प्रेम

नरेश गौतम
सिन्सिनाटि, ओहायो
म तिमीलाई
त्यो आकाशको जूनसँग
तुलना गर्दै गर्दिन
सायद जून शीतल हुन सक्छ
नरम पनि हुन सक्छ
तर के तिमी जस्तै पवित्र होला त?
हिमालबाट निरन्तर बगिरहेको
निश्चल झरना भन्दा सुन्दर
झरनाको एक अँजुली  पानी बोकेर
उडिरहेको बतास भन्दा शीतल
अनि यो आकाश भन्दा फराकिलो
तिम्रो मायामा
न कुनै स्वार्थ छ
न कयौँ प्रेमिकाले प्रेम गरे झैँ अभिनय छ
कति प्रिय छ
कति निःस्वार्थी छ
तिम्रो माया
म पनि यस्तै प्रेम गर्न
कोसिस गरिरहेछु आमा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *