दिगो समाधान

हेम गुरागाईं 
नेपाल

दादघारी। भुटानको गेलेफु सहर सँग सीमा जोडिएको भारतीय गाउँ । यही गाउँमा छ गौरीको घर।

२० जुन, सन २०२२। आज शरीर निकै भारी छ गौरीको। केही गर्ने जाँगर छैन। छेवैको ठुटामा बसेर उसकै घरतिर फर्केर काग कराइ रहेछ एकनास। मनमा चिसो पस्छ। रोऊँ-रोऊँ लागेर आउँछ बिना कारण। आज घाम पनि मधुरो छ, नरमाइलो। मुन्टो उठाएर घाम हेर्छे। आँखा झुकाएर लोलाएको घाम—लाग्छ ऊसँग आँखा जुधाएर हेर्न चाहँदैन। तर किन? त्यसै-त्यसै मन आत्तिन्छ। जसोतसो जाँगर चलाएर काग धपाउँछे।

यत्तिकैमा फोनको घण्टी बज्छ। कुदेर भित्र पस्छे। फोन उठाउँछे। एकाएक उसको शिरमा बज्रपात हुन्छ। गेलेफु भुटानको सलाई फेक्ट्रि भन्ने ठाउँमा बाबा खस्नु भएको खबरले।

रुँदै-कराउँदै गेलेफु गेटतिर लाग्छे। गेटमा तैनाथ भुटान पुलिसले रोक्छ। गौरीले रुँदै बिन्ती बिसाउँछे। “सेप्टेम्बर २२ पछि मात्र बोर्डर सिलबन्दी खुल्छ ल। अन्त, ‘लक्  डाउन्’ नि तेइ दिन खुल्छ हो…माथिको अर्डर छ, हामी तपाईँलाई मदत गर्नु सक्देना ल! मनदुख नगर्नुको, फर्की जानुको हो ल!”

“इन्डिया, नेपाल…सारा संसार खुलि सक्यो। तिमीहरूको भुटान चैँ के भाको? न जनसंखे छ, न कोरोना फैलेको छ। बित्थामा! के निहुँ पाउँ कनिका बुकाऊँ भने जस्तो… जनतालाई मुठीमा राख्ने दाउ हो तिमेरको। होस गर, पाप धुरीबाट कराउला!” रुँदै कराउँदै फर्केर आइ गौरी।

+

गौरी मेघनाथकी जेठी छोरी हो। मेघनाथ सन १९९० को आन्दोलनको क्रममा जेल पर्‍यो। यता उसका बाउ-आमा, पत्नी र छोरा-छोरी देश निकाला भएर नेपाल गए। सन १९९५ मा जेलमुक्त भएर गाउँ फर्किँदा घर-जग्गा लिलाम भइसकेको थियो। देश द्रोहको आरोपमा जेल परेकै दिन उसको नागरिक हक छिनिएको हो। जेल मुक्तिले उसलाई खुला आकाश त दियो तर नागरिकताको प्रमाणपत्र समेत दिएन। उता झापा-शिविरमा स्वास्नीको पनि अर्कैसँग घरजम भई सकेको खबर थियो।

मेघनाथ देशभित्रै शरणार्थी भयो। कहिले कसको त कहिले कसको खेत-बारीमा हली बसेर बाँकी जिन्दगी बितायो। जमिन धनीले छोड भन्दा छोड्नु पर्ने। अरू कसैको जमिन खोजेर कमाउनु पर्ने। कहिले अधियाँ गर्नु पर्ने त कहिले हली नै बस्नु पर्ने। सरकारले आफ्नो जमिनमा कमाइ खान समेत दिएन। “तिम्रो आपाको नाममा थियो यो जमिन। तिम्रो आपा त ङोलोक्पा भएर झापा गोएछ। अन्त तिमी चेन् के खानु बसेको हो भुटानमा झापा नागोएर? कि फेरि उग्रबादी काम गर्देछा हो ?” राष्ट्रिय भूमि आयोगको कार्यालयमा मेघनाथले यस्तो जवाफ पायो। आँखै अगाडि हिमालतिरबाट पुनर्वासमा ल्याइएको खेङ्पा जातिको भोटेको नाममा दर्ता भयो उसको जमिन।

कामको चाप र दुखको पहाडले थिचेपछि छिट्टै उसलाई कसै न कसैको साथ सहयोगको खाँचो महसुस भयो। आखिर उसले पनि दोस्रो बिहे गर्‍यो। गौरी मेघनाथकी कान्छी श्रीमती पट्टीकी जेठी छोरी हो। निकै कष्ट सहेर छोरा-छोरी हुर्काएको हो मेघनाथले। एन. ओ. सी. (‘नो अब्जेक्सन् सर्टिफिकेट’) नभएका कारण दुई छोरा छोरीलाई स्कुल भर्ना गर्न सकेन। नागरिकता नै जफत भएको मान्छेलाई प्रशासनले एन.ओ.सी. दिने कुरै थिएन।

पछि सन २००६ मा पाँचौँ राजाको शासन सुरु भएपछि बल्ल धेरै कुरा सहज हुँदै जाला जस्तो भयो। बिना एन.ओ. सी. पनि स्कुल भर्ना हुने भयो। तर त्यति बेलासम्ममा दुई छोरा-छोरी हुर्की सकेका थिए। स्कुल जाने उनीहरूको उमेर थिएन। कान्छी छोरीलाई भने स्कुल लगायो।

नागरिकता खोसिएकाहरूलाई ‘सेन्सेस बिग्रेको’ भन्ने चलन छ। कानुन अनुसार उनीहरू १ नम्बर बाहेक अन्य २ देखि ७ सम्ममा पर्ने दोस्रो दर्जाका अर्थात् सीमान्तकृत नागरिक हुन। यस्ता नागरिकलाई नागरिक हक, शिक्षा, रोजगार, सम्पत्तिको हक, आवास र अनुदान आदिबाट शक्त वञ्चित गरिएको छ।

पढ्न नपाएरै उमेर ढल्कियो। दैनिक ज्यालादारी मजदुरी गर्ने हक समेत छैन। अधियाँ गरेको अन्नले खानै नपुग्ने। पैसाको मुख देख्न पनि मुस्किल। अरू त अरू बिहे गर्न पनि “सेन्सेस बिग्रेकै” भेटे मात्र। नत्र “सेन्सेस हुने”ले त सुन्नै नमान्ने। यही पिरले गौरीले सिमा पार विवाह गरेकी हो। दुख त छँदै छ। तर आसाममा रोजगार पाइन्छ। उसको लोग्ने ज्यालादारी मजदुर हो । कुनै कारणले काम पाइएन भने पनि वर्षको १०० दिन सरकारले निर्माण कार्यमा खटाएर पैसा दिन्छ। रासन कार्डको सहुलियत छ। । गौरी घरमा बाल-बच्चा, सासु -ससुरा र गाइ-बस्तुको हेरचाह गर्छे।

+

गौरीले आसाममै बाउको काज किरिया गर्छे। विधिको विडम्बना हो कि शासकीय असहिष्णुताको परिणाम? “हिँडेर पुगिने ठाउँमा बाउ मर्दा समेत जान नपाउनु! हा दैव! कुन जुनीको पापको फल दियौ?!” खुइया सुस्केरासँगै पिर- व्यथा दबाउने कोसिस गर्छे गौरी। विगतका यादहरू सल्बलाउँछन। दिनमा भन्दा रातमा ती सक्रिय हुन्छन्। एकै छिन चैन दिदैनन यादहरूले। मानौँ ती याद होइनन्, शरीर भरी सल्बलाइ रहेका अनगिन्ती विषालु सर्प हुन। उसलाई अचानक चिच्याउन मन लाग्छ। जुरुक्क उठेर भाग्न मन लाग्छ कता हो कता! तर न चिच्याउन सक्छे न त उठेर भाग्न नै। मानौँ ऊ कुनै गुफामा सास रोकेर सुकेका पात ओढेर लमतन्न सुतेकी छे नजिकै बसेको बाघको डरले । उसले हलचल गर्नु हुँदैन। सलबलाउन बरु सर्पहरू शरीर भरी।

सन २००९ को जाडोमा झापाबाट मेघनाथकी आमा र जेठी पट्टीका छोराछोरी आसाम आएका थिए। शान्तिपुरमा एक जना भुटानबाट लखेटिएका सज्जन, दधीरामको घरमा भेट भयो मेघनाथ र उसको बिछोडिएको परिवारको एउटा हिस्सासँग।

“सप्पै भाग्यको खेल र’छ, छोरा। छुट्ने बित्तिकै नेपाल आको भा आज सँगै अमेरिका जान पाइन्थ्यो। आइनस। के गर्नु? म त तँसँग बिदा माग्न आकी। यो त पक्कै पनि कान्छो भेट हो, छोरा! अब यत्ति हो यो जुनीलाई…!” आमा भक्कानिइन्।

मन दह्रो पार्ने कोसिसमा मेघनाथले आमालाई ढाडस दिन खोज्यो, “पिर नलिनु, आमा! बिस्तारै राम्रो हुँदै जान्छ। यो मर्ने चोला, जे होला होला। मेरो पिर नगर्नु। जति दुख भए पनि मागेर खानु परेको छैन, चोर्नु परेको छैन। ‘नाइन्टी’मा पनि कति साथीहरूले त बदमासी गरे। तर मैले त पार्टीको ‘डिसिप्लिन’ मानेरै काम गरेँ। यत्ति हो, तिम्रो कोखबाट जन्मेर तिमीलाई केइ पनि दिन सकिनँ, बाउ-आमाको सेवा गर्न सकिनँ। भए-नभए देशको लागि गरेको हुँ…” बोल्दा-बोल्दै बच्चा जस्तै डाको छोडेर कुम हल्लाउँदै रोयो मेघनाथ, “आमा, मलाई माफ गरिदेऊ!”

माहौल स्तब्ध भयो। आमाले नै पहिले सम्हालिनु पर्ने भयो। सम्झाइन आमाले नै।

त्यसपछि निकै बेर वातावरणमा स्तब्ध मौनता छायो।

“झापाका मान्छेले अडान लिनु पर्ने थियो। हुन त अडान लिनेहरू पनि रछन। कति त यता इन्डियातिर आए भागेर। कमसेकम नेता र बुद्धिजीवीले अडान लिनु पर्ने हो। सर्त राख्नु पर्ने हो। यसरी नेतै अगाडि लागेर उल्टो रास्ता नहिँड्नु पर्ने। इन्डियामा हामी हजारौँ छौँ। बिसौँ साल देखि कुन दिन नेपालबाट आफ्ना मान्छे देश फिर्ता होलान् र सँगै जाउँला भनेर बाटो हेरेर बसेका छौँ। अब त सपना उडायो है पछिमको हावाले!” दधीरामको कुराले मौनता तोड्यो।

“हो त। कसै-कसैका छोरा भुटानको जेलमा छन्। कसैका बाउ होलान्। नेताहरूले उनीहरूको रिहाइको सर्त राख्नु पर्थ्यो। अब चैँ कति वटा परिवार छरपस्टै छर्ने भो संसार भरि। १३ सूत्रे मागमा त अमेरिका जान पाऊँ भन्ने माग छँदै थिएन । फेरि एउटै माग पुरा नहुने कुरामा कसरी अघि लागे हौ नेता पनि!”

“हामीलाई त युनिस्यार (युएनएचसिआर) का मान्छेले आपिसमा बोलाएर भुटानले लादैन, नेपालले राख्दैन, अलिकपछि रासिन-पानी काटिन्छ अनि कसरी बाँच्छौ भनेर डर देखाको देखाइ गर्छन्। हुन पनि त्यस्तै भयो भने के गर्नु? टेक्नु न समाउनु! नेपालमा टाउको लुकाउन समेत नपाइने दिन आउला भन्ने डरले जाने भइयो। आ…अब जे त होला!” मेघनाथकी आमाले दुख बिसाउँदै आफ्नो विवशता प्रस्ट्याइन।

“हैन, जानु नि जान त। तिमी-हामी जस्ता लाटा-सिधा जनताको कुरा एउटा हो कि, नेताको कुरा अर्कै हो। कम्ती पढेको भए पनि अलिअलि राजनीति त बुझिन्छ नि। नेताहरूको राजनीति गराइ पो भएन भनेको त!” मेघनाथले आमालाई ढाडस दियो।

“हो नि त! नाइन्टीमा पार्टीको ‘वाइ ग्रुप’ कमान्डर भइसकेको मान्छे हो, आमै तिम्रो छोरो। सानो-सानो खालको नेतै हो। चिन्ता नलेऊ। पछि भुटानमा परिवर्तन आएपछि प्रधानमन्त्री हुन बेर लाउँदैन।” खिस्स हाँस्दै मजाक गरे दधिरामले।

“नापियो…!” ओठ लेप्र्याइन आमैले।

“मलाई राजनीति पढाएर भुटानको मुक्तिको बाटोमा हिँडाउने तपाईँ आसामको मुख्यमन्त्री भई हाल्नु भो। अनि म चैँ किन नहुनु त भुटानको प्रधानमन्त्री?” सँग-सँगै खिस्स हाँस्यो मेघनाथ।

दधिरामले ब्याङ्य गरे असमिया लवजमा, “हुन त राष्ट्रपति नै हुन्थ्यौ होला नि! के गर्नु र! दोलोन (पुल) भत्काएपछि कि त  तैर्न (पौडिन) सक्नु परो कि त सपना भुल्नु परो नि! नेता जति दोलोन भत्काएर अँध्यारो सुरुङतिर पस्न थाली हाले! न के? (होइन त?)”

सबै गलल्ल हाँसे। कति छिटो माहौल बदलियो।

“जानेलाई बाटो छ, बस्नेलाई माटो छ। मुले शासकले कति दिन हैकम जमाउन सक्ला र? माटो त जनताको हुन्छ। एक दिन न एक दिन त माटो उपरको हक जनतामा आएरै छाड्छ‌। अगर हाम्रो पालामै आएन भने पनि कोही बात छैन। जहाँ गए पनि मर्नु त पर्छ नै। माटो त साझा हो, जुन देशमा बसे पनि उही हो। तर इन्साफको ‘कस्ट्’ मा देश बदल्ने रित बस्यो भने वीर जातिको नाममा धब्बा लाग्न के बेर? इन्साफको खातिर अडान लिनु वीर जातिको पहिचान हो ! सुनेको थिएँ कतै, वीर जाति भाग्नेको अपवाद हो, भगाउनेको उपमा!” थपे स्वाभिमानका कुरा दधिरामले।

+

दधिराम सुरुदेखि नै नेपालमा शरण लिने कुराको विरोधी थिए। नेपालमा बस्नाले ढिलो-चाँडो आन्दोलन तुहिन्छ भन्ने उनको ब्रह्मले ठान्दथ्यो। भारतले शरण नदिए पनि नेताहरूले दिल्लीलाई नै मनाउने भगीरथ प्रयत्न गर्नुपर्छ भन्ने उनको राय थियो। सबै नेता दिल्लीमा बसुन् भन्ने उनको सल्लाह थियो। आफूमा नेतृत्व लिन सक्ने हैसियत नभएको र नेतागण नेपालतिर बर्गेलिएको देखेर उनले भारतमै बसेर पर्खिनुको विकल्प देखेनन्। आफ्नो झुपडीको बाटो भएर कुनै दिन नेपालबाट आफ्ना मान्छे फर्केलान् र आफ्नो घर फिर्तीको माग उठाउन पाइएला कि भन्ने झिनो आशा चाहिँ दधिराममा छँदै छ।

+

छ महिना अघिको त कुरा हो मेघनाथका जेठी पट्टीका छोरा-छोरी र बहिनी अमेरिकाबाट नेपाल र इन्डिया घुम्न आएका थिए। भुटान खुलेकै थिएन। जताततै पिकनिकको रौनक थियो। आसाममा मान्छेहरू सङ्कट भुलेर वनभोजमा रमाउँदै थिए। भुटानमा भने मान्छे घर-घरमा कैद थिए।

फोन मार्फत मेघनाथलाई गौरीको घरमा बोलाइयो। सिमा पार आवागमनको अनुमति पाइएला भन्ने मेघनाथलाई लागेको त थिएन। तर कोसिस गर्‍यो। कागजातको नाममा जोङ्दा (जिल्लाधीश) ले दिएको “मेघनाथ नागरिकताको प्रमाणपत्र प्राप्त गरिनसकेको भुटानी हो” भन्ने ब्यहोरा सहितको सिफारिस मात्र थियो दुई दशकदेखि सुरक्षित राखेको। सोही कागज देखाएर सीमा पार जाने-आउने गर्थ्यो। यस पटक पनि प्रशासनमा बिन्ती बिसायो।

“सिटिजनसिप होल्डरलाई त देश बाहिर जानु दिदेना। तिमीलाई किन दिन्छा?” प्रशासनले इन्कार गर्‍यो। सिमासम्म आइ पुगेर बाउ नभेटि अमेरिका फर्किए मेघनाथका छोरा-छोरी‌ र बहिनी।

बहिनी गीताका आँसु रोकिएनन्। रुँदै बिदा भइन। “एउटा भको छोरो चेम्गाङ जेलमा छ। विधाताले संसारको पल्लो छेउ पुर्‍यायो। एउटा भएको माइतीलाई १२ बर्षपछि भेट्न आउँदा पनि मुखै नदेखि फर्किनु पर्‍यो। यस्तै त रैछ नि ‘ड्युरेबल सोल्युसन’ पनि!” गीताको बिलौनाले सबैलाई रुवायो। कतिलाई विस्मरणको अनन्त भुलभुलैयामा सम्मोहित गरेर सुखको परमानुभूति गरायो होला। तर गीता, मेघनाथ र गौरीहरूलाई वियोग र अन्त्यहीन दुखको आजीवन स्वाद चखायो दिगो समाधानले।

+

काज-किरिया सकियो। सकिएन अन्त्यहीन दुखको सिलसिला।

आज गौरी घरको पेटीमा बसेर उत्तर दिशातिर टोलाइ रहेकी छे एक टकले। लोलाइ रहेका छन् उसका आँखा। आँसु झरिरहेका छन्, तर उसलाई भान समेत भएको छैन। सिर्सिर बतासले अङ्ग-अङ्ग बिझाए जस्तो भएको छ। तर प्रतिक्रियाहीन बसेकी छे। कति होसमा छे, कति बेसोहीमा, उसलाई सायद थाहा छैन। किन टोलाउदैछे, सायद त्यो पनि थाहा छैन।

यादहरू सलबलाइ रहेकै छन् मस्तिष्कका तन्तुहरूलाई घोची-घोची, मनका छेउ-कुनामा मानौँ गैँती हाने जसरी। तर निष्प्राण मुढो झैँ हल न चल बसेर उत्तरतिरबाट मडारिँदै आइ रहेको कालो बादललाई हेरि रहेकी छे गौरी। उसलाई चेकपोस्टको पुलिस झैँ निर्दयी लाग्छ त्यो कालो बादल। शासक-प्रशासक झैँ निरङ्कुश!

थाहा छैन कहिलेसम्म मडारिने हो माइतीघरको  आकाशमाथि निरङ्कुश कालो बादल!

-ईति-

 

3 Replies to “दिगो समाधान”

  1. Sita Rai

    Heart touching Story about bitter reality. Thanks for sharing hidden truths behind ‘gross national happiness’.

  2. परदेशी गाराजा पुमा

    मलाई त यो कथा होईन वास्तबिक्ता जस्तो लाग्दै छ त !
    यो कथा पढ्दै गर्दा मेरो मष्तिकमा एउटा यस्तै परिवारको जिवन्त चित्रण आईरहेको थियो जसमा पात्रको नामहरू आफै मानषपटलमा मिल्दै थियो तर अलि अलि थपिएका काल्पानिक कारूणिक शब्द सरिताले कथालाई माओखोलाको भेल जस्तो “बगि गए बग्नेहरू,कहि अडिनेमा आशा त छदै छ,
    सुक्यो होला हरेक हिउदमा आइपाली र पैठा ..
    तर कसै कसैको हृदयमा आगो त छदै छ…!!!”

Leave a Reply

Your email address will not be published. Required fields are marked *