउटा बहाना हो।

तीन हप्ताभन्दा बढी समयदेखि रोकिएको सहयोगको प्रतीक्षामा परिवारहरू छन्। भावी पुस्ताको नेतृत्व गर्न सक्ने श्री कोइरालाको समर्पणलाई निरुत्साहित गरिनु हुँदैन। उहाँले अघि बढाइरहनुभएको सामुदायिक कामको सम्मान हुनुपर्छ र ती कामहरू अधुरै छोडिनु हुँदैन। त्यसैगरी, हाम्रो समुदायले सधैं गर्व गर्दै आएको BCCPA मेला उचित रूपमा तयारी गर्न उहाँको नेतृत्व र अध्यक्षताको आवश्यकता छ।

समुदायले पर्याप्त समय पर्खिसकेको छ। अब यो विषयले समुदायको कामलाई अल्झाइरहनु हुँदैन। थप ढिलाइ नगरी वास्तविक सामुदायिक काममा फर्किने समय आएको छ।

 

सादर,

सेन्ट्रल पेन्सिलभेनियाको भुटानी समुदायका सदस्यहरू

१. श्री विश्वनाथ क्षेत्री
२. डा. खेम अधिकारी
३. श्री नारद अधिकारी
४. श्री टीका ढुंगाना
५. श्री विनय लुइटेल
६. श्री अमल थुलुङ
७. श्री भरत तिम्सिना
८. श्री अंकित सापकोटा
९. श्री पर्शु अधिकारी
१०. श्री रत्न गुरुङ
११. श्री सुक तामाङ
१२. श्रीमती बिनिता पुरी राई
१३. श्रीमती शोभा घिमिरे
१४. श्री नारायण गौतम
१५. श्री महेश न्यौपाने
१६. श्री गोविन खरेल
१७. श्री अशोक राई
१८. श्री रने राई
१९. श्री रोशन मिश्र
२०. श्री खगेन घिमिरे
२१. श्री नेत्र आचार्य
२२. श्री भागीरथ खतिवडा
२३. श्री प्रेम खनाल
२४. श्री रोहित शर्मा
२५. श्री धीरेन चौहान
२६. श्री नारायण ढुंगाना
२७. श्री कमल न्यौपाने
२८. श्री हमेश ढुंगाना
२९. श्री गंगाराम खतिवडा
३०. श्री गोपाल कट्टेल
३१. श्री भुवानी कोइराला
३२. श्री अर्पण तिवारी
३३. श्री उमेश शिवाकोटी
३४. श्री बिराज अधिकारी
३५. श्री माधव बास्कोटा
३६. श्री प्रताप मगर
३७. श्री अमृत घिमिरे
३८. श्रीमती निर्मला सुवेदी
३९. श्री डेनिस भट्टराई

(Bhutaneseliterature.com, यसका सम्पादकहरू तथा यसको स्वामित्व गर्ने संस्था LCOB यस प्रेस विज्ञप्तिसँग सम्बद्ध छैनन् र यसमा समावेश कुनै पनि सामग्री, विषयवस्तु, भनाइ वा अभिव्यक्तिको समर्थन वा स्वामित्व ग्रहण गर्दैनन्। यस प्रेस विज्ञप्तिमा व्यक्त गरिएका विचार, धारणा तथा मतहरू यसका हस्ताक्षरकर्ताहरूको निजी हुन्।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *