कवि नारायणप्रसाद लुइँटेल : संक्षिप्त जीवनी

चुहुदो झरी घास् दाउरा गरी कष्टले बाच्नु छु।
यो परम्परा कुरिती सारा मिलेर तोडौं है
लौ आँखा खोल महिला बोल संगठन जोडौ है। अबलाको भनाई
नेपाली भाषी भुटानीहरुको स्रस्टाको खोजी कार्य निरन्तर रुपमा जारी छ।हालसम्मको खोजी कार्यले कवि नारायण प्रसाद लुईंटेल एक अग्रज र सशक्त कविको रुपमा चिनिनु भयो ।कवि नारायण प्रसाद लुइँटेल नेपाली भाषी भुटानी साहित्यका एक सरल, स्वाभाविक र जनजीवनसँग नजिक रहेका सर्जक हुन्। उनको जन्म भुटानको साम्ची जिल्लाको पानबारी गाउॅमा सन् १९०८ मा भएको हो र मृत्यु सन् १९९७ सालमा उनानब्बे वर्षको उमेरमा सिब्सुको हागे कालीमाटीमा भएको थियो । कवि नारायण प्रसाद लुईंटेल बाबा खडानन्द र माता छायादेबी लुईंटेलका माइला छोरा थिए।उनका परिवारमा एक दाजु र एक भाइ थिए भने उनका छ जना बहिनीहरु थिए।
कवि नारायण प्रसादका परिवारले भुटानी राजाबाट कासो (जमीनको धनीपुर्जा) पाएर ताला भुटानमा बसाई सराई गर्नु भयो।सन् १९५८ मा सिब्सु भुटानका मण्डल हस्त बहादुर खड्का क्षत्रीले पण्डित नारायण प्रसाद लुईंटेललाई आफ्ना घरमा पुराण वाचन गर्न बोलाए।त्यस उपलक्ष्यमा मण्डलले केही भूमिदान गरे। पछि उनलाई त्यो स्थान धेरै मन परेकाले त्यही अरु जमीन किनेर सपरिवार त्यही बस्नु भयो । हिन्दू ग्रन्थहरुमा उल्लेख भए अनुसार भूमिदानको ठूलो धार्मिक महत्व रहेको मानिन्छ । भुटानमा त्यस समय ठूला-ठूला जमिन्दाहरु थिए । त्यसैले गुरु पुरोहितहरुलाई भूमिदान दिनु त्यसताका सहज थियो । जुनकार्यमा आज पनि धर्मप्रति ठूलो आस्था रहेको मानिन्छ ।
बाबा खडानन्द लुईंटेल जुन स्थानमा बसाई सराई गरेर बस्नु हुन्थ्यो त्यही स्थानमा आफ्नै अॅागनमा मन्दिर निर्माण गर्नु हुन्थ्यो । ताला भुटानमा रहॅदा पनि उहॅाको आगनमा शिव पाञ्चायिन मन्दिर बनाएको थियो । उहॅा बडो सन्त-साधु स्वभावको हुनुहुन्थ्यो । पछि उहॅाका पुत्र कवि नारायण प्रसाद लुईंटेलले पनि आफ्ना पितापुर्खाले नियम पालना गर्दै आएका धार्मिक नीति नियमहरुलाई सजीव राख्नु भयो र सिब्सुको हागे कालीमाटीमा आफ्नै आगनमा एउटा विष्णु पाञ्चायिन मन्दिर स्थापना गर्नु भयो । जुन मन्दिरमा आज पनि उहॅाका नाति-पनातिहरु पुजारीका रुपमा रहिआएका छन् ।
जित्ती र सिब्सु नदीले सिञ्चित सिब्सुको हागे कालीमाटीमा रहेको घर-जग्गाजमीनमा नै कबि नारायण प्रसादको बसेबास रह्यो । कालीमाटी भौगोलिक रुपमा पनि सम्थर र उन्नतिका खेतीपातीका पनि अत्यन्तै ऊरबर जमीन हो । त्यहाका मानिसहरु विशेष गरी कृषी व्वसायमा नै निर्भर छन् । तराईको जमीन भएकाले त्यस कालीमाटीमा अत्यधिक धान खेती रहेको छ । धान अन्नबालीका अतिरिक्त हागे कालीमाटीमा नगदे बालीहरु सुपारी,नारियल,लिचीहरु पनि प्रसस्त मात्रामा फल्दछ । सुन्दर गाउॅ,स्वस्थ हावापानी र प्रसस्त अन्नबाली उब्जाउ हुने भएकाले आज पनि कबि नारायण प्रसाद लुईंटेलका छोरानातिहरु त्यही पुर्ख्यौली घर र आसपासमा बसोबास गर्दै आएका छन् ।
बाल्यकालदेखि नै अध्ययनशील, अनुशासित र सिर्जनात्मक स्वभावका कवि नारायण प्रसाद लुइँटेलको प्रारम्भिक शिक्षा हाल पश्चिम बङ्गालको बाक्साद्वारका गुरु पण्डित रङ्गलाल गौतमबाट शुरु भयो।गुरु रङ्गलाल त्यहा भारतीय सैनिकद्वारा निर्मित एउटा मन्दिरका पुजारी थिए।त्यहा उनीले वेद र अरु संस्कृतका ग्रन्थहरुको अध्ययन गरे। उनले पण्डित गौतमसित कर्मकाण्डहरु पनि सिके । पछि उनी उच्च शिक्षाका निम्ति बृन्दाबन गए । उनले बृन्दाबनमा व्याकरण र पुराणहरुको विषयमा राम्रो दखल राखे । शास्त्रीय विषयहरूमा गहिरो अध्ययन हासिल गरे। त्यहॅी उनले उत्तरमध्यमासम्मको शैक्षिक योग्यता उतीर्ण गरेका थए ।
उनका काव्य-कृतिहरु——-
१)शिवालय महात्म्य २)ज्ञान दर्पण नारायणोपदेश ३) मध्यषोडशी श्राद्धप्रयोग विधि ४)नारायण ज्ञान मञ्जरी प्राप्य छन् ।

उनीद्वारा रचित काब्यहरुमा नारी चेतना,नैतिक चेतना , जीवन र जगतकाजमा आइपर्ने विशेष अवस्था र आध्यामिकताका गहिरा विषयहरू समेटिएको पाइन्छ । साथै सामाजिक यथार्थ, जनजीवनको सरलता र मानवीय संवेदना पनि उनका काव्यकृतिहरुमा समेटिएका छन्।
उनी संस्कृत साहित्यका ज्ञाता थिए। साथै, नेपाली साहित्य, कविता र नाटकप्रति पनि उनको गहिरो रुचि थियो। लेख लेख्ने, टीका-टिप्पणी गर्ने र साहित्यिक गतिविधिमा संलग्न रहनु उनको स्वभाव थियो।
पण्डित कबि नारायण प्रसाद लुईंटेल एक कुशल पुराण वाचक पण्डित थिए।ज्योतिष शास्त्रमा उनको निकै गहिरो अध्ययन थियो।उनको समय पुराणवाचन गर्नु , जन्म कुण्डी टीप-चिन्हा लेख्नु र केही बचेको समयमा साहित्य साधना गर्नुमा नै समय बित्ने गर्थ्यो।
कबि नारायण प्रसाद लुईंटेल एक अत्यन्तै राष्ट्र भक्ति कबि थिए । उनाका काब्यकृतिहरुमा नै राष्ट्र भक्ति र राजभक्ति भावना पाइन्छ ।
उनीले राष्ट्रमा भएको विकास कार्य र विकासप्रेमी राजाको वर्णन कविताका माध्यमबाट यसरी गरेका छन्,जसको एक नमुना यस प्रकार छ –
गुम्बा,मन्दिर,मील,पूल,बिजुली,उद्योग-शाला कति
टेलीफोन,कुलादी पानि,सडकै,ब्यांकादिका उन्नति।
चीठी देशविदेशमा खुलिदिॅदा कल्याण सर्वत्र भो
यस्ता श्रीमहाराजको जय रहोस् भुटान-सरकारको ॥-नारायणोपदेश
कबिको उक्त कबिता भुटानका विकास र जनताप्रेमी तेस्रा राजा जिग्मीदोर्जी वाङछुकप्रति समर्पित कबिता हो । जसलाई आधुनिक भुटानका पिता भनेर चिनिन्छन् । (फादर अफ मोडन भुटान)
सामाजिक जीवनमा कवि लुइँटेल प्रस्ट वक्ता , मिलनसार, स्वाभाविक र सरल व्यक्तित्वका धनी थिए। उनी महिला अधिकारका सम्बन्धमा आवाज दिने , स्वाभाविक जीवनशैली र सामाजिक चेतनाका पक्षधर थिए। आफ्नो परिवारलाई लगनशील रूपमा पालन-पोषण गर्नुका साथै साहित्य सिर्जनालाई पनि उत्तिकै महत्व दिन्थे। उनी रमाइलो साधारण जीवनशैली मन पराउने र उच्च विचारमा रमाउने व्यक्ति थिए।
महिलाहरुको सङ्घर्षप्रति सचेत कबि लुईंटेल भन्नुहुन्छ—-
चुल्हो छ जुठो खानु छ पीठो आधारात् सुत्नु छ
चुहुदो झरी घास् दाउरा गरी कष्टले बाच्नु छु।
यो परम्परा कुरिती सारा मिलेर तोडौं है
लौ अॅाखा खोल महिला बोल संगठन जोडौ है।-अबलाको भनाई
नारायण प्रसाद लुईंटेलले अम्बिका दुलालसित बैबाहिक सम्बन्ध गासेका थिए । कबि नारायण प्रसाद र अम्बिका लुईंटेलका पॅाच भाइ छोरा र दुई बहिनी छोरीहरु थिए। उनका सबै छोराहरु शिक्षित र पढालेखा थिए । उनका जेठा छोरा चन्द्रकान्त लुईंटेल ज्यतिषी थिए । माइला छोरा राम कृष्ण लुईंटेल पण्डित र ज्योतिषी हुन् । हाल उनी अमेरिकामा सपरिवार रहनु भएको छ । साइला पुरोहित,काइला ज्योतिषी र कान्छा पनि पढालेखा व्यक्ति हुन्।कबि नारायण प्रसाद लुईंटेलको परिवार त्यस समय भुटान जस्तो मुलुकमा पनि शिक्षित परिवार भनेर चिनिन्थ्यो। त्यसताका भुटानमा अधिकांश मानिसहरु पढ्न-लेख्नबाट बञ्चित थिए । त्यहा सर्बसाधरणका निम्ति स्कुल-पाठशालाको कुनै पनि पहुच थिएन । भुटानमा स्कुल-पाठशालाको सुरुवाती चरण नै भुटानका तेस्रा राजा जिग्मी दोर्जी वाङछुकका कार्यकालबाट (सन् १९५२—१९७२)शुरु भएको हो ।
यसरी, कवि नारायण प्रसाद लुइँटेल नेपाली साहित्यमा सरल भाषा, स्वाभाविक भाव र सामाजिक चेतनाका माध्यमबाट महत्वपूर्ण योगदान पुर्याउने सर्जकका रूपमा स्मरणीय छन्।उनीद्वारा विरचित केही श्लोकहरु यहॅा प्रस्तुत गरेको छु :___
छोरा सम्पति पत्नी बन्दुहरुको आशा नगर्नु अति
कर्मैले गरि मिल्दछन् जगतमा आफ्ना भएका जति ।-नारायनोपदेश
विश्वमा हेर अवला हामी सबै नै एकै हौं
तै पनि हामी किन हो कोनी अरुमा होचियौं ।
नानी छ काख्मा दुई बजी रात्मा जहिले उठ्नु छ
अबला ज्यान धानको धान ढिकीमा कुट्नु छ ।-अबलाको भनाई
नेपाली भाषी भुटानी अग्रज कबि नारायण प्रसाद लुईंटेलका कृतिहरु गहिरिएर हेर्दा उनीमा ईश्वरप्रति आस्था र धर्मप्रति प्रचुर विश्वास पाइन्छ।उनका देशप्रेमले खारिएका श्लोकहरुले माटाप्रतिको माया र समाजप्रतिको दायित्वलाई राम्ररी उल्लेख गरेका छन्।हाम्रा समाजमा रहेको नारीप्रतिको दरिद्री दृष्टीकोणप्रति घृणा गर्दै परिवर्तनका निम्ति अबलाको भनाई कविता मार्फत बुलन्द आवाज दिएको पाइन्छ ।
(यो जीवनी कवि नारायण प्रसाद लुईंटेलको ११८ औं जन्मजयन्तिको उपलक्ष्यमा ८ फरवरी २०२६ आयोजित कार्यक्रममा प्रस्तुत गरिएको थियो ।)
