पानी परेको साँझ
विधवा आमा गाउँकै धनी साहुको घरमा भाँडा माझेर जीवन गुजार्थिन्। उनको दुःख देखेर त्यही घरमा काम गर्ने अर्का एक गरिब नोकर छविले उनीसँग विवाह गरे। गाउँलेहरूले अनेक कुरा काटे।
“नोकरले विधवासँग बिहे गर्यो रे!” तर छविका लागि समाजको कुराभन्दा मानिसको पीडा ठूलो थियो। समय बित्दै गयो। छवि र उनकी श्रीमतीले दुःख गरेर छोराछोरी पढाए। छोराछोरी सहर गए, राम्रो काम पाए र बिस्तारै सम्पन्न भए।
उता साहुको परिवार भने घमण्ड र आलस्यमा डुब्यो। छोराहरूले सम्पत्ति बेच्दै गए। अन्ततः उनीहरू गरिब बने। एक साँझ मुसलधारे पानी परिरहेको थियो। पुरानो ठूलो घरको चुहिने छानामुनि वृद्ध साहु एक्लै पल्टिरहेका थिए। साथमा न छोराछोरी थिए, न सेवक। त्यही बेला साहुको अवस्था थाहा पाएर छवि र उनकी श्रीमती त्यहाँ पुगे।
वृद्ध साहुले काँपेको स्वरमा भने, “धन कमाएँ, तर मान्छे कमाउन सकिनँ।”
पानी झन् ठूलो आवाजसँगै परिरह्यो। केही बेरमै वृद्ध साहुको सास रोकियो।
छबीले चुपचाप उनका आँखा बन्द गरिदिए।
त्यो साँझ गाउँलेहरूले पहिलोपटक बुझे—धनी हुनु र ठूलो मान्छे हुनु एउटै कुरा होइन रहेछ।

