पुनर्वासमा नेपाली भाषा-साहित्यको १५ औँ वर्ष
गङ्गाराम लामिटारे
अध्यक्ष- साहित्य परिषद् भूटान
देश फिर्तीका सबै अभियान असफल भएपछि हामीले रोजेको विकल्प हो पुनर्वास अर्थात् तेस्रो देश पुनर्स्थापना । पुनर्स्थापना भएको पनि १५ बित्यो । हाम्रा लागि पुनर्वासको यो पन्ध्र वर्ष कस्तो रह्यो । यस अब्धिमा हामीले के पायौँ र के गुमायौँ । अनि कति सफल कति असफल भयो, हाम्रो पुनर्वास । भाषा संस्कृति कै सेरोफेरोमा आधारित छ प्रस्तुत लेख ।
केही दिन अघि नेपालबाट आएका एक मित्रले भने, “ अमेरिकाका केही साथीहरू, घरमा बच्चाले नेपाली बोल्दैनन्, कखरा चिन्दैनन्, नेपाली गीत गाउँदैनन्, हाम्रो भाषा संस्कृति सकियो है भनेर चिन्ता गर्दै थिए । अनि तपाईँहरू चाहिँ साहित्य र सङ्गीतको अभियान लिएर विश्व बदल्न हिँड्नु भा छ । यो के हो ? मैले त बुझ्न सकिन नि ? मैले पनि उनलाई प्रतिप्रश्न गरिहालेँ, के भन्नु भएको, मैले बुझिन सर ? मलाइ बुझाउँदै उनले भने,नेपाली गीतसङ्गीतले पूर्वी एसिया थर्किँदै छ । भाषा साहित्यको अभियानबाट दक्षिण एसिया नै थर्कमान हुँदै छ ।” के त्यो नराम्रो अभियान हो त,मैले भनेँ ।“ हैन, नराम्रो कहाँ भनेको हो र ? भाषा संस्कृतिका लागि संसारको चिन्ता छोडिनुहोस्, बरु, आफ्नो घर, समाज र परिवेश समाल्नुहोस् भन्न खोजेको हो ।” उनको व्यङ्यमिश्रित जबाफ थियो ।
उनको यस भनाइबाट के स्पष्ट भयो मलाइ भने सबभन्दा पहिला भाषा,संस्कृति र सङ्गीतबारे आफू स्वयं सक्षम हुनुपर्छ । त्यस्ता अभियान घरैबाट प्रारम्भ गर्नुपर्छ । नानीहरूलाई सिकाउनुपर्छ । भाषा र संस्कृति घर-परिवार र समाजमा दह्रो र मज्बुद हुनुपर्छ । समुदाय मज्बुद र दह्रो भएपछि मात्र देश विदेशको अभियान दह्रो र फलदायी बन्न सक्छ । आफ्नो घर अँध्यारो छ । त्यहाँ दियो नबाल्ने अनि अरूतिर राँको बाल्दै हिँड्ने । घरमा आफ्ना बच्चाले भाषा बुझ्दैन अरूलाई साहित्य सिकाउँदै हिँड्ने हाम्रो प्रवृत्तिप्रतिको व्यङ्ग थियो,ती मित्रको ।
अब लागौँ पुनर्वासको चर्चातिर । झट् हेर्दा सफलै सफल मात्र देखिन्छ,पुनर्वास । सबैले काम गरेका छन् । घर जोडेका छन् । गाडी जोडेका छन् । व्यापार व्यवसाय विस्तार गरेका छन् । केही युवाहरू विज्ञान र प्रविधिको क्षेत्रमा अग्रसर हुँदै छन् । केही सैनिक र प्रशासनिक क्षेत्रतर्फ होमिएका छन् । र केही युवाहरू राजनैतिक क्षेत्रमा पनि आफ्नो पहुँच र क्षमता प्रदर्शन गर्दै छन् । यसका साथै केही व्यवसायीहरू भाषा साहित्य र सङ्गीतको विश्वव्यापी अभियानमा जुटेका छन् । समुदायभित्रका केही समूहहरू आफ्नू चिनारी र पहिचानका लागि आफ्नो लिपि संस्कार,संस्कृति,भाषा र पोसाकको खोज अनुसन्धानमा जुटेका छन् । कोही धर्म र आस्थाको माध्यबाट जुट्ने प्रयास गर्दै छन् । कोही मठ,मन्दिर र आस्थाका केन्द्रहरूको निर्माण र स्थापनामा क्रियाशील भएर लागेका छन् । यति मात्र होइन अहिले हाम्रो समुदाय पाठ पूजा, मनोरञ्जन, तीर्थाटन, भ्रमण र समाज सेवामा पनि त्यतिकै चलायमान देखिन्छ । यो प्रगति उत्साहजनक मात्र होइन हाम्रो लागि गौरवको विषय पनि हो । तर जब भाषा र साहित्यको कुरा आउँछ,तब समाज निष्क्रिय र निःशब्द बन्छ ।
पुनर्वासपछि आर्थिक क्षेत्रमा जति समृद्ध र मज्बुद बन्दै छ,त्यो भन्दा बढी समुदाय सस्तो चर्चा र प्रसिद्धिमा उताउलिरहेको देखिन्छ । भाषा साहित्यको नाममा चर्चा बटुल्ने अभियानमा छ,अहिले । चाहे त्यो भाषाको संरक्षण होस् वा सङ्गीत औँ साहित्यको । नारा एउटै छ,सबैको , नेपाली भाषा साहित्य र सङ्गीतको विश्वव्यापीकरण । साहित्य संस्कृति प्रचार प्रसारको नाममा वर्षे नि बिलियन डलर विदेशतिर बगिरहेको छ । त्यसको एक अंश मात्र समुदायमा प्रयोग गर्ने हो भने भाषा त बच्ने नै भयो साथै पहिचान पनि कायम रहने थियो,भन्नेहरूको सङ्ख्या पनि निकै ठुलो छ ।
भाषा सकियो, संस्कृति मासियो र पहिचान हरायो भनेर चिन्ता गर्नेहरू पनि धेरै छन्,समुदायमा । तर भाषा कसैले हराएको होइन । भाषा आफ्नै कारणले हराएको र आफ्नै घरबाट हराई रहेको हो भन्ने वास्तविकताप्रति सबै अभियन्ताहरू बेखबर रहेको कमल कोइरालाको निर्क्योल छ । हो, भाषा भनेको सम्पर्क र संवादको माध्यम हो । अब संवाद र सम्पर्कको काम अर्कै भाषाबाट चल्ने भएपछि नेपाली किन पढ्नुपर्यो ? पुनर्वासमा भनेर उल्टै प्रतिपश्म गर्नेहरूको पनि कमी छैन समाजमा । केही भन्छन्,नसिकाएको पनि होइन तर नेपालीले नानीहरूलाई कन्फ्युजन गर्यो । आफैँ सिके भने ठिकै छ तर जबरजस्ती सिकाउनु हुँदैन । अनि आफूलाई निकै शिक्षित त सव्य ठान्ने अर्को वर्ग छ, जो नानीले बररर अङ्ग्रेजी बोलेको सुनेर गौरवान्वित भएको महसुस गर्छ । बच्चाले नेपाली जानेकोमा होइन बिर्सिएकोमा पुलकित हुन्छ । मानॏ मेरो नानी त राष्ट्रपति नै हुन आँट्यो भनेर गर्वले छाती तन्काउँछ । समुदायमा अर्को एउटा यस्तो वर्ग छ,जो भाषा हाम्रो जातीय पहिचान हो । भाषा रहे समाज रहन्छ । समाज रह्यो भने मात्र जातीय पहिचान बाँच्न सक्छ भनेर चिन्ता मात्र गर्छ तर प्रयास भने गर्दैन ।
वास्तवमा भन्नुपर्दा नेपाली किन सिक्नु र पढ्नु भन्नेहरूकै सङ्ख्या ठुलो छ,समाजमा । अङ्ग्रेजीमा दक्ष हुनु एउटा कुरा हो । तर आफ्नै भाषा नजान्नु भनेको आफै हराउनु हो । नेपाली हुनलाई नेपाली जान्नै पर्छ र ? नेपाली भाषाको औचित्य के छ र यहाँ ? भन्ने प्रश्नहरू, धेरैको छ । हो, नेपाली हुनलाई नेपाली जान्नु पर्छ । मान्छे सन्तान र खुनले आफ्नो हुन्छ भन्ने सामाजिक धारणा छ, तर त्यो सत्य होइन । मान्छे, साहिनो-सम्बन्ध र खुनले नभई, उसले बोकेका मान्य-मूल्यहरुले, उसका विचारले, आफ्नो हुन्छ । ती विचारहरू मिल्दासम्म मात्र आफ्नो रहन्छ । मान्य-मूल्यहरू फरक भई सकेपछि उ आफ्नो रहँदैन । कसैले नेपाली बोल्दैन, नेपाली खाना खाँदैन, नेपालीहरूको जस्तो उसको विचारै मिल्दैन, आफू नेपाली भएकोमा गर्व गर्दैन भने उ नेपाली कसरी हुनसक्छ ? भन्ने कोइरालाको प्रतिप्रश्न
छ । कोइराला अगाडि भन्छन्,“अमेरिका, अष्ट्रलिया, युरोप आदि मुलुकहरूमा बसोबास गर्ने नेपालीहरूमा भाषिक समस्या गम्भीर भएको छ । नेपाली बोलेकै नबुझ्ने बच्चाहरूले पढ्ने त कुरै भएन । भाषाकै कारणले पुरानो-पुस्ता र नयाँ पुस्ताबिचको संवाद,सम्पर्क र सम्बन्ध बिछिन्न भएको छ । यही उदासीनता र अकर्मण्यता रहिरहे आगामी दश वर्षसम्ममा हाम्रो भाषाको अवस्था के होला ? गम्भीर भएर सोच्ने बेला भएको छ । हुन त परिस्थिति माथि प्रश्न गर्नु अर्को मूर्खता हो । बरु, त्यस परिस्थिति जन्माउनमा आफ्नो भूमिका र सुधारका उपायहरूको खोजी गर्नु बढी बुद्धिमत्ता हो ।”
यद्यपि समाजका लागि कसैले केही नगरेको भनेको पनि होइन । अवश्य केही न केही गरेका छन् । शिविरमा रहेका हाम्रा बृद्धबृद्धहरूका लागि स्वास्थ्य चौकी र मनोरञ्जनका लागि डेकियरको स्थापना गरेर व्यवसायी डिल्ली अधिकारीले समाज सेवाको एउटा उदाहरण देखाएका छन् । त्यसै गरी अर्का व्यवसायी अर्जुन सुवेदीले पनि शिविरका बाल-बालिकाको प्राथमिक शिक्षाका लागि पाठशालाको स्थापना र क्रीडा स्थलको व्यवस्था गर्दिएर हामीलाई समुदायप्रतिको सेवा र जिम्मेवारीको बोध गराएका छन् । विश्व भूटानी सङ्गठन(जिबियो)ले पनि शिविरका बालबच्चाको प्राथमिक शिक्षा-दीक्षाका लागि कक्षा कोठाको विस्तार, पढाउने शिक्षक-शिक्षकहरूका लागि आर्थिक सहयोग जुटाउन विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । यसरी समुदायको स्वास्थ्य र शिक्षाका लागि व्यक्तिगत तथा सामूहिक पहलहरू भइरहेका छन् । पुनर्वासमै पनि कतिपय स्थानमा गीतसङ्गीत र भाषा शिक्षणका कक्षाहरू भइरहेका छन् । यसलाई उत्साहजनक मान्नपर्छ ।
तर पुनर्वासपछि अहिले एउटा माहौल चलेको छ, भरिसके आफ्नै भाषाको प्रयोग र संस्कृतिको अभ्यास गर्ने । बाबुको पहिचान छोरोलाई मन नपर्ने र छोरोको पहिचान बाबुलाई । संयुक्तबाट पृथकतातिर र पृथकताबाट पनि एकल व्यक्तिवादतिर जाने क्रम छ । लोग्नेको अस्तित्व स्वास्नीलाई स्वीकार्य छैन । उ स्वयं आफ्नो स्वतः र पहिचानको निर्माणमा अग्रसर देखिन्छे । सबैले आफ्नो अस्मिता निर्माण र स्वतको प्रदर्शनी गर्ने हुटहुटी र महत्त्वाकाङ्क्षा तीव्र भएको छ । बहुलवाद बादमा भन्दा एकलवादमा रम्ने तिर्खा जागेको छ । सामूहिक जीवन शैलीभन्दा व्यक्तिगत जीवन शैलीको भोक जागेको छ । यस प्रवृत्तिले समाजलाई कहाँ पुर्याउँछ ? त्यो सोच्न मात्र सकिन्छ । अहिले भन्न सकिँदैन ।
हो, सबै कुरामा आत्मनिर्भर हुनु नराम्रो होइन । प्रत्येक व्यक्ति आत्मनिर्भर हुनु नै समाज सम्पन्न र समृद्ध हुनु हो । सबैले आफ्नो भाषा संस्कृतिको संरक्षण र त्यसको अभ्यास गर्ने अधिकार सबैलाई छ । तर मगरले आफ्नै भाषा संस्कृति,राई लिम्बुले आफ्नै भाषा-संस्कृति र त्यसै गरी तामाङ,लेप्चा,माझी र नेवारले आफ्नै भाषा संस्कृति र क्षेत्री बाहुनले पनि संस्कृत भाषाकै मात्र संरक्षण गर्दै जाने हो भने नेपाली भाषा र संस्कृतिको संरक्षण चाहिँ कसले गर्ने भन्ने भयङ्कर ठुलो प्रश्न उब्जाएको छ पुनर्वासले ।
केही अपवाद बाहेक जातीय पहिचानसम्बन्धी शब्दहरूको प्रयोग नै कम हुँदै गएको छ । हीनताबोधले हो वा गर्व बोधले अहिले पुनर्वासमा न नेपाली जन्मन्छ न नेपाली मर्छ । नेपाली न समाज छ न समुदाय नै । सिङ्गो नेपाली समाज टुक्रै टुक्रा भएको छ । आफ्नो समुदायको पहिचान र अस्तित्त्को नाममा सबैले नेपाली पहिचान बिर्सिएका छन् । एउटा सिङ्गो जाति जातजातिमा विभाजित छ । समूह समुहामा विभाजित छ । भाषाको,जातको,धर्म र सम्प्रदायको आधारमा विभाजित र खण्डीकृत छ । कोही पनि आफूलाई नेपाली भन्न रुचाउँदैन । नेपाली समाज भन्न छोडे । नेपाली भाषा भन्ने छोडे ।
पुनर्वासमा नेपाली सिङ्गो समाज अहिले हिन्दु कम्यनुटी, बौद्ध कम्युनिटी ,मङ्ग्रात कम्युनिटी,गुरुङ कम्युनिटी,तामाङ कम्युनिटी,माझी कम्युनिटी,सेर्पा, ड्रुक्पा र नेवार कम्युनिटीमा बिछिन्न र खण्डीकृत भएको छ । अब यस रूपान्तरणलाई नै नेपाली समाजको समृद्धि र विकास भन्ने कि विलयतिरको उद्घोष ठान्ने ? प्रश्न गम्भीर छ । यहाँसम्म कि सन्तान जन्मिएकोमा शुभकामना दिँदा होस् वा मृत्युमा समवेदना व्यक्त गर्दा होस् त्यहाँ पनि नेपाली शब्दको प्रयोग हुँदैन । जब आफूलाई नेपाली नै भन्न नरुचाएपछि अनि कसरी हुन्छ नेपाली भाषा पढाउनेमा एकरूपता ?
एउटा बहुदलवादी विशाल समाज पुनर्वासपछि यसरी खुम्चिँदै,साँघुरिँदै र सङ्कीर्ण हुँदै गएको छ । आफ्नो जातीय पहिचान र अस्तित्व रक्षाका लागि एक ढिक्का भएर अघिबड्नुपर्ने समयमा समूह समूहमा विभाजित भएर खण्डीकृत हुँदै जानु वर्तमानका लागि मात्र होइन भविष्यका लागि पनि अभिशाप सिद्धहुनेछ ।
यद्यपि यो भाषिक समस्या हाम्रो समाजमा मात्र होइन बर्मा र थाइल्यान्डका नेपालीहरूमा पनि छ । तर उनीहरू नेपाली भाषा र संस्कृतिका लागि हामी जस्तो अनुदार र सङ्कीर्ण छैनन् । भाषाका लागि एक छन् र नेपाली पहिचानको लागि एक ढिक्का छन् ।
बच्चाहरूको प्राथमिक पाठशाला भनेको आमा-बाबुको काख नै हो । नेपाली सिकाउने भनेको आमा-बाबुले नै हो । तर धेरै मानिसहरू छोरा-छोरीलाई नेपाली सिकाउनु पर्छ त भन्छन् तर सिकाउने प्रयास गर्दैनन् । गफ मात्रै छाँडछन् । केही सजग मानिसहरूले बेला-बखतमा नानीहरूलाई नेपाली सिकाउने प्रसङ्ग निकाल्छन् तर थोरै मानिसहरूले मात्रै त्यसमा सहमत जनाउँछन् । कतै कतै नेपाली कक्षा पनि सञ्चालन भइरहेकाका छन् । तर त्यहाँ नानीहरूलाई पुर्याइँदैन । भाषाप्रति चासो गर्ने अभिभावककै कमी देखिएको भन्ने समाजसेवीहरूको धारणा छ ।
समाज सेवीहरू भन्छन्“समाजको सेवा गर्नु भनेकै त्यस समाजका मान्य-मूल्यहरू बचाई राख्नमा कुनै योगदान गर्नु हो । समाजमा ह्रास हुँदै गएको आफ्नो संस्कृति,भाषा, भूषा, परम्परा, रहन-सहन, सामाजिक सौहार्द्यताका लागि हामी अहिले पनि भावी पुस्तालाई दोष थोपर्ने गर्छौँ । जान्दैनन्, सिकेनन्, गरेनन्, छोडे, मान्दैनन्, इत्यादि गन्थन मात्र गर्छौँ । अनि आफैँले नगरेको, नसिकाएको र सही संस्कार दिन नसकेको कारणबाट त्यो परिस्थिति आएको जिम्मेवारी लिनु चाहिँ कोही पनि चाहँदैन । कहाँ गल्ती भयो र त्यसलाई कसरी सुधार्न सकिन्छ भन्नेतिर न कसैको सोच्ने फुर्सत । नकसैको चासो नै देखिन्छ ।” यो त भयो वर्तमान अवस्थाको भाषा साहित्यको चित्रण । अब परिषद्ले पुनर्वासमा गरेका सङ्घर्षहरूको कथाको पनि संक्षेपमा चर्चा गरिहालौँ।
सङ्क्रमण कालमा परिषद्
२००९ मा परिषद्का तत्कालीन कार्यकर्ताहरू पुनर्वासमा हिँडे पछि परिषद्को अस्तित्व नै सङ्कटमा पुग्यो । दुर्भाग्यवश त्यस बेला क्याम्प भयङ्कर अशान्तिमा रुमल्लिएको थियो । शरणार्थीहरू बिच आक्रमण-प्रत्याक्रमणको स्थिति थियो । कार्यकर्ता भेला भएर छलफल गर्ने स्थिति थिएन । त्रसित र असुरक्षित अवस्थामा परिषद्को भावी कार्यदिशा बारे चर्चा परिचर्चाको स्थिति बन्न सकेन ।
२००७ देखि २००९सम्ममा परिषद्को नेत्रित्त्वदायी भूमिकामा धेरै फेरबदल भयो । तत्कालीन अवस्थामा परिषद्को अध्यक्षता गरिरहेका कपिल मुनि दाहाल पुनर्वासमामा हिँडेपछि परिषद्को जिम्मेवारी भोला सापकोटाले समालेका थिए । चुणामणि अधिकारी र देवराज ढुङ्गेललाइ परिषद्को जिम्मेवारी सुम्पिएर भोला सापकोटा पनि पुनर्वासमा हिँडेपछि परिषद् बिलकुलै नेत्रित्त्वविहीन अवस्थामा पुग्यो । यसरी नेत्रित्त्वविहीन बन्न पुगेको परिषद्लाई पुनर्स्थापित गर्न १२/१६/२०१० मा शिवलाल दाहालको सक्रियतामा अन्तरिमकालीन एउटा कार्य समिति गठन भयो । पुनर्गठित उक्त अन्तरिम कार्यसमितिको अध्यक्षमा स्वयं शिवलाल दाहाल र उपाध्यक्षमा याम थुलुङ रहेका थिए । उक्त अन्तरिमकालीन समितिको सदस्यहरूमा शान्तिराम ढकाल ,डम्बर ओस्थी, कर्ण गुरुङ र डेन्जुम राई थिए ।
पुनर्वासको कारण अन्तरिमकालीन कार्यकर्ताहरू पनि कोही नेपालमै रहे, केही विभिन्न देशमा छरिन विवश भएपछि पुनः २०११ को जुनमा परिषद्को पुनः कार्यसमितिमा हेरफेर भयो । अमेरिकामा पहिलो पटक हेरफेर गरिएको उक्त कार्यसमितिमा भक्त घिमिरेले परिषद्को अध्यक्ष र शिवलाल दाहालले उपाध्यक्षको जिम्मेवारी सामालेका थिए । यस समितिले नेपाली साहित्य परिषद् भूटानलाइ भूटान साहित्य परिषद्,मा रूपान्तरण गर्नुका साथै वायलज(निर्देशिका) लेखन,परिषद्लाई अमेरिकामा गैरनाफामुखी संस्थाको रूपमा पञ्जीकृत र २०००९ मा स्थापित भूट्निज लृट्रेचर डटकमलाल साहित्य परिषद्,भूटानको प्रकाशन विभागमा रूपान्तरण गर्ने ऐतिहासिक निर्णय गर्यो । पुनर्वासको सङ्क्रमण होस् वा सङ्क्रमणकालीन अन्तरिम अवस्थाको होस् दुवै अवस्थामा निर्वाह गरेको शिवलाल दाहालको नेत्रितत्त्वदायी भूमिका अविस्मरणीय छ । यसरी बिलकुलै निष्क्रिय र गतिहीन अवस्थामा रहेको परिषद्लाई पुनर्स्थापित गर्नमा रूपनारायण पोख्रेल,भक्त घिमिरे,रमेश गौतम, प्रकाश धमला,भोलानाथ पुराना घरे, यतिराज अज्नवीको भूमिका पनि कम महत्त्वको छैन ।
पुनर्वासपछिको साहित्यिक गतिविधि:
पुनर्वासका यस्ता अनेकौँ अडचन र व्यवधानहरूसँग पौँठे जोरी खेल्दै साहित्य परिषद् भूटान आफ्नो स्थापना कालीन लक्ष्यप्राप्तका निम्ति निरन्तर क्रियाशील रहेको छ । पुनर्वासपछि परिषद्ले गरेका साहित्यिक गतिविधिहरूको विवरण संक्षेपमा प्रस्तुत गरिएको छ ।
२०१६ मा पेन्सिलभिन्याको पिस्ट्वर्गमा दुई दिने सम्मेलनको आयोजना गरी परिषद्ले सम्मेलनमा नारद पोख्रेलको प्याथटिक जर्नीको विमोचन गरेर पुनर्वासमा पुनः साहित्यिक यात्राको शुभारम्भ गर्यो । यसै वर्षको अन्तितिर परिषद्को कार्यसमितिको चुनाव भयो । अमेरिकामा पहिलो पटक भएको उक्त चुनावबाट साहित्य परिषद्,भूटानको कार्यसमितिको अध्यक्षमा भक्त घिमिरे निरन्तर कायम रहे भने उपाध्यक्ष: प्रकाश धमला,सचिवःरूपनारायण पोख्रेल,कोषाध्यक्ष लक्षमण भण्डारी रहेका थिए । परिषद्को विभाग प्रमुखहरूमा प्रकाशन निर्देशक: रमेश गौतम,समाज तथा संस्कृति निर्देशक: मनोज राई,सञ्चार तथा मनोरञ्जन निर्देशक: चरण बजगाईँ,सञ्चार तथा मनोरञ्जन सहनिर्देशकः जे एन दाहाल,प्रमुख सम्पादक: यतिराज अजनबी,सम्पादक: प्रतिमान सिवा र सम्पादक: डा लक्ष्मीनारायण ढकाल रहेका थिए । यस समितिले बायलजको संशोधन गर्नुका साथै साहित्यिक सम्मेलन २०१८ ओहायो राज्यको सिन्सिनिटीमा सम्पन्न गर्यो । र दूइदिने उक्त सम्मेलनमा विभिन्न विषयमा आधारित ४ वटा कार्यपत्र प्रस्तुत गर्नुका साथै समकालीन नेपाली कथा सङ्ग्रह(२०१८) प्रकाशित गर्यो । यसका साथै अन्य विभिन्न विधाका ८ वटा साहित्यिक कृतिहरूको लोकार्पण पनि गर्यो । साथै परिषद्को ऐतिहासिक मूल्य र भूमिकालाई संरक्षण गर्दै स्थापनाकालीन उद्देश्य प्राप्तिका लागि निरन्तर क्रियाशील भई अघि बढ्ने प्रतिबद्धता पनि अघिसार्यो ।
२०१८ को सिन्सिनाटी सम्मेलनमा विभिन्न चार साहित्यिक पुरस्कारहरूको घोषणा गरिएको थियो । घोषित पुरस्कारहरूमा पहिलो, प्रत्येक तीन वर्षमा प्रदान गरिने गीत-सङ्गीत सुराक पुरस्कार, प्रत्येक दुई वर्षमा प्रदान गरिने हिमतारा साहित्य सृजना पुरस्कार, प्रत्येक तीन वर्षमा वितरण गरिने हिमहटीका आख्यान पुरस्कार र प्रत्येक ३ वर्षमा प्रदान गरिने मुना-स्मृति कथा पुरस्कार । क्रमशः पुरस्कार राशि पहिलो १५ सय डलर,दोस्रो एक हजार डलर, तेस्रो ११०१ डलर र चौथो १५ सय डलरको रहेको छ ।
२०१८को दिसम्बरमा शिवलाल दाहालको अन्तरिम अध्यक्षता गठित परिषद्,को नयाँ कार्यसमितिको अध्यक्षमा गङ्गा लामिटारे उपाध्यक्षमा नैनासिङ मगर, सचिवमा खेम रिजाल,सहसचिवमा तिला आचार्य र कोशाध्यक्षमा,लक्षमण भण्डारीलाई जिम्मेवारी सुम्पियो । २०२२ मा घरायसी समस्याको कारण कोशाध्यक्ष लक्षमण भण्डारीले राजीनामा गरेपछि सो पदमा परमानन्द बाँस्तोलालाइ सम्मानपूर्वक नियुक्त गरियो ।
यसै गरी परिषद्को बोर्ड अफ डाइरेक्टरहरूमा,खेम खतिवडा: पाठ्यक्रम विकास निर्देशक,जे एन दाहाल: निर्देशक जनसम्पर्क ,रमेश गौतम: निर्देशक: प्रकाशन,दुर्गा रिमाल: निर्देशक: अस्ट्रेलिया,खगेन्द्र गौतम: निर्देशक: क्यानडा र दिल भूटानीः निर्देशकःएसियाको स्थानमा रहेर कार्यभार समालिरहेका छन् । स्मरणीय कुरा के छ भने २०२२ मा खेम खतिवडाले पदबाट राजीनामा गरेपछि सो पदमा डा लक्ष्मीनारायण ढकाललाइ नियुक्त गरियो । साथै जे एन दाहाल पाक्षिक रूपमा प्रकाशित हुने भूटानी लृट्रेचर डटकमको सम्पादकमा गएपछि २०२३ देखि परिषद्को जनसम्पर्क विभाग रिक्त रहेको छ ।
यस कार्यसमितिले नेपाली शिक्षणका लागि प्राथमिक तहको एउटा पाठ्यक्रम तयार गरी २०२१ मा प्रकाशन गर्यो । यसका साथै धमला परिवारबाट स्थापित हिमतारा पुरस्कारबाट गल्ली गल्लीका गीतहरू: नामक कविता कृतिकी स्रष्टा तिला आचार्यलाई एक विशेष भर्चुअल कार्यक्रमको आयोजना गरी सम्मान गर्यो ।
२७/२८,२०२२ मा ओहायो राज्यको राजधानी कलम्बसमा दूइदिने वृहत् अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न गर्यो । उक्त सम्मेलनमा विभिन्न विषयक कार्यपत्र प्रस्तुत गर्नुका साथै पुनर्वासपछिका भूटानी नेपाली कविता कृतिको प्रकाशनसँगै विभिन्न लेखकहरूद्वारा लिखित एक दर्जन कृतिहरूको विमोचन गरियो । यसै वर्ष परिषद्ले ५ वटा कृतिहरू प्रकाशित गर्यो । प्रकाशित कृतिहरूमा दिल भूटानीको नब्बेका घाउहरू नामक कविता सङ्ग्रह, डिल्लीराम आचार्यको उपन्यास उच्छेदन,डा लक्ष्मीनारायण ढकालद्वारा लिखित डायस्पोरामा-नेपाली भाषा शिक्षण नाम कृतिहरूको प्रकाशन गरियो । परिषद्ले नेपाली प्राथमिक तहको पाठ्यक्रमको पुनर्प्रकाशन र हेम गुरागाईँद्वारा अङ्ग्रेजीमा अनुवादित वाइ एन चम्लागाइँको साक्षी उपन्यासको प्रकाशन पनि गर्यो ।
स्रष्टा सम्मान:
२०२२ सेप्टेम्बरका दिन काडमाण्डौ स्थित प्रज्ञा भवनमा एक विशेष कार्यक्रमको आयोजना गरी परिषद्ले नेपाली साहित्यका विभिन्न फाँटमा विशेष योगदान गर्ने स्रष्टाहरूको सम्मानका लागि ४ वटा आर्थिक पुरस्कारको व्यवस्था गरी स्रष्टा सम्मान गर्ने परम्परा सुरु गर्यो ।
उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार गोविन्द भट्टराईलाई नगद १ लाख रुपियाँको परिषद् साहित्य सेवा पुरस्कार २०२२,नेपाली भाषा- मान्यताका लागि अग्रणी भूमिका निर्वाह गर्ने दिलकुमारी भण्डारीलाई नगद १ लाख रुपियाँको परिषद् भाषा सेवा पुरस्कार २०२२, भूटानी युवाहरूलाई साहित्य सृजनामा प्रोत्साहन गर्ने प्रकाश आङ्देम्बेलाइ ५० हजार रुपियाँको परिषद् युवा साहित्य प्रोत्साहन पुरस्कार २०२२ र भूटानको नेपाली साहित्यमा गहिरो अनुसन्धान गर्ने रामजी तिमल्सिनालाइ ५० हजार नेपाली रुपियाँको परिषद्,अनुसन्धान पुरस्कार २०२२ बाट सम्मान गर्यो । साथै परिषद्ले जनवरी २०२४ मा नेपालबाहिर बसोबास गर्ने नेपाली र नेपाली साहित्यको उच्च अध्ययन गर्न चाहने नेपालीहरूका लागि नेपाली साहित्यको अनलाइन पठन-पाठनको व्यवस्था मिलाइ दिन त्रिभुवन विश्वविद्यालय एउटा ज्ञापन पत्रसमेत बुझायो ।
प्रारम्भमा नेपाली भाषा परिषद्,भूटान, २००२ देखि नेपाली साहित्य परिषद्,भूटान हुँदै पुनर्वासपछि २०१६ मा अमेरिकामा परिवर्तित साहित्य परिषद् भूटानको नाममा पञ्जीकृत एउटा गैर नाफामुखी (501 C) मान्यता प्राप्त साहित्यिक संस्थाको रूपमा स्थापित भएको हो । जटिलभन्दा जटिल समय र परिस्थितिसँगै आफूलाई परिवर्तित गर्दै आएको परिषद्ले पुनर्वासमा नेपाली भाषाको पठन-पाठनका लागि प्राथमिक पाठ्यक्रम र पाठ्यपुस्तकका साथै साहित्यिक कृतिहरूको प्रकाशन गर्दै आएको छ । सँगसँगै नेपाली भाषाको पठनपाठन,साहित्यिक एवं सांस्कृतिक कार्यक्रमका साथै स्रष्टाहरूको सम्मान पनि गर्दै आएको छ ।
यसरी शरणार्थी शिविरदेखि नै समाजका लागि भाषा साहित्यको क्षेत्रमा क्रियाशील रहेको साहित्य परिषद्,भूटानले साहित्यिक प्रकाशनको पन्ध्र वर्ष शिविर मै पुरा गरे पनि सो यात्रा पुनर्वासपछि पनि निरन्तर कायम गरेको छ । पुनर्वासको कारण कोपिलाको नियमित प्रकाशन २००९ देखि हटात बन्द हुन पुग्यो । बन्द हुन पुगेको परिषद्को उक्त साहित्यिक प्रकाशन कोपिलालाई पुनः निरन्तरता दिने उद्देश्यले २००९ मा भुट्निज्लृट्रेचर डटकमको स्थापना भयो । पुनर्वासपछि पाक्षिक रूपमा निरन्तर साहित्यिक प्रकाशन गर्दै आएको प्रकाशन विभाग(साझा मञ्च)ले यही मे ७ बाट आफ्नो स्थापनाको १५ पूरा गरी १६ वर्षमा प्रवेश गर्दै छ । आजसम्म उक्त वेबसाइट मार्फत झन्डै ४५ सयको हाराहारीमा विभिन्न विधाका रचनाहरू प्रकाशित भइसकेका छन् । अहिले यो प्रकाशन संसारभरि रहेका नयाँ लेखकहरूका लागि एउटा गतिशील मञ्चको रूपमा प्रयोग भइरहेको छ । र यस मञ्चको प्रयोग गर्ने लेखकहरूको सङ्ख्या निकै बढेको छ । लेखकको संख्यामात्र बढेको छैन सृजनाको गुणस्तर,चिन्तनको गतिशीलता र ज्ञानको आयामको पनि विस्तार भएको छ ।
समग्रमा परिषद्को साहित्यिक प्रकाशनले तीन दशक पुरा गरेको यस सुखद अवसरमा विभिन्न सृजनाहरू प्रकाशन गरेर प्रकाशन विभागले साहित्यिक महोत्सव मनाउँदै छ । यस सुखद अवसरमा परिषद्को प्रकाशन विभाग, प्रकाशन कार्यमा संलग्न सम्पादकज्यूहरू र लेखक, शुभचिन्तक एवं सम्पूर्ण पाठक वर्गमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।
अन्तमा यो पनि सचेत गराउन चाहन्छु कि सम्पत्ति सकियो भने फेरि कमाउन सकिन्छ । ज्ञान बिर्सियो भने पढेर त्यसलाई पुनर्प्राप्त गर्न सकिन्छ । तर भाषा र संस्कृति नै सकियो भने त्यसलाई पुनः स्थापित गर्न युगौँ लाग्न सक्छ । त्यसैले अझ पनि सकिएको छैन । अवशेष बाँकी छ । यसलाई सबै भएर बचाऔँ । घरघरबाट उठॏ । समुदायबाट जुटॏ । लेख्नेहरू कलम बोकेर उठौँ । पैसा हुनेहरू लगानीमा जुटौँ। आफ्नो सीप र कुशलता समुदायको उन्नतिमा उपयोग गरौँ। परिषद्को प्रकाशन विभागद्वारा पाक्षिक रूपमा प्रकाशित भुट्निलृट्रेचर डटमको १५ औँ स्थापना दिवसको यस सृजनात्मक महोत्सवमा यही सन्देशका साथ शुभकामना सबै नेपाली भाषी जनसमुदायमा ।